सहकारी बैंकले अरु बैंकसँग प्रतिस्पर्धा गर्ने होइन

-रत्नप्रसाद जोशी , नेता , नेपाल कम्युनिष्ट पार्टी तथा सल्लाहकार , नागरिक समूह बचत तथा ऋण सहकारी संस्था लि. , न्यूप्लाजा , काठमाडौं

 

राष्ट्रिय सहकारी बैंक लि.ले अरु बैंकहरुसँग प्रतिस्पर्धा गर्नेभन्दा सहकारीहरुको संरक्षण गर्ने र सहकारी संस्थाहरुलाई ठिक ट्रयाकमा अगाडि बढाउने कार्यमा सहयोग गर्नुपर्दछ । सहकारी संस्थाहरु ठिक ट्रयाकमा अगाडि बढेनन् भने त्यसबाट दुष्परिणाम जन्मिन सक्छ । त्यसकारण होसियार रहन सक्नुपर्दछ ।

सहकारीमा जुन शक्तिको बढी बल छ , उसको बर्चश्व हुनु स्वभाविकै हो । पछिल्लो समयमा बोर्डिङ्ग स्कुल , सहकारी र आई.एन.जी.ओ.मा अहिलेको सत्ताको नेतृत्वकर्ता पार्टीका कार्यकर्ताहरु सबैभन्दा बढी लागेका छन् । त्यही भएर त कहिलेकाही तिनीहरुको पार्टीलाई आई.एन.जी.ओ.को पार्टी पनि भन्ने गरिन्छ । बोर्डिङ्ग स्कुल तथा सहकारी लगायतमा पनि अरुको तुलनामा उनीहरुको त्यत्तिकै बढी लगानी छ । जो लगानी गरेर अगाडि बढेका छन् , साना – साना सामन्तहरु , तिनीहरुको लगानीबाट नै यस प्रकारको सहकारी संस्थाहरु खडा भएका छन् । एक प्रकारको सामन्ती शोषण नै कायम राखेर जसरी तिनीहरु लागिरहेका छन् , त्यहाँ तिनै साना सामन्तहरुको वर्चश्व हुनु , त्यहाँ तिनीहरुले चुनाव जित्नु स्वभाविकै हो तर त्यस ढंगबाट अगाडि बढेमा त्यसले दुष्परिणाम ल्याउन सक्छ । मेरो विचारमा त्यसलाई सामन्तीकरण गर्नुभन्दा सामाजिकीकरण गर्नु राम्रो हुन्छ । आफ्ना हरेक सदस्यलाई केही न केही उपयोगी , केही न केही काममा समावेश गराउने हैसियतमा सहकारी संस्था अगाडि जान सकेमा र सहकारी बैंक नेतृत्वले सहयोगीको भूमिका निर्वाह गर्न सक्यो भने त्यसलाई हामीले स्वागत गर्नुपर्दछ ।

(सहकारी सञ्जालसँगको कुराकानीमा आधारित )

Leave a Reply