सहकारी महासंघको २६औँ वार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालको २६औँ वार्षिक साधारणसभा सो महासंघका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षतामा हिजो राजधानीमा सम्पन्न भयो । नेपाल सरकारका भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सो साधारणसभा उद्घाटन गरिन् । सो अवसरमा मन्त्री अर्यालले देशको अर्थतन्त्रको तीन खम्बामध्येको एक खम्बा सहकारी क्षेत्रले श्रम र सीपको सम्मान गर्दै कृषि लगायतका उत्पादनमूलक क्षेत्रमा आफूलाई केन्द्रित गरी मुलुकमा  भइरहेको आयातलाई कम गर्ने ढंगबाट काम गरी बर्तमान सरकारको ‘सुखी नेपाली , समृद्ध नेपाल’ अभियानलाई सहयोग गर्नु पर्नेेेमा जोड दिइन् । त्यस अवसरमा अध्यक्ष बडालले सो महासंघको वार्षिक प्रतिवेदन पेश गर्दै “मुलुकमा २१.६ प्रतिशत जनता आर्थिक गरिवीको रेखामुनि रहेपनि बहुआयामिक गरिवीको मापन अनुसार अझै पनि २८,६ प्रतिशत नेपाली जनता बहुआयमिक गरिवीको चपेटामा रहेका छन् । प्रदेशगत रुपमा तुलना गर्दा जुन प्रदेशहरुमा सहकारी संघ/संस्थाको सक्रियता कम छ , ती प्रदेशहरुमा बहुआयमिक गरिवीको दर उच्च रहेको छ । सहकारी संघ / संस्थाको सक्रियता बाकलो भएका प्रदेशहरु प्रदेश नं. १ ,३ , ५ र गण्डकी प्रदेशमा बहुआयामिक गरिवीको दर क्रमश: १९,७ % , १२.२% , २०%  र १४.२% रहेको छ भने कर्णाली प्रदेश , प्रदेश नं.२ र सुदुरपश्चिम प्रदेशमा बहुआयमिक गरिवीको दर क्रमश: ५१.२% , ४७.९% र ३३.६% रहेको छ । यसबाट गरिवी न्युनिकरणमा सहकारी क्षेत्रको योगदान रहेको पुष्टि हुनुका साथै सहकारी अभियान सशक्त हुनुपर्ने देखिन्छ” भने । ” ‘समृद्ध नेपाल ,सुखी नेपाली’ राष्ट्रिय सोचलाई पूरा गर्न लोकतान्त्रिक गणतन्त्र र संघीय संरचना अन्तर्गत बनेको संघीय , प्रदेश र स्थानीय सरकार , निजी तथा सरकारी क्षेत्रको प्रयास अपरिहार्य रहेको र स्थानीय र प्रदेश सरकार सहकारी मैत्री बनेमा नै सहकारी संघ/संस्थाको व्यवसायिक विस्तार भई स्थानीय स्रोत साधनको परिचालनमार्फत आन्तरिक उत्पादन बढ्ने र स्थानीय तथा प्रदेश सरकार आत्मनिर्भर बन्ने कुरामा जोड दिदै सहकारी मैत्री कानुन एवं नीति तथा कार्यक्रम निर्माणका लागि विशेष अनुरोध गर्दछौँ” उनको भनाई थियो  । महासंघमा आर्थिक वर्ष २०७४/७५ मा  सदस्य ३२५ , सहयोग सदस्य १३ , शेयर पूँजी रु.३७,२५,००० , वार्षिक आम्दानी रु.५,४९,५४,५२५/८६ र वार्षिक खर्च रु.५,००,०५,४९९/१६ रहेको त्यस अवसरमा लेखा समितिले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस अवसरमा भक्तपुरको कमलविनायकमा रहेको आदर्श उपभोक्ता लि. लाई सहकारी फसल (Coop shop) को मान्यता सहित नेपाल सरकारको तर्फबाट राष्ट्रिय सहकारी महासंघ लि. , नेपालबाट रु.२५ लाख नगद सहित पूँजीगत अनुदान प्रदान गरिएको थियो ।

Leave a Reply