पाँचताराको ११ औं साधारण सभा

पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न गरिसकेको छ । उक्त साधारसभाले गत आर्थिक वर्षको नाफाबाट सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने घोषणा पनि गरेको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि प्रधानाङ्गले छोटो समयमा पाँचतारा सहकारीले गरेको प्रगतिको प्रशंसा गरेका थिए । उनले नेफ्स्कुनले सञ्चालन गरेको राष्ट्रिय अन्तर्रािष्ट्रय ब्राण्डिङले वित्तीय व्यवस्थापनलाई सहयोग पुग्ने भएपनि सहकारीले समाजलाई के दिन सक्यो भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरेका थिए । । कार्यक्रमका विशिष्ट अतिथि डा. विष्णुहरि नेपालले समाजको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान गरेको जनाए । सहकारीले रोजगारी सिर्जना र उत्पादन वृद्धिको प्रयास गरिरहेको भएपनि पूर्ण रुपमा सफल नभएको औंल्याउँदै उनले आर्थिक रुपान्तरणमा सहकारीको भूमिकालाई बढाउँदै लैजानुपर्ने धारणा राखे । सो सभामा बोल्दै सहकरी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहकारीको सैद्धान्तिक विषयमा प्रकाश पार्दै संस्थाले शेयर पूँजी, बचत संकलन, ऋण लगानी र तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । उनले दुई तिहाइको सरकारले सहकारीलाई आर्थिक मोडलको रुपमा अघि लैजानुपर्ने भएपनि सहकारी क्षेत्र अहिले अन्यौलमा रहेको चर्चा गरे । सभामा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले सहकारी क्षेत्र सरकारको नजरमा अझै प्रतिष्ठित बन्न नसकेको भएपनि अर्थतन्त्रमा सहकारीको योगदान उल्लेख्य रहेको जनाउँदै सहकारीले सदस्यमार्फत स–सानो क्षेत्रमा लगानी गरेर उत्पादन बढाउन सके सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा हुनसक्ने चौलागाईंले भनाई राखेका थिए । कार्यक्रममा काठमाडौं जिल्ला बचत संघका अध्यक्ष केशवप्रसाद दंगालले पाँचतारा सहकारीले गरेको प्रगतिको प्रशंसा सँगै फोर्स मर्जरको आवश्यकता रहेका उल्लेख गरे । बाध्यतामा परेका र रहरमा जन्मेका सहकारीलाई पाँचतारा जस्ता ठूला सहकारीले एकिकरण गरेर अघि बढ्नुपर्ने धारणा समेत राखे । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष भोलानाथ पाठकले नयाँ व्यवस्थाअनुसार तीनवटै तहमा सहकारी हस्तान्तरण भएको भएपनि प्रदेश सरकारले ऐनकानुन नबनाउँदा आफूहरुलाई समस्या परेको उल्लेख गरे । सहकारीका सदस्य एउटै घरका परिवार भएको भन्दै उनले सदस्यहरुबीच हरेक कुरामा सहकार्य आवश्यक रहेको औंल्याएका थिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान, सरसफाई, सामाजिक संघसंस्थालाई सहयोग जस्ता कार्यक्रम गर्दै आएको उनले जनाए । संस्थाका प्रथम उपाध्यक्ष किरणप्रसाद श्रेष्ठले सभामा स्वागत मन्तब्य राखेका थिए ।
संस्थाका कोषाध्यक्ष कुमार विमलीले आ.व. २०७४र७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पूँजी ५ करोड ६२ लाख, बचत संकलन ३६ करोड ७४ लाख र ऋण लगानी ३६ करोड ९५ लाख रहेको जानकारी दिए । संस्थाले गत वर्षको आम्दानीबाट राज्यलाई ५५ लाख ८३ हजार कर तिरेको बताउँदै उनले सो अवधिमा २ करोड २३ लाख खुद मुनाफा आर्जन गरेको जानकारी गराएका थिए । सभामा आवधिक, साधारण र अनिवार्य वचत तर्फका उत्कृष्ट सदस्यहरुका साथै उत्कृष्ट ऋणीलाई संस्थाले सम्मान पनि गरेको थियो ।
