दुमो सहकारीको साधारण सभा

काभ्रेको जिल्लाको नालामा अवस्थित दुमो बचत तथा ऋण सहकारी संस्थाको ९ औ वार्षिक साधारणसभा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका (नेफ्स्कुनका) अध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विकास रम्तेलको अध्यक्षतामा सम्पन्न भईसकेको छ । सो सभामा बोल्दै अध्यक्ष रम्तेलले २०६६ सालमा ५ वटा गाविसलाई कार्यक्षेत्र बनाएर स्थापना भएको यस संस्थाको हाल आएर बनेपा नगरपालिका पुरै कार्यक्षेत्र भएको जानकारी गराए । साथै उनले हाल केहि वडामा मात्र सिमित कारोबार भएपनि पछि गएर नगरपालिका भरी कार्यक्षेत्र बढाउने धारणा व्यक्त गर्नुका साथै संस्थाले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि नेतृत्व विकास, उद्यमशीलता विकास, व्यवसायिक योजना र लघु उद्यम व्यवसाय सम्बन्धमा तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको जानकारी गराए ।
संस्थाका सल्लाहकार राजु रम्तेलले सभामा कमजोर आर्थिक अवस्था भएका सदस्यहरुको स्तर विकासमा सहकारीले काम गरेपनि अधिकांश संस्थाहरु पूँजीपतिकै भला चल्ने गरेको बताए । संस्थाका सचिव राजाराम परियारले आव २०७४÷७५ को प्रतिवेदन पेश गर्दै संस्थाले कृषि, व्यापार, शिक्षा, वैदेशिक रोजगार लगायतका क्षेत्रमा कर्जा लगानी गर्दै आएको उनले बताए । संस्थाको शेयरपूँजी ३५ लाख ४७ हजार, बचत २ करोड १९ लाख, कर्जा लगानी २ करोड ५० लाख रहेको छ । संस्थामा १ हजार ३४४ सदस्य आवद्ध रहेका छन् ।
