नयाँ स्मार्ट सिटीको डी.पी.आर. बनाउदै विकास प्राधिकरण
काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाभित्र थप ४वटा नयाँ शहर (स्मार्ट सिटी) निर्माणका लागि डी.पी. आर. निर्माण कार्य भइरहेको जनाएको छ । मनहरा खोला आसपासका काठमाडौंको कागेश्वरी मनहरा र शंखरापुर नगरपालिका तथा भक्तपुरको मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाभित्र १ लाख रोपनी जग्गा , भक्तपुरको सुर्यविनायक नगरपालिकाभित्र१० हजार रोपनी , काठमाडौं टोखा क्षेत्रमा १० हजार र ललितपुरको खोकना बुङ्मती क्षेत्रमा १० हजार रोपनी जग्गामा नयाँ शहर (स्मार्ट सिटी) निर्माणका लागि डी.पी.आर. निर्माण कार्य भइरहेको प्राधिकरणका सूचना अधिकृत केशव न्यौपानेले बताए । २०७४ बैशाखबाट शुरु भएको यी ४ वटा आयोजनामध्ये काठमाडौं , भक्तपुर र ललितपुरका १०/१० हजार रोपनी जग्गाको २०७६ असार मसान्तसम्ममा र काठमाडौ र भक्तपुरको १ लाख रोपनी जग्गाको डी.पी.आर.२०७६ भदौमा सकिने उनको भनाई छ । काठमाडौं र भक्तपुरको १ लाख रोपनी जग्गाको डी.पी.आर. निर्माणको जिम्मा रु. १२ करोडमा हेलेन को आर्किटेक्स र जेके एसोसिएट्स जेबी , भक्तपुर र ललितपुरका १०/१० हजार रोपनी क्षेत्रफलको जग्गामा रु. २/२ करोडमा नेष्ट -ई.आर.एम.सी.र एडीए जेबी र काठमाडौंको टोखा क्षेत्रको १० हजार रोपनी क्षेत्रफलको जग्गामा रु. २ करोडमा फुलब्राइट टेक जे.बी. ले ठेक्का लिएको न्यौपानेले बताए ।
यसैगरी सो प्राधिकरणले गरिरहेको मध्यपुर न.पा. को सानोठिमी पश्चिम मनोहरा फाटको दिव्यश्वरी एरियाको घडेरी प्लानिङको कार्य सम्पन्न हुन लागेको जनाइएको छ । घडेरी प्लानिङ् गर्दा जग्गाधनीबाट कुल जग्गाको ३५ प्रतिशत जग्गा उक्त प्राधिकरण लिएको र त्यसमध्ये बाटो तथा ढल निर्माण गरी बचेको जग्गा प्राधिकरणले कानुन अनुसार बोलपत्र आह्वान गरी बिक्री गर्ने बताएको छ ।
काठमाडौं उपत्यकामा १२ प्रतिशत हाराहारीमा रहेको खेती योग्य जमीन मासेर शहर निर्माण गर्ने कार्यको समर्थन र विरोध दुबै भइरहेको छ ।
यता काठमाडौं उपत्यकाभित्रका ३ वटै जिल्ला छुने गरी निर्माण गर्ने भनिएको बाहिरी चक्रपथ आयोजना निर्माण कार्य अझै अगाड बढ्न सकेेेको छैैन ।
