सहकारीले सहकारीसँग मात्रै प्रतिस्पर्धा गर्नु पर्दछ

-रत्नप्रसाद जोशी , नेता , नेपाल कम्युनिष्ट पार्टी तथा सल्लाहकार , नागरिक समूह बचत तथा ऋण सहकारी संस्था लि. , न्युप्लाजा , पुतलीसडक , काठमाडौं
नेपालमा अहिले धेरै सहकारी संस्थाहरु चलेका छन् । केही – केहीको प्रफमेन्स राम्रो देखिन्छ । त्यसमा पनि विशेष गरी बहुमुखी या बहुउद्देश्यीय सहकारी संस्थाहरुको । अधिकांश सहकारी संस्थाहरुले साना – साना सामन्तहरुलाई भेला गरेर सामन्ती शोषणलाई कायम राख्ने भन्दा बाहेक अर्थोक गरेका छैनन् । पैसा किन्ने र पैसा बेच्ने कामहरुमा नै धेरै सहकारी संस्थाहरु सहभागी छन् । पहिलो कुरा त सहकारी स्वयम आफूले व्यापार गर्नु हुदैन । यसको काम भनेको आफ्ना सदस्यहरुलाई समृद्ध बनाउन विभिन्न किसिमका तालिम दिने , उनीहरुलाई लगानी गर्ने , उनीहरुलाई उत्पादनमूलक काममा लाग्न प्रेरित गर्ने , उनीहरुको कामलाई निरन्तरता दिने र उनीहरुको समृद्धीका लागि विशेष पहल गर्ने हो । सदस्यहरुको समृद्धी नै वास्तवमा सहकारीको समृद्धी हो । यो कुरालाई हामीले कहिल्यै भुल्नु हुदैन । दोस्रो कुरा भनेको अहिले सहकारी संस्थाहरुले तैनात गर्ने गरेको व्याज दर अत्यन्तै उच्च छ । उनीहरूले व्याजदरलाई मुल्यांकन गर्नु पर्दछ । सहकारीमा सदस्यहरु बीच नै कारोवार हुने हुँदा सहकारी संस्थाले सदस्यहरुलाई डिपोजिटमा १० प्रतिशतभन्दा बढी व्याज दिनु पनि हुदैन र सदस्यहरुलाई कर्जा लगानी गर्दा उनीहरुबाट १४ प्रतिशतभन्दा बढी व्याजदर तथा सेवा शुल्क लिनु पनि हुदैन । सहकारीले अत्यन्तै थोरै मार्जिनमा आफ्ना सदस्यहरुसँग कारोवार गर्नु पर्दछ र आफ्ना सदस्यहरुको समृद्धीका लागि सचेत रहनु पर्दछ । त्यस्तै अहिले सहकारीबाट ऋण लिएर धेरैजसो व्यक्तिहरु घर जग्गा कारोवारमा केन्द्रित भएका छन् अथवा भनूँ तिनीहरु तत्काल अत्यन्तै धेरै नाफा हुने काममा केन्द्रित भएका छन् । उत्पादनमूलक काममा बहुत काम मात्रै लागेका छन् । यो प्रवृत्ति हटाएर सहकारीले आफ्ना सदस्यहरुलाई उत्पादनमूलक काममा लगाउनु पर्दछ । तेस्रो कुरा भनेको सहकारीले आफ्नो घर घडेरी किन्ने परिपाटीको विकास भइरहेको छ । सहकारी संस्थाले घर घडेरी किन किन्ने ? सहकारी संस्थाले आफूले किनेको घर घडेरी सहकारीको हुदैन । सहकारी संस्था चलुञ्जेल उसले किनेको घर घडेरी उसको हुन्छ । नचलेमा त्यो नेपाल सरकारको हुन्छ । नेपाल सरकारका लागि सहकारी संस्थाले आत्तिएर किन घर घडेरी किन्नु परो ? आफ्ना सदस्यहरुको आयस्ता घटाएर १.५ करोड , २ करोड ३ करोड , ५ करोड , १३ करोड , १४ करोडमा रुपैया या भनौँ ठूलो धनराशी खर्च गरेर घर घडेरी किन्ने भन्दा बरु भाडाको घरमा कारोवार गरेर भएपनि त्यो धनराशीलाई उत्पादनमूलक काममा लगाउनु राम्रो हुन्छ । चौथो कुरा भनेको चलन चल्तीमा धेरै जसो सहकारीमा देखिएको खाबो प्रवृत्ति अथवा भनौँ सहकारी र बैंक बीचको प्रतिस्पर्धा गर्ने कुरा । यो सर्वथा गलत छ । सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्ने होइन् । सहकारीले सहकारी बीच प्रतिस्पर्धा गर्नु पर्दछ । बैंकसँग बैंकले प्रतिस्पर्धा गर्ने हो । सहकारीको आफ्नै मरम र हैसियत हुन्छ । बैंकको जस्तो व्यापारिक प्रयोजन सहकारीको हुदैन ।