दक्षिण कोरियाका बचत तथा ऋण सहकारी सदस्य मैत्री रहेछन्

सन २०१८ नोभेम्वर २६ देखि डिसेम्वर ६ अर्थात २०७५ मंसीर १०-२० सम्म नेशनल क्रेडिट युनियन फेडेरेशन अब कोरियाको आयोजनामा Asian credit union Leader’s programme मा राष्ट्रिय सहकारी बैंक लि. को तर्फबाट म र दोलखाका सहकारीकर्मी दीपक बस्नेत सहभागी भएका थियौं । त्यसमा आयोजक बाहेक नेपाल , बंगलादेश , थाइल्याण्ड , श्रीलंका र फिलिपिन्सका सहकारी क्षेत्रका हामी ८ जना प्रतिनिधिहरु सहभागी थियौं । त्यसमा राष्ट्रिय सहकारी बैंक लि. को तर्फबाट मैले “नेपालको सहकारी अबस्था र सहकारी बैंकको हालको अबस्था” विषयक कार्यपत्र प्रस्तुत गरेको थिएँ । साथै त्यहाँ मैले “नेपालमा को-अपरेटिभहरुका लागि डाटा सेन्टरको अपरिहार्यता” विषयक कार्यपत्र पनि प्रस्तुत गरेको थिएँ ।
त्यहाँ संयुक् राष्ट्र संघको दीगो विकासको लक्ष्य प्राप्तिको लागि सहकारी क्षेत्रबाट के के योगदान गर्न सकिन्छ भनेर छलफल गरियो । आयोजकले त्यो कार्यक्रम गर्नुको उद्देश्य कोरियाको क्रेडिट युनियनको स्थापना र विकासको इतिहासबाट पाठ सिकेर त्यसलाई आ-आफ्नो देशमा लागू गरून् भन्ने पनि रहेछ । योजना कसरी बनाउने , योजनाको प्रस्ताव कसरी लेख्ने , कोरियाली सहकारीमा प्रविधिको प्रयोग कसरी भएको छ लगायतका विषयमा आयोजकले आफ्ना धारणा राखे ।
दक्षिण कोरियामा ९०० हाराहारीमा बचत तथा ऋण सहकारी संस्थाहरु रहेछन् । कृषि लगायतका अन्य सहकारी पनि रहेछन् त्यहाँ तर हामीलाई क्रेडिटसँग सम्बन्धित विषय बाहेक अरु विषय आयोजकले बताएन् । दक्षिण कोरियाली सरकारबाट को-अपरेटिभ फेडेरेशनहरुलाई अधिकार दिएर उनीहरुमार्फत सहकारी गतिविधि गरिदो रहेछ।
उनीहरूले हामीलाई सोलभन्दा १४० कि.मी. टाढा रहेको Daejeon मा भ्रमण गराए । त्यहाँ नेशनल क्रेडिट युनियन फेडेरेशनको Head Office रहेछ । त्यहाँ क्रेडिट युनियनको डाटा सेन्टर रहेछ । उनीहरूले त्यहाँको डाटा सेन्टर र अन्य सूचना प्रविधि सम्वन्धी अवलोकन गराए। विकासका अरु कुरामा तलमाथि भए पनि प्रविधि प्रयोगमा सोल र हामी पुगेका ठाउँहरुमा खासै फरक लागेन ।
त्यहाँका सहकारी संस्थाहरु सदस्यमैत्री रहेछन् । सहकारीले सहकारीका सदस्यहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना रहेको पाएँ मैले उनीहरुमा । पैसाको मामलामा त्यहाँका र यहाँका बचत तथा ऋण सहकारीहरुमा खासै फरक देखिएन तर प्रविधिको प्रयोगमा उनीहरु हाम्रा बचत तथा ऋण सहकारीहरुभन्दा धेरै अगाडि रहेको महशुस भयो ।
(सहकारी सञ्जालले उहाँसँग गरेको कुराकानीमा आधारित)
