डा. के.सी. को जीवन रक्षाको माग गर्दै डाक्टहरुले गरे ओ.पी.डी. सेवा बन्द , बार्ताद्वारा समस्या समाधान गर्न सरकारलाई चिकित्सक संघको आग्रह

आमरण अनसनरत वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द के.सी. को जीवन रक्षाको माग गर्दै यो हप्ताको शुरुको दिनबाट रिले अनसन गरिरहेका चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुले सांकेतिक रुपमा आज देशभरका अस्पतालहरुका आकस्मिक बाहेकका ओ.पी.डी. सेवा बहिस्कार गरेका छन् । यो कारण विरामीहरु अफ्ठ्यारोमा परेका छन् । त्रि.वि. शिक्षण अस्पताल लगायतले ओ.पी.डी. सेवा सञ्चालन गर्न खोजे पनि अति न्युन संख्याका डाक्टरहरू मात्रै ओ.पी.डी. सेवा दिन तयार भएका र विरामी पनि अस्पतालमा साह्रै कम देखिएका छन् ।
आफ्नो १५औँ आमरण अनसरका क्रममा आफूसँग गरेको सहमती विपरीत नेपाल सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको भन्दै त्यस विरुद्ध इलामबाट आफ्नो १६औँ आमरण अनसन शुरु गरेका डा.के.सी.सँग आमरण अनसन शुरु गरेको आज २४ दिन बित्ता पनि नेपाल सरकारको तर्फबाट कसैले भेट गरेका छैनन् । आमरण अनसनरत डा.के.सी.सँग वार्ता र छलफल गरी समस्या समाधान गर्न नेपाल चिकित्सक संघले नेपाल सरकारसँग अनुरोध गरेको छ । संघका महासचिव लोचन कार्कीद्वारा जारी गरिएको विज्ञप्तीमा सो कुरा उल्लेख गर्दै नेपाल सरकार समस्या समाधान गर्न गम्भीर नबने नेपाल चिकित्सक संघले कडा संघर्ष गर्ने बताइएको छ ।
यता नेपाल सरकारका शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरिराज पोखरेल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बासकोटा चिकित्सा शिक्षा विधेयक संघीय संसदको दुबै सदनबाट पारित भइसकेकोले डा. के.सी. को आमरण अनसनको औचित्य सकिएकोले उहाँले आमरण अनसन सहितका संघर्षका कार्यक्रम फिर्ता लिनु राम्रो हुने बताइरहेका छन् ।
राष्ट्रियसभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित
नेपाली काँग्रेसका सांसदहरुको बिरोधका बीच हिजोको राष्ट्रिय सभाबाट पनि बहुमतले चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।
नेपाली काँग्रेसले ग-यो प्रतिनिधिसभाको बैठक अबरुद्ध
चिकित्सा शिक्षा विधेयक छलफल नै नगरी जब्बरजस्ती पारित गरेको भन्दै नेपाली काँग्रेसका सांसदहरुले हिजोको प्रतिनिधिसभा बैठक अबरुद्ध गरेका थिए । नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सभामुख कृष्णबहादुर महारासँग समय लिएर बोले लगत्तै नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख महरा आउने सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित गरेका थिए ।