नेशनल डेभलपमेण्ट को-अपरेटिभको २१ औँ वार्षिक साधारणसभा सम्पन्न , १५ प्रतिशत लाभांश वितरण
ललितपु -१६ , प्याङ्ग:था , गाबहालमा रहेको नेशनल डेभलपमेण्ट को – अपरेटिभ सोसाइटी लि.को २१ औँ वार्षिक साधारणसभा आज भूतपूर्व मन्त्री बुद्धिराज वज्राचार्यको प्रमुख आतिथ्यता र संस्थाका कार्यकारी अध्यक्ष राजेशहरि जोशीको अध्यक्षतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि बज्राचार्य र अध्यक्ष जोशीले ८६ वर्षीय डा.नारायणहरि जोशीलाई सम्मान गर्नुका साथै संस्थाका बचतकर्ता बद्रीप्रसाद जोशी र पूर्णमाया महर्जन , असल ऋणी मीना थापा र विजय श्रेष्ठलाई प्रशंसापत्र र २०७४ सालको एस.ई.ई.परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने संस्थाका शेयर सदस्य मोतीलाल डंगोलका नाति सृजन डंगोललाई रु. ५ हजार नगद सहित कदरपत्र प्रदान गरे । त्यस अवसरमा ललितपुर बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामशरण घिमिरेले यस नेशनल डेभलपमेण्ट को-अपरेटिभ सोसाइटी लि.ले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानप्रति आभार प्रकट गर्दै अब यस संस्थाले शेयर सदस्य बढाउने मात्रै नभई गुणस्तरीय शेयर सदस्य बनाउने नीति अगाडि बढाउनु पर्ने आवश्यकता औल्याए । त्यस अवसरमा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सहकारी मूल्य , मान्यता र सिद्धान्त अनुरुप आर्थिक कारोवार गर्दै आइरहेको यस संस्थाले स्थापना कालदेखि हालसम्म थुप्रै आरोह अवरोहको सफलतापूर्वक सामना गर्दै शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै देशको नयाँ संघीय राजनीतिक प्रणाली तथा परिमार्जित सहकारी एन , २०७४ मा अब सहकारी मार्फत देशले उपलव्धीपूर्ण आर्थिक विकासको लागि फड्को मार्नेतर्फ अगाडि बढ्नेछ भन्ने विश्वास लिएको बताए । आर्थिक वर्ष २०७४/७५ मा भएको खुद नाफा रकमलाई विनिमय अनुसार बाँडफाँड गरी बाँकी रहन आएको रकममध्येबाट शेयर सदस्यहरुलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्दै यस संस्थासँग आवद्ध सदस्यहरुलाई SMS द्वारा बैंकिङ्ग कारोवारको सूचना प्रवाह गर्ने कार्य भइरहेको , यस संस्थाका शयर सदस्यहरुलाई गणेशमान सिंह स्वास्थ्य सहकारी लि.बाट सहुलियतपूर्ण तथा विश्वसनीय स्वास्थ्य सुविधा उपलव्ध गराउने र यस संस्थाका कर्मचारीहरुको लगनशीलता र कार्यकुशलतालाई मध्यनजर राख्दै यो वर्ष पनि उहाँहरुलाई खाईपाई आएको एक महिना बराबरको पारिश्रमिक रकम प्रोत्साहन स्वरुप उपलव्ध गराउने उनको भनाई छ । आर्थिक वर्ष २०७४/७५ मा संस्थामा प्राथमिक पूँजी कोष रु.७,८१,०१,५९६ , चुक्ता पूँजी रु.३,८७,३५,३०० , निक्षेप रु.८५,७५,०९,६०८/४९ , लगानी रु.९०,२३,४८,८११ , आम्दानी रु.१४,१९,४०,५३६/०५ , खर्च रु.१२,९७,०८,४८०/८५ र नाफा रहेको १,२२,३२,०५५/२० रहेको अध्यक्ष जोशीले भने ।
