सहकारी बैंक सबै सहकारीको बैंक बन्नुपर्छ
-पुरञ्जन राई , अध्यक्ष , गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. , मीनभवन , काठमाडौं
राष्ट्रिय सहकारी बैंक लि. नेपाल अधिराज्य भरका सहकारी संस्थाहरुको खम्बा हो । बुझ्ने भाषामा भन्दा त्यसलाई चलाउने विधि , विधान , सञ्चालकहरुको सहकारीहरुलाई हेर्ने दृष्टिकोण , सम्पूर्ण सहकारीहरुलाई आवद्ध गरेर लाने कुरा चाहिँ राष्ट्रिय सहकारी बैंकले अझै पनि पूर्ण रुपमा गरिसकेको छैन । सञ्चालकहरुको कमी कमजोरीले या उहाँहरुले नभ्याएर या उहाँहरुमा भिजनको कमी भएर हुन सक्छ । यदी सहकारी बैंकले नेपाल अधिराज्य भरका सबै सहकारीहरुलाई सदस्य बनाउने हो भने यो वाणिज्य बैंकहरुभन्दा पनि ठूलो बैंक बन्न सक्छ ।यो यसलाई चलाउने विधि , विधान र सञ्चालकको हातमा छ ।
हाम्रो गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. पनि सहकारी बैंकको सदस्य तथा शेयर लगानीकर्ता भएको हिसावले हामी यो बैंक राम्रो भएको हेर्न चाहन्छौं । सहकारी बैंकसँगको कारोवार अरु सहकारीको दाँजोमा राम्रो छ भन्ने लाग्छ ।
सहकारी बैंकमा मात्र होइन , सबैतिर म्यानेजमेण्टको पाटो राम्रो हुनुपर्छ । जबसम्म सहकारी बैंकलाइ संस्थागत सुशासनको किसिमले चलाउन सकिदैन , तबसम्म यसले प्रगति गर्न सक्तैन । यो सहकारी बैंक जुन रुपमा चलेको छ , त्यहाँ पूर्ण रुपमा त्यो भए जस्तो लाग्दैन । यदी भएको छ भने योभन्दा अझै राम्रो , अन्तर्राष्ट्रिय लेवलको र सबै सहकारीहरुलाई समेट्ने किसिमको भयो भने यो नेपाल कै सबैभन्दा ठूलो बैंक बन्न सक्छ ।
८०० हाराहारीमा शेयर सदस्यहरु रहेको यस गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरी सकेको छ । साधारणसभाबाट संस्थाका सबै सदस्यहरुलाई ५ प्रतिशत र सहकारी नीति बमोजिम नियमित कारोवार गर्ने शेयर सदस्यहरुलाई १० देखि १५ प्रतिशत लाभांश वितरण गर्न सफल भएका छौँ । यस सहकारी संस्थामा रु. ८ करोड जति शेयर पूँजी , रु. ७४ करोड निक्षेप र त्यसको ८० प्रतिशत कर्जा लगानी गरेका छौँ । काठमाडौं महानगरपालिका वरपरका विकसित नगरपालिका र गाउँपालिकामा यसको कार्यक्षेत्र छ । निकट भविष्यमा हामी यस संस्थाको २ वटा सेवा केन्द्र बिस्तार गर्ने योजनामा छौं ।
हामीले बचत तथा ऋण कारोवारका अतिरिक्त विगत ४ वर्षदेखि कृषि सम्बन्धी काम गरिरहेका छौँ। बागवानी सम्बन्धी काम गरिरहेका छौँ ।फलफुलको बिरुवा उत्पादन गरेर व्यवसायिक रुपमा २ जिल्ला सहित ४७ वटा जिल्लामा पठाउन सकेका छौँँ ।
अहिले वाणिज्य बैंकहरुमाभन्दा बढी सहकारी संस्थाहरुमा पैसा थुप्रिएर रहेको छ । सरकारले उपयुक्त नीति बनाएर बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई बहुउद्देश्यीय काम गर्न दिनु राम्रो हुन्छ ।
सरकारले आर्थिक समृद्धीको कुरा गरिरहेको छ । त्यो सहकारीबाट मात्र पूरा हुन सक्छ किनकी सहकारी संगठित र व्यवस्थित संगठन हो । यसको माध्यमबाट कृषि , पर्यटन लगायत जहाँसुकै पनि राम्रोसँग अगाडि जान सकिन्छ ।
राज्यले संविधानमा सहकारीलाई अर्थतन्त्रका ३ खम्बामध्ये १ खम्बा भनेर उल्लेख गरेको छ । सरकारलाई त्यो लाग्छ भने त्यही अनुसारको नीति तथा कार्यक्रम बनाएर लागू गर्नु आवश्यक छ । भन्नलाई सहकारी एक खम्बा भन्ने तर व्यवहारमा सहकारीलाई पेल्ने ? यसको मतलव सहकारीलाई छाडा छोढ्नुपर्दछ भन्ने होइन । देशभरका ३४ हजारभन्दा बढी सहकारी संस्थाहरुलाई ठिक ढंगबाट मुभ गर्ने हो भने मात्रै सरकारले घोषणा गरेको आर्थिक समृद्धि पूरा हुन सक्छ ।
(सहकारी सञ्जालसँग कुराकानीमा आधारित)
