बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारणसभा सम्पन्न , डा. पौडेल र डा. पुरी सम्मानित
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. को छैटौँ वार्षिक साधारणसभा भूतपूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको प्रमुख आतिथ्यता र सो संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा यही पुस २९ गते राजधानीमा सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि खाँणले बहुउद्देश्यीय सहकारी संस्थालाई उत्पादनमूलक क्षेत्रमा काम गर्ने वातावरण बनाउन सकियो भने मात्रै मुलुकमा उत्पादन बृद्धि भई आयात घटाउन सकिने बताए । राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशबप्रसाद बडालले सहकारीकर्मीहरुले प्रदेश तथा स्थानीय तहले बनाउने तिनीहरुका आफ्ना सहकारी ऐन तथा नियमावलीलाई सहकारीकर्मी मैत्री बनाउन आ-आफ्नो ठाउँबाट जोडदार ढंगबाट लाग्नु जरुरी रहेको बताए । ३ नं. प्रदेश सभासद राजेन्द्र पाण्डेले सहकारीहरु मिलेर उत्पादनमूलक कार्यमा लाग्नु पर्ने आवश्यकता औल्याए । राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेलले सहकारी मार्फत मुलुकका सबै खाले द्वन्दलाई निवारण गर्न सकिने बताए। भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि गम्भीरताका साथ काम गरिरहेको बताए । त्यस अवसरमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले उत्पादनमूलक कार्य गर्ने सहकारी संस्थाहरुलाई तिनले गरेको उत्पादनमूलक कार्यका आधारमा राष्ट्रिय सहकारी बैंक लि.ले सहयोग गर्ने बताए । पूर्व सभासद तथा राष्ट्रिय सहकारी महासंघ लि.का उपाध्यक्ष ओमदेवी मल्ल र राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनक शाहले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे । त्यस अवसरमा अध्यक्ष भण्डारीले सो संघको वार्षिक प्रतिवेदन पेश गर्दै वित्तीय कारौवारमा सहकारी क्षेत्रको २५ प्रतिशत भन्दा बढी योगदान रहेको र देशभर सञ्चालित ३४,५१२ सहकारी संस्थाहरुमध्ये ४,३७१वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु रहेको र बहुउद्देश्यीय सहकारी संघ/ संस्थाहरुले २ खर्बभन्दा बढीको निक्षेप परिचालन , सोही बराबरको कर्जा लगानी गरेका छन् भने रु.२५ अर्बभन्दा बढीको पूँजी परिचालन भएको बताए । ३६ जिल्लाका १२ वटा संघ र २७६ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु गरी २८८ सदस्य रहेको यस संघमा कुल सम्पति रु.२१,२४,३७,६५७ , कुल निक्षेप रु. १९,७२,७९,४८५ , कर्जा सापटी रु.१२,२९,८६,५०५ , कुल चुक्ता पूँजी रु.२,१७,१६,००० र स्थीर सम्पति रु.४६,९८,१९९ रहेको उनको भनाई थियो। त्यस संघका उपाध्यक्ष नारायणभक्त श्रेष्ठले धन्यवाद ज्ञापन , सचिव माधवप्रसाद तिमिल्सिनाले सञ्चालन र कोषाध्यक्ष पुष्पबहादुर पोडेलले स्वागत गरेको साधारणसभामा भारतको Singhania University बाट Credit Risk Management in Nepalese Cooperative Societies विषयमा विद्यावारिधी गरेका तथा नेपाल मर्चेन्ट को-अपरेटिभ लि. , महाबौद्ध , काठमाडौंका प्रवन्ध निर्देशक र सहकारी सञ्जालका सल्लाहकार डा. ज्ञानेन्द्रप्रसाद पौडेल र थाइल्याण्डको Shinawatra University बाट Good Governance in Cooperative of Nepal विषयमा विद्यावारिधी गरेका तथा प्रो-एड बहुउद्देश्यीय सहकारी संस्था लि. , पुरानो बानेश्वर , काठमाडौंका अध्यक्ष डा.द्रोणलाल पुरीलाई सम्मान गरियो । त्यस अवसरमा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक समिति तथा लेखा समितिमा निर्वाचित व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।
