बढी शुल्क लिएको विरोधमा गण्डकी मेडिकल कलेज , पोखराका विद्यार्थी र अभिभावकको विरोध , सरकारले तोकेभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता नगरे संघषमा उत्रने अनेवियूको चेतावनी

गण्डकी मेडिकल कलेज , पोखरामा MBBS अध्ययन गरिरहेका विद्यार्थी र तिनका अभिभावकहरुले सो कलेजले नेपाल सरकारले तोकेभन्दा बेसी शुल्क लिएको भन्दै त्यसको विरोध गरिरहेका छन् । सो कलेजको सन् २०१६ को व्याज , जो यतिबेला तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् , का विद्यार्थी र तिनका अभिभावकहरु काठमाडौं उपत्यका बाहिरका मेडिकल कलेजमा MBBS तह अध्ययनका लागि नेपाल सरकारले २०७२ भदौ ३१ गते रु.४२ लाख ५ सय शुल्क तोकेको भए पनि सो कलेजले विभिन्न शीर्षकका नाममा रु. ५६ लाखभन्दा बढी शुल्क लिएकोले नेपाल सरकारले तोकेभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्न माग गर्दै ती विद्यार्थीहरुका १०८ जना अभिभावकहरुले यही शुक्रवार सो कलेजका प्राचार्य रविन्द्रप्रसाद श्रेष्ठलाई ध्यानाकर्षण-पत्र बुझाएका थिए ।
यता अखिल नेपाल विद्यार्थी यूनियनले सो कलेजले ती विद्यार्थीहरुबाट नेपाल सरकारले तोकेभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्नु पर्ने अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । यही माघ २ गते अखिल नेपाल विद्यार्थी यूनियनका संगठन प्रमुख प्रवीण मिश्रले त्यस कलेजका प्राचार्य श्रेष्ठलाई सात दिनभित्रमा नेपाल सरकारले तोकेभन्दा बढी ती विद्यार्थीहरुबाट लिएको शुल्क फिर्ता नगरे आफूहरू आन्दोलनमा उत्रने भन्दै ध्यानाकर्षण-पत्र बुझाएका थिए । तपाईहरुले दिएको समय सीमाभित्र गण्डकी मेडिकल कलेज , पोखराले विद्यार्थीहरुबाट लिएको बढी शुल्क फिर्ता गरेन भने के गर्नु हुन्छ? भन्ने सहकारी सञ्जालको जिज्ञाशाको जवाफमा संगठन प्रमुख मिश्रले अनेवियूले दिएको समयसीमा भित्र सो कलेजले विद्यार्थीहरुबाट लिएको बढी शुल्क फिर्ता नगरे कडा संघर्षमा उत्रने बताए ।
उता सो कलेजले भने विद्यार्थी र अभिभावकहरुको सोो मागका विषयमा यस बेलासम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
गएको पुसको दोस्रो साता त्रिभुवन विश्वविद्यालय , चिकित्साशास्त्र अध्ययन संस्थान र अखिल नेपाल विद्यार्थी यूनियन बीच भएको सहमती-पत्रमा नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएमा सम्बन्धित मेडिकल कलेजलाई कार्वाही गरिने र सरकारले तोकेभन्दा बढी उसले लिएको शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गराउन त्रिभुवन विश्वविद्यालय , चिकित्साशास्त्र अध्ययन संस्थानको कार्यालय प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।