गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको विरोधमा सो कलेजका विद्यार्थी र अभिभावकहरुको आन्दोलन जारी

पोखरामा रहेको गण्डकी मेडिकल कलेजले विद्यार्थीहरुबाट सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा त्यहाँ अध्ययनरत MBBS तृतीय वर्षमा अध्ययनरत विद्यार्थी तथा तिनका अभिभावकहरु आन्दोलित भएका छन् । २०७३ भदौ ३० मा नेपाल सरकारले काठमाडौं उपत्यका बाहिरका मेडिकल कलेजहरुका लागि रु.३८ लाख ५० हजार शुल्क तोके पनि सो कलेजले भने रु.५६ लाखसम्म शुल्क लिएको र विद्यार्थीहरुले आफूले तिरेको शुल्कको विल नपाएको भन्दै उनीहरुले आन्दोलन शुरु गरेको बताएका छन् । सरकारले तोकेभन्दा बढी यस गण्डकी मेडिकल कलेजले आफूहरुबाट लिएको शुल्क फिर्ता गर्नु पर्ने , आफूले कलेजमा तिरेको शुल्कको विल भरपाई पाउनु पर्ने जस्ता माग राखेर केही दिन यता विद्यार्थी तथा तिनका अभिभावकहरु आन्दोलन गरिरहेका छन् । यता सो कलेजका प्राचार्य रविन्द्र श्रेष्ठले भने यस विषयमा    सञ्चार माध्यमहरुलाई कुनै प्रतिक्रिया दिएका छैनन् ।

गएको पुसको दोस्रो साता त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले अखिल नेपाल विद्यार्थी यूनियनसँग नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएमा बढी लिने मेडिकल कलेजलाई कारवाही गर्ने र कलेजले लिएको बढी शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गराउने लगायतका सहमती गरेको थियो तर यस बेलासम्म सो सहमती उसले कार्यान्वयन नगरेको प्रति विद्यार्थीहरुको भनाई छ ।

Leave a Reply