प्रा.डा. गोविन्द के.सी. को जीवनरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले थाले रिले अनशन

वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द के.सी.ले आमरण अनशन शुरु गरेको २१ दिन पुगेको छ । यसबेलासम्म सरकारको तर्फबाट डा. के.सी.सँग छलफल भएको छैन । उहाँको जीवनरक्षाको माग गर्दै शुक्रबारबाट चिकित्सक सहितका स्वास्थ्यकर्मीहरुले काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा रिले अनशन थालेका छन् । यता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रशासनले यस अस्पताल परिसरमा स्वास्थ्यकर्मीहरुलाई रिले अनशन नबस्न निर्देशन जारी गरेको छ तर नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले डा. के.सी. को जीवनरक्षाको लागि मंगलबार पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा स्वास्थ्यकर्मीहरुको रिले अनशन जारी रहने बताएका छन् । स्वास्थ्यकर्मीहरुले संविधानमा उल्लेखित व्यवस्था अनुसार नै स्वास्थ्यकर्मीहरुले रिले अनशन बसिरहेको उनको भनाई छ । सरकारले डा. के.सी.सँग बार्ता गरी समस्याको समाधान नखोजे र डा.के.सी.को स्वास्थ्य अवस्था थप विग्रेमा उहाँको जीवनरक्षाको लागि स्वास्थ्यकर्मीहरु कडा संघर्षमा उत्रने उनको कथन छ ।
यता शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रा.डा. गोविन्द के.सी. को चिकित्सा शिक्षा विधेयक निर्माण गर्न योगदान रहेको चर्चा गर्दै प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयकले चिकित्सा क्षेत्रको समस्या समाधान गर्ने भएकाले उहाँलाई अनशन फिर्ता लिन अनुरोध गरेका छन् । सोमबार मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको सम्बन्धित पक्षले उहाँसँग सम्वाद गरी उहाँले उठाएका राजनीतिक लगायतका मागको समाधान खोज्नु पर्ने आवश्यकता औल्याए ।
काँग्रेसको विरोधका वीच चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा गरियो टेवुल
नेपाली काँग्रेसको विरोधका वीच संघीय संसदको प्रतिनिधिसभाबाट गएको शुक्रबार पारित चिकित्सा शिक्षा विधेयक सोमबार राष्ट्रियसभामा टेवल गरिएको छ । नेपाली काँग्रेसको अवरोधका कारण सोमबार राष्ट्रियसभाको बैठक २ पटक स्थगित भएको थियो । सोमबार तेस्रो पटक बसेको राष्ट्रियसभाको बैठकमा नेपाली काँग्रेसका सांसदहरुको विरोधका बीच सो विधेयक टेवल गरिएको हो । सो विधेयक राष्ट्रियसभामा छलफलका लागि परिपक्व हुन ७२ घण्टा लाग्ने कानुनी प्रावधान छ ।
ने.वि. संघले जलायो प्रधानमन्त्री वोलीको पुत्ला
गएको शुक्रबार नेपाली काँग्रेसको अवरोधका बीच प्रतिनिधिसभाबाट जब्बरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरिएको भन्दै त्यसको विरोधमा नेपाल विद्यार्थी संघले सोमबार पशुपति क्याम्पस , चावहिलमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा वोलीको पुत्ला जलाएको थियो ।