बाराही बहुउद्देश्यीय सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौंको नयाँ बानेश्वरमा रहेको कुसुम गंगा कम्प्लेक्समा मुख्य कार्यालय र ललितपुरको सातदोबाटोमा १ सदस्य सेवा काउण्टर रहेको बाराही बहुउद्देश्यीय सहकारी संस्था लि.को १७औँ वार्षिक साधारणसभा यही पुस २७ गते नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता र सो सहकारी संस्थाका अध्यक्ष जीवनकुमार राईको अध्यक्षतामा सम्पन्न भयो । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले यस बाराही बहुउद्देश्यीय सहकारी संस्था लि.ले उत्पादनमूलक कार्यका साथै समुदायमा आधारित रहेर सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा गरिरहेको योगदानको प्रशंसा गर्दै सरकारले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई उत्पादनमुलक कार्य गर्ने वातावरण बनाउनु जरुरी रहेको बताए । त्यस अवसरमा कुसुम गंगा कम्प्लेक्स , नयाँ बानेश्ववर , काठमाडौंका सञ्चालक कुसुमदेवी चालिसे र राष्ट्रिय सहकारी बैंक लि. नयाँ बानेश्वर शाखा प्रमुख विष्णु गिरीले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे । त्यस अवसरमा अध्यक्ष राईले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै हाम्रो यस व्यवस्थापनले यो संस्था सञ्चालन गरेको ९ वर्षको अवधिमा काठमाडौंको नयाँ बानेश्वरस्थित कुसुम गंगा कम्प्लेक्समा मुख्य कार्यालयका अतिरिक्त २०७२ फाल्गुण १५ गतेबाट ललितपुरको सातदोबाटोमा १ सदस्य सेवा काउण्टर सञ्चालन गरिरहेको तथा २०७२ फाल्गुण ८ गतेदेखि ललितपुर जिल्लाको सातदोबाटो र भेल्पा , शिवनगरमा २ वटा बाराही मिट सेन्टर परियोजना (मासुजन्यको बस्तुको होलसेल तथा खुद्रा पसल) सञ्चालन गरिरहेको र संस्थाका सदस्यहरुको सुविधाको लागि रेमिट कम्पनीहरुसँग सम्झौता गरी विभिन्न रेमिट सेवा प्रदान गरिरहेको बताए । ६१२ जना महिला र ३१९ जना पुरुस गरी ९३१ जना शेयर सदस्य रहेको यस संस्थामा आर्थिक वर्ष २०७४/७५ मा शेयर पूँजी रु.२,२९,७५,८०० , बचत (निक्षेप) रु.१९,२०,६२,४५९ , कर्जा लगानी रु.१३,३४,२६,६९३/०४ , कुल सञ्चालन आम्दानी रु.२,९०,८५,२२५/१४ , कुल खर्च रु.२,७९,६९,७५६/२९ र खुद आम्दानी रु.१३,७३,३५७/९५ रहेको उनको भनाई थियो । अध्यक्ष राईले यस संस्थाको शेयर सदस्यता वितरणलाई जोड दिदै सदस्यहरुको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने , कर्जा लगानीलाई छिटो , छरितो बनाई गुगस्तरीय सेवा प्रदान गरिने , शेयर सदस्यहरुलाई सहकारी र सहकार्य गर्ने शिक्षा प्रदान गरिने , बाराही मिट सेन्टर परियोजनालाई अझ थप आधुनिक प्रविधिहरुको प्रयोग गर्दै नमुना मासु उद्योगको रुपमा विकास गर्दै लगिने , बाराही मिट सेन्टर परियोजनाले ललितपुर -१४ भेल्पा , शिवनगर टोलमा जग्गा भाडामा लिई टहरा निर्माण गरी मासुजन्य बस्तुको उत्पादन , प्रशोधन ,र विक्री थालेको र निकट भविश्यमा मासुका परिकार प्याकेजिङ्ग , ठूलो परिणामको मासु चिस्यान केन्द्र लगायतका साना उद्योगको विकास गरी सञ्चालन गर्ने तयारीमा रहेको , बाराही मिट सेन्टर परियोजनालाई Poultry Farming , Hatchery , Slaughter house ,Cold Room ,Vacuum Packing , Feeding Material Production house इत्यादिको स्थापना गरी कुखुराको चल्ला उत्पादन , अण्डा उत्पादन , कुखुराको लागि दाना उत्पादन , ताजा तथा frozen मासु उत्पादन , प्रशोधित मासुहरु उत्पादन गरी मासुजन्य पदार्थ सम्बन्धी सम्पूर्ण कार्यहरुमा पूर्ण आत्मनिर्भर बनाउदै लगिने , ललितपुरको सातदोबाटो चोकमा रहेको बाराही मिट सेन्टर परियोजनाको विक्री केन्द्रलाई अन्य उपयुक्त स्थानहरु छनौट गरी बिस्तार गरिने र अन्तर सहकारी सम्बन्धलाई मजबुत बनाउदै लगी बहुउद्देश्यीय कार्य अन्तर्गत विभिन्न व्यापार व्यवसाय गरिने लगायतका संस्थाको योजना रहेको बताए।
त्यस अवसरमा प्रमुख अतिथि तिमिल्सिना र अध्यक्ष राईद्वारा सो संस्थाका शेयर सदस्य समेत रहेका जेष्ठ नागरिकहरु रघुवीर राई , कृष्णबहादुर राई र धुर्वप्रसाद उपाध्याय र त्यस संस्थाका उत्कृष्ट कर्मचारीहरु भुवनसिंह राई , गहमान राई र रमेश मगरलाई सम्मान गरियो ।
