सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउँदै पाथीभरा सहकारी

शुरुमा ६५ जना मानिसहरुबाट १० रुपैयाका दरले बचत संकलन गरेर पाथीभरा कृषक नामक समूह गठन गरी आफ्नो समुदाय भित्र रहेका मानिसहरुलाई बचत गर्ने बानी बसाल्ने र आवश्यकता परेको बेलामा ऋण पनि उपलब्ध गराउने मुख्य उद्देश्यको रुपमा संचालित हुँदै आईरहेको यस समूहले २०६३ साल चैत्र १२ गते डिभिजन सहकारी कार्यालय मकवानपुरमा पाथीभरा बचत तथा ऋण सहकारी संस्थाको विधिवत रुपमा दर्ता भई २५ जना शेयर सदस्यहरुबाट ६५ हजार शेयरपुँजी संकलन गरी हालः थाहा नगरपालिका पालुङ फाँटबजारमा कार्यालय स्थापना गरी कारोबार गर्दै आईरहेको थियो ।
अहिले आएर यस संस्थाको शेयरपूँजी ८४ लाख माथि पुगिसकेको छ भने कारोबार ९ करोडको हाराहारीमा रहेको छ । हालसम्म सस्थामा महिला, पुरुष गरी १७८८ जना सदस्यहरु आबद्ध रहेका छन् । संस्थाको कार्यक्षेत्र थाहानगरपालिका र कैलाश गाउपालिका पुरै रहेको छ । सदस्यहरुलाई बचत ऋणको कारोबार गर्ने सुविधाको लागि संस्थाले १ रोपनी जग्गा पनि खरिद गरिसकेको छ ।
जिल्लाकै उत्कृष्ट बचत ऋणको कारोबार गर्ने संस्थाको रुपमा २०६८ सालमा डिभिजन सहकारी कार्यालय मकवानपुरबाट यस संस्था पुरस्कृत पनि भएको थियो । फेरी आएर २०७३ ÷०७४ मा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पनि उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गर्नुका साथै संस्थाका व्यवस्थापक राजाराम कार्कीलाई पनि उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मान गरिसकेको छ । संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर जेष्ठ नागरिक, एकल महिला, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, सेयर सदस्य, उत्कृष्ट कर्मचारी, छात्रछात्रहरुलाई सम्मान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिविर संचालन, क्रियापुत्री भेटघाट, नगरटोल सरसफाई जस्ता कार्यक्रम संचालन गर्दे आईरहेको छ ।
पालुङ फाँटबजारमा कुनै पनि बैंकहरु पुग्न नसकेपनि त्यहाँ बैंकहरुले दिनेभन्दा थप राम्रो सुविधा यस संस्थाले दिईरहेको र फाँट बजारमा तरकारी खेती बढि हुने भएकाले कृषि क्षेत्रलाई बढि प्राथमिकता दिँदै आईरहेको यस संस्थाले व्यापारिक, शैक्षिक, हायरपर्चेज सामूहिक, वैदेशिक लगायतका क्षेत्रहरुमा पनि सर्वसुलभ रुपमा ऋण लगानी गर्दै आएको छ । सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउँदै आईरहेको यस यस संस्थाले स्वदेश तथा विदेशबाट आएको रकमलाई झिक्न र पठाउनको लागि आई,एम.ई, प्रभु, सिटि एक्सेप्रेस, नबिल रेमिट, सुलभ रेमिट, हिमाल रेमिट, रिलायबल रेमिट, वेस्र्टन युनियन मनी ट्रान्सफरहरुबाट रेमिट्यान्स सुबिधाहरु पनि प्रदान गरिरहेको छ । अन्तराष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस संस्थाले सेयरपँजी, कारोबार र सदस्य संख्यालाई बृद्धि गर्दै लैजाने र भवन निर्माणको तयारी गर्ने आगामी योजना बनाएको छ ।
