सहकारी बैंकको १५औँ वार्षिक साधारणसभा भोलिबाट , के.वी. उप्रेती अध्यक्ष बन्ने निश्चित
राष्ट्रिय सहकारी बैंक लि.को १५औँ वार्षिक साधारणसभा भोलिबाट शुरु हुदैछ । दुई दिनसम्म चल्ने साधारणसभाको कार्यक्रम शार्वजनिक भएको छ । साधारणसभाको भोलि दिउसो उद्घाटन हुनेछ । नेतृत्व छनौट सहितको साधारणसभा भएकाले यसको नेतृत्व तहका विभिन्न पदका लागि आकङ्क्षीहरु पनि धेरै जना देखिएका छन् ।
यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले सो बैंकको अध्यक्ष पदमा यसका निवर्तमान प्रवन्ध सञ्चालक के.वी. उप्रेतीलाई अगाडि सारेको नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले जनाएका छन् । सहकारी बैंकका वर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले पुन: अर्को कार्यकालको लागि अध्यक्ष बन्ने इच्छा राखे पनि सो दलले पोखरेलको सट्टा उप्रेतीलाई अध्यक्ष पदको उम्मेद्वारका लागि अगाडि सारेको बताइएको छ । उप्रेती सहकारी क्षेत्रमा लोकप्रिय भएकोले र उनलाई प्रजातान्त्रिक धारको पनि समर्थन हुन सक्ने आंकलन सहकारी क्षेत्रका कतिपय जानकारहरु बताउछन् । यता सहकारी क्षेत्रको जनमत हेर्दा पनि उनी विजयी हुने निश्चित जस्तै देखिन्छ । यता यो समाचार तयार पार्दासम्म प्रजातान्त्रिक धारले यस बैंकको नयाँ नेतृत्वका लागि के योजना बनाउदै छ भन्ने जानकारी प्राप्त हुन सकेको छैन । यो बैंकको नयाँ नेतृत्व सबै पक्षलाई समेटी सर्वसम्मत ढंगबाट छानिनु पर्ने सहकारी क्षेत्रको दवाव देखिन्छ ।
