शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न
ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय र लगनखेलमा सेवा केन्द्र रहेको शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि.को २०औँ वार्षिक साधारणसभा राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेलको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष तीखवीर राईको अध्यक्षतामा यही पुस २८ गते सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले यस शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको र यसले गरेको आर्थिक प्रगति निकै राम्रो रहेको बताउदै यस संस्थाले आफू अनुकूलका अरु सहकारी संस्थाहरुलाई मर्ज गरी कारोवारको दायरा अझै फराकिलो बनाउनु पर्नेमा जोड दिए । सहकारी नियमावली चाडै जारी हुने उनको भनाई थियो । त्यस अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामशरण घिमिरे तथा ललितपुर जिल्ला जडीबुटी सहकारी संघ लि.का अध्यक्ष रामशरण दाहालले सो संस्थाको उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गरेका थिए । त्यस अवसरमा अध्यक्ष राईले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सहकारी ऐन , २०७४ बाट बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा काम गर्नलाई अन्यौलता सिर्जना गरेकोले सरकारले त्यो अन्यौलता हटाई बहुउद्देश्यीय सहकारी संंस्थालाई उत्पादनमूलक क्षेत्रमा काम गर्ने वातावरण बनाउनु जरुरी रहेको बताए । आफ्नै भवनबाट कारोवार गरिरहेको यस संस्थामा आर्थिक वर्ष २०७४/७५ मा १४८५ जना महिला र १४०४ जना पुरुष गरी जम्मा २८८९ जना सदस्य , रु.६,५८,३०,९०० शेयर पूँजी , रु. १,९९,०५,७२,०९५ निक्षेप संकलन , रु.५८,६९,४५,५१४ कर्जा लगानी र रु.१,११,८६,८१० खुद नाफा रहेको उनको मनाई थियो । उनले संस्था मर्ज गरी सदस्य तथा कारोवार विस्तार गर्ने , संस्थालाई दीगो र गतिशील रुपमा सञ्चालन गर्नको लागि ऐनमा व्यवस्था भए बमोजिम बहुउद्देश्यीय कार्यहरुमा लगानी गर्ने , बचत संकलनका लागि समय सापेक्ष योजनाहरु तयार गर्ने , कर्जा लगानीमा गुणस्तरीय सेवा प्रदान गर्ने , नयाँ सदस्यहरुलाई सदस्य शिक्षा सञ्चालन गर्ने र सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने लगायतका यस संस्थाको योजनाहरु रहेको बताए । संस्थाका कोषाध्यक्ष आङ्ग दावा शेर्पाले सो संस्थाले सञ्चालन गरिरहेको कृषि परियोजनाको प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा त्यस संस्थाका शेयर सदस्य समेत रहेका ७० वर्ष माथि उमेरका नागरिकहरु हरिमाया महर्जन , मिश्री बस्नेत , रणबहादुर राई , तारादेवी तिमिल्सिना , बैनीमाया गिरी , रत्नमाया महर्जन , शान्तीप्रसाद दाहाल , शिवबहादुर थापा , पार्वती राई , निरु राई , शान्ती प्रजापती , गोविन्दबहादुर यौञ्जन , दिलबहादुर श्रेष्ठ , सुशिला लामा , चमेली शाक्य र ज्ञानीमैजु शाक्यलाई सम्मान गरियो भने त्यस संस्थामा निरन्तर १० वर्ष काम गरेका कर्मचारीहरुलाई कदर-पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सो साधारणसभाले सो संस्थाको बहालवाला सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति लगायतलाई अर्को कार्यकालका लागि पुन चयन गरेको छ ।
