नवकान्तिपुर सहकारीको एटीएम सेवामा आकर्षण बढ्दै
काठमाडौंको बत्तीसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि. ले गएको मंसीरको अन्तिम साताबाट सञ्चालन शुरु गरेको एटीएम (ATM) सेवाप्रति सदस्यहरुको आकर्षण बढिरहेको सो संस्थाले जनाएको छ । गौशला चोकको त्यस संस्थाको जग्गा परिसरमा रहेको शाखामा ए.टी.एम. सेवाको सो संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले गएको मंसीर २६ गते सञ्चालन शुरु गरेका थिए । सो संस्थाले एटीएम कार्ड आफ्ना सदस्यहरुलाई नि:शुल्क वितरण गरिरहेको जनाएको छ । “यस संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री , छिटो , छरितो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको र यो एटीम कार्ड लिन इच्छुक सदस्यहरुलाई यही पुस मसान्तसम्म नि:शुल्क वितरण गरिने छ” सो संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले सहकारी सञ्जाललाई बताए । “संस्थाको यो एटीएम कार्डबाट नेपालभर एससीटी नेटवर्क प्रयोग गर्ने अन्य बैंक , वित्तीय संस्था तथा सहकारी संस्थाका एटीएम काउण्टरबाट समेत रकम निकाल्न सकिने व्यवस्था गरिएको छ साथै सदस्यहरुले उक्त कार्ड विभिन्न मर्चेण्ट पेमेण्टको लागि समेत प्रयोग गर्न सक्ने छन्” उनको भनाई छ ।
हाल देशका विभिन्न बैंक , वित्तीय संस्था तथा सहकारी संस्थामा गरी एससीटी नेटवर्कका नेपालभर २००० भन्दा बढी एटीएम मेसिनहरु सञ्चालनमा रहेको बताइएको छ ।
यसै गरी सो संस्थाले सहकारी ऐन ,२०७४ को दफा ६९(२) बमोजिम छुट्टाइएको संस्थागत पूँजी फिर्ता कोषको रकम सोही ऐनको दफा ६९(३) बमोजिम आफ्ना सदस्यहरुलाई वितरण गरेको जनाएको छ । उसले आफ्ना सदस्यहरुले संस्थामा गरेको कारोवारको आधारमा शेयर रकममा एक तिहाई , कर्जामा व्याज आम्दानीको आधारमा एक तिहाई र बचत व्याज भुक्तानीको आधारमा एक तिहाई गरी हिसाव भएको सम्पूर्ण रकम सदस्यहरुको बचत खातामा जम्मा गरिएको र यसो गर्दा सदस्यहरुले न्युनतम रु.४७.५७ देखि अधिकतम रु.१,७६,९६७.८७ सम्म प्राप्त गरेको का.मु. प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाई छ । सहकारी ऐनको यो व्यवस्थाले सदस्यहरुलाई सहकारीमा आवद्ध भई कारोवार गर्न उत्प्रेरित गर्नुका साथै अहिलेको मुनाफामुखी अर्थ व्यवस्थाभन्दा सहकारी अर्थ व्यवस्था नै उपयुक्त हुन्छ भन्ने सन्देश प्रवाह भएको उनको कथन छ ।
यो सहकारी संस्थाको काठमाडौंको बत्तीसपुतलीमा मुख्य कार्यालय र काठमाडौं कै इन्द्रचोकमा शाखा कार्यालय र गौशालाचोक परिसरमा रहेको आफ्नो जग्गामा एटीएम सेवा सञ्चालनमा रहेका छन् ।
