सहकारी बैंकको साधारणसभा शुरु , नेतृत्व चयन भोलि हुने

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा राजधानीमा आजबाट शुरु भएको छ । भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले एक समारोहका बीच  साधारणसभाको उद्घाटन गरिन् । सो अवसरमा मन्त्री अर्यालले बर्तमान सरकार सहकारी क्षेत्रको विकासका लागि लागिरहेको बताइन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहलाई नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण , राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशबप्रसाद बडाल , ३ नं. प्रदेशका सभासद पशुपति चौलागाई लगायतले सम्बोधन गरेका थिए । त्यस अवसरमा मन्त्री अर्यालले सहकारी क्षेत्रमा विशेष योगदान पु-याए बापत सहकारी विज्ञ तथा सहकारी सञ्जाल मासिकका सल्लाहकार डा. ज्ञानेन्द्रप्रसाद पौडेललाई ‘सहकरी विद्वत पुरस्कार’ प्रदान गर्नुका साथै दोसल्ला ओडाएर सम्मान गरी सम्मान-पत्र प्रदान गरिन् । त्यस अवसरमा सम्मानित व्यक्तित्व डा. ज्ञानेन्द्रप्रसाद पौडेलद्वारा लिखित ‘ Credit Risk Management in Nepalies Cooperative Societies’ पुस्तकको मन्त्री अर्याल , नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडालले संयुक्त रुपमा विमोचन गरे ।

सो बैंकको  ललितपुरको कुपण्डोलमा रहेको मुख्य कार्यालय सहित ४४ वटा शाखा सञ्चालनमा रहेका छन् । आर्थिक वर्ष २०७४/७५ मा निक्षेप रु. १९ अरव ९६ करोड , विभिन्न शीर्षकमा कर्जा प्रवाह रु.१२ अरव ८८ करोड ,  शेयर सदस्य ९,९१२ , शेयर पूँजी रु.१ अरव ४ करोड २२ लाख २२ हजार , मुनाफा रु. ४०, ७९,७९८८९/६० र १५ प्रतिशत लाभांश वितरण गरिएको सादारणसभामा प्रस्तुत कार्यक्रम , बजेट तथा व्यवस्थापकीय प्रतिवेदनमा उल्लेख छ ।

अहिले यसका शेयर सदस्य १०,२१८ पुगेकाले शेयर पूँजी पनि सोही अनुरुप बृद्धि भएको  सो बैंक श्रोतको भनाई छ ।

साधारणसभामा यस बैंकका सदस्य रहेका १०,२१८वटा सहकारी संघ/ संस्थाहरुका १/१ जना प्रतिनिधि  सहभागी रहेका छन् । यस बैंकको नयाँ नेतृत्व चयन भोलि हुने कार्यक्रम रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) र नेपाली काँग्रेसका नेताहरुबीच यसको नयाँ नेतृत्व सर्वसम्मतीबाट चयन गर्ने सहमती भएको जनाइएको छ । बैंकको नयाँ अध्यक्ष यसका नि:वर्तमान प्रवन्ध सञ्चालक के.बी. उप्रेती चयन हुने दुई दलको सो सहमतीले निश्चित भएको छ ।  यसको लेेेखा संयोजकमा लक्ष्मीप्रसाद उप्रेती , सञ्चालक खुल्लातर्फ प्रदेश नं. ३, ४ र ५ मा ज्ञानबहादुर तामाङ , रामबहादुर जी.सी. र विजया धिताल निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भोलि हुनेछ ।

 

Leave a Reply