सहकारी कर्जा सूचना केन्द्र स्थापना हुनु अत्यन्तै आवश्यक छ

0 Shares

-कृष्णप्रसाद बास्तोला , अध्यक्ष , करुणा बचत तथा ऋण सहकारी संस्था लि. , पीप्पलबोट ताल्छिखेल , ललितपुर

 

कृष्णप्रसाद बास्तोला अध्ययनशील , सक्रिय तथा सिर्जनशील सहकारीकर्मी हुनुहुन्छ । उहाँ अध्यक्ष रहनु भएको करुणा बचत तथा ऋण सहकारी संस्था लि. , पीप्पलबोट ताल्छिखेल , ललितपुरले बचत तथा ऋण कारोवार गर्नुका साथै कृषि , घरेलु उद्योग लगायतका उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गरी आफ्ना सदस्यहरुलाई उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन गरिरहेको छ । यसका साथै यस संस्थाका सञ्चालकहरुले आफूहरू पनि सम्लग्न रही पाट्नरसीपमा विगत केही समयदेखि चितवनको खैरेनीमा साबुन उद्योग सञ्चालन गरिरहनु  भएको छ । यी कार्यहरुबाट प्राप्त अनुभव लगायतका समसामयिक विषयमा केन्द्रित रहेर सहकारी सञ्जालले उहाँसँग कुराकानी गरेको थियो । तल प्रस्तुत छ – उहाँसँगको कुराकानीको सम्पादित अंश ।

१. यतिबेला करुणा साकोस के गरिरहेको छ ?

~हामी यस करुणा बचत तथा ऋण सहकारीलाई संस्था लि. लाई सहकारीको नम्स अनुसार चलाउनुपर्छ भन्ने उद्देश्य अनुरुप सहकारीले दिने गरेका सहकारी शिक्षा तथा  तालिमहरु , जुन पल्स को सिष्टमले चलाउनुपर्छ भनेर सहकारीले भनेको छ , लाई त्यो सिष्टममा ढाल्ने प्रक्रियामा छौँ ।

२. केही समय अगाडि सम्पन्न यस करुणा साकोसको १०औँ वार्षिक साधारणसभाबाट पारित भएका कार्यक्रमहरुको कार्यान्वयन कसरी गरिरहनु भएको छ ?

~यस संस्थाको यस वर्षको साधारणसभाबाट हामीले केही प्रोग्रामहरु बनाएका छौँ । यो साधारणसभाबाट केही प्रस्तावहरु अनुमोदन गरेका छौँ । यस साधारणसभाबाट सहकारीको नम्स अनुसार सहकारीलाई चलाउन विभिन्न समिति , उप-समितिको आवश्यकता महशुस गरी केही उप-समितिहरु थप्ने प्रक्रियालाई अगाडि बढाएका छौँ  ।  सीप , कला , क्षमता  र दक्षता भएर पनि जो मान्छे रोजगारको अभावमा विदेश पलायन हुनुपरेको छ। देशको ठूलो जनशक्ति पलायन  भइरहेको अवस्था छ । त्यो जनशक्ति आफ्नै देश मै रहेर उनीहरुको सीप , कला र क्षमताको सदुपयोग हुन सकोस् र पूँजी अभावमा उनीहरूले तड्पिन नपरोस् भन्ने नीति यस संस्थाले अवलम्बन गरेको छ । यसपालीबाट समुदायमा आधारित रहेका कृषि तथा उद्यमशील व्यवसायहरुलाई सामुहिक कर्जा लगानी गर्ने भनेर हामीले एक किसिमको रणनीति बनाएका छौँ ।

यस बाहेक यो वर्ष अरु लगानी गर्ने भन्दा पनि भइरहेको कारोवारलाई अगाडि बढाइएको छ । जमानी कर्जालाई घटाएर सहकारीको नम्स अनुसार एकद्वार प्रणालीद्वारा अगाडि बढ्ने र शेयर सदस्यहरुमा आधारित रहेर कारोवार गर्ने लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ ।

३. यस संस्थामा शेयर सदस्य , शेयर पूँजी , निक्षेप , कर्जा लगानी र कारोवार कति छ नि ?

~गएको असार मसान्तसम्म यस संस्थामा शेयर सदस्य ८६६ , शेयर पूँजी रु.१,२४,६२,६०० , बचत  संकलन रु. १४,०३,४५,९१८/७० , कर्जा लगानी तथा सापटी रु. १५,६८,१८,६३६/३८ र कूल कारोवार रु. १७,७१,७४,५४३/३६ रहेको थियो भने चालु आ.व.मा शेयर पूँजी बृद्धि गरी रु २ करोड पु-याउने लक्ष्य  छ ।

४. करुणा साकोसले बचत तथा ऋण कारोवारका अतिरिक्त अरु केहीमा लगानी गरेको छ कि ?

~अहिले हामीले बचत र ऋणको कारोवारको अलवा रोजगारमूलक कार्य पनि गरिरहेका छौँ । केही गर्नुपर्छ भनेर हामीले उत्पादनमूलक काम थालनी गरेका छौँ । त्यस अन्तर्गत केही साना घरेलु उद्योगहरु सञ्चालन गरेका छौँ । कृषि सम्बन्धी काम पनि गरिरहेका छौँ ।

५. यस करुणा साकोसका सञ्चालकहरुले सावुन उद्योग शुरु गर्नु भएको छ भन्ने सुनिएको छ नि ”

~यस करुणा साकोसका हामी सञ्चालकहरु सम्लग्न रहेर पाट्नर्सिपमा एउटा सावुन उद्योग सञ्चालन शुरु रहेका छौँ  । हामीसँग भएको जायजेथा बैंकमा धितो राखी ऋण लिएर हामीले सो उद्योगमा लगानी गरेका छौँ  । यदी सरकारले हामीलाई खुलस्त ढंगले काम गर्न दिएको खण्डमा हामी संस्थागत ढंगबाट पनि लगानी गर्ने छौँ । संस्थागत लगानी गर्न पाएदेखि त्यसलाई अझ सीपमूलक र आयमूलक कार्यमा अगाडि बढाउने थियौँ ।

६. तपाईहरुको यो सावुन उद्योग चाहिँ कहाँ छ ?

~यो उद्योग पहिले ललितपुरको इमाडोलमा थियो । त्यहाँ जनसंख्या बृद्धि भई बस्ती विकास भएको कारणले गर्दा सरकारको नीति नियम अन्तर्गत रहेर हामीले यतिबेला चितवनको खैरेनीमा यो उद्योग सञ्चालन गर्दैछौँ ।

७. त्यो उद्योगमा करुणा साकोसका सञ्चालकहरुको मात्रै लगानी छ कि त्यसमा अरु पनि लगानीकर्ता हुनुहुन्छ ?

~हामी बाहेक यसमा अरु पनि पाट्नरहरु हुनुहुन्छ । काठमाडौं र  चितवनका साथीभाइहरु यसमा पाट्नर हुनुहुन्छ ।

८. उद्योगको अवस्था कस्तो छ ?

~यो उद्योग शुरु भएको २/३ महिना मात्रै भयो । अहिलेको हकमा यसको अवस्था सन्तोषजनक छ ।

९, तपाईहरु सावुन उद्योग , साना घरेलू उद्योग , कृषि लगायतका उत्पादनमूलक तथा रोजगारी सृजना गर्ने भनेर लागिरहनु भएको छ । यसरी लागिरहदा तपाईले कस्तो अनुभूति गरिरहनु भएको छ ? उद्योग सञ्चालन गर्न राज्यले के गर्नु पर्ला ?

~सहकारीले संस्थागत ढंगले या व्यक्तिगत ढंगले जाँदा राम्रो हुन्छ भन्ने लाग्छ ।

उद्योग सञ्चालन गर्नलाई कठिनाई छ , चुनौती पनि छ र उद्योगमा अवसरहरु पनि छन् । ती चुनौती र कठिनाईलाई पार गरेर अगाडि बढ्नको लागि धेरै कुराको खाँचो पर्दछ । मुख्य गरेर  पूँजीको अभाव हुन्छ । सरकारले उद्योगधन्दा सञ्चालन गर्नको लागि केही पूँजीको व्यवस्था गरी दिए हामी अझ अगाडि बढ्न सक्थ्यौँ । उद्योगलाई सफल रुपमा अगाडि बढाउन सक्थ्यौँ । जहाँ अहिले हामीले १०/१५ जनालाई रोजगारी दिएका छौँ भने सरकारको सहयोग हुँदा भोलि ५०/६० जनालाई रोजगारी दिन सक्छौँ ।  ५०/६० जनालाई रोजगारी दिनु भनेको ५०/६० जनाको परिवार आर्थिक रुपमा सबल हुनु हो ।  उत्पादनमूलक कार्य गरी रोजगारी सिर्जना गर्नु नै हाम्रो उद्देश्य हो ।

१०. ललितपुर जिल्लाभरी कार्यक्षेत्र भएकाले यो करुणा साकोस ३.नं. प्रदेश अन्तर्गत रहेको छ । प्रदेश अन्तर्गत रहेर यो संस्था सञ्चालन गर्न तपाईहरुलाई कत्तिको सजिलो भा’छ ?

~सहकारी ऐन , २०७४ लागू भएको धेरै नभएकोले हामी प्रदेशसम्म पुगिसकेका छैनौँ । अहिले चाहिँ सहकारी विभागबाट नयाँ सफ्ट्वेयर प्रणाली पनि शुरु भएको र’छ । हामीलाई त्यो जानकारीमा आएको छ ।  त्यो सफ्टवेयर प्रणाली के रहेछ , कस्तो छ भनेर हामी बुझ्न गइरहेका छौ । त्यो भरखरै शुरु भएकोले त्यसलाई अवलम्बन गर्दै अगाडि जान हामी त्यसको अध्ययनमा छौँ ।

११. यो  करुणा साकोसको वरिपरि अरु पनि सहकारी संस्थाहरु छन् । ती सहकारी संस्थाहरुभन्दा यो करुणा साकोसको फरक विशेषता के छ ?

~अरु सहकारी संस्थाहरु कसरी चलेका छन् , त्यो त मैले हेर्ने कुरा भएन । त्यो उनीहरुको आन्तरिक कुरा हो । हामीले चाहिँ सहकारी ऐन , २०७४ भित्र रहेर यस सहकारीलाई राम्रोसँग सञ्चालन गरिरहेका छौँ ।

१२. सहकारी ऐन , २०७४ लाई त सरकारले नै कार्यान्वयन गरेको देखिएन नि ? यस बारेमा तपाईको धारणा के छ ?

~ हामी भन्छौँ- सहकारी  ऐन – २०७४ का राम्रा बुँदाहरुको कार्यान्वयन हुनुपर्छ । यसका केही कुरा सुधार गर्नु पर्ने पनि देखिएको छ । सहकारी मैत्री हुने गरी यसलाई सुधार गर्नु पर्दछ ।

सरकारले देशको अर्थतनात्रको तीन खम्बामध्येको एक खम्बाको रुपमा सहकारीलाई लिएको छ । एउटा खम्बाको रुपमा सहकारी उभिएको हुनाले यसले देशको अर्थतन्त्रमा टेवा पु-याएको छ । देशको लगभग ६० प्रतिशत जनसंख्याले सहकारीसँग जोडिएर कारोवार गरिरहेको देखिएको छ ।

१३. तपाईले देशको लगभग ६० प्रतिशत जनसंख्या सहकारीसँग जोडिएर कारोवार गरिरहेको बतानुभयो तर देशको अर्थतन्त्रको अरु दुई खम्बाको तुलनामा सहकारी कमजोर छ भनिन्छ नि ?

~मेरो बुझाईमा बैंकहरु तथा ठूला वित्तीय क्षेत्रहरुको आधारमा सहकारीलाई हेर्ने दृष्टिकोण मात्रै कमजोर हो । एउटा बैंकमा २/३सय सदस्य हुन गाह्रो हुन्छ तर सहकारी संस्थाले ८०० या त्यो माथि सदस्यहरु बनाउन सक्छ । ती सदस्यहरुबाट बचत संकलन गरी उनीहरुको दक्षता र क्षमताको आधारमा लगानी गर्न पाउने हो भने वातावरण र आधार दिने हो भने सहकारी अर्थतन्त्रको तीन खम्बामध्येको पहिलो खम्बा बन्न सक्छ भन्ने मेरो बुझाई छ ।

१४. सहकारी नियमावली नआउदा तपाईहरुलाई संस्था सञ्चालन गर्न कत्तिको गाह्रो भा’छ ?

~हामी सहकारी नियमावलीको प्रतिक्षामा छौँ । सहकारी नियमावली आई दियो भने त्यसले हामीलाई कुन – कुन अधिकार दिन्छ , त्यसमा रहेर , त्यसले सहकारी संस्थालाई दिएको अधिकार प्रयोजन गरेर हामी अगाडि बढ्छौँ ।

१५. नेपाल सरकारले  संघीय संसदमा पेश गरेको २०७५/०७६ बजेट बक्तव्यमा सहकारी सूचना केन्द्रको कुरा पनि उल्लेख गरेको थियो तर यतिबेला त्यो चर्चामा छैन । यस बारेमा के भन्नु हुन्छ ?

~सरकारले सहकारी कर्जा सूचना केन्द्र स्थापना गरी दिनु अति जरुरी छ । जहाँ सहकारीले अस्वस्थ प्रतिस्पर्धा गरिरहेको अवस्था छ , यस वीचमा पनि जनताको पैसा सुरक्षित हुनुपर्छ भन्ने हाम्रो भनाई हो । कर्जा सुरक्षा केन्द्र भई दियो भने खराब ऋणीहरुको हातमा कर्जा जान सक्तैन । कुनै पनि मानिसको निधारमा लेखिएको हुदैन कि यो असल या खराव छ भन्ने कुरा । उसको व्यवहार र कारोवारले  ऊ असल छ कि खराब छ भनेर जान्नु पर्ने हुन्छ । जसरी बैंकिङ्ग क्षेत्रमा कर्जा सूचना केन्द्र छ , त्यसैगरी सहकारी क्षेत्रमा पनि कर्जा सूचना केन्द्र हुनु अत्यन्तै आवश्यक छ ।

१६. ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को यही आउदो फागुन १८ गते नयाँ नेतृत्व चयन सहितको २४औँ वार्षिक साधारणसभा हुदैछ । यसले कस्तो नेतृत्व निर्माण गर्दा राम्रो हुन्छ भन्ने लाग्छ तपाईलाई ?

~ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को नयाँ नेतृत्व सहकारीको हित सोचेर , चाहेर काम गर्ने मेहनती , उर्जाशील , सबल र सक्षम    व्यक्तिबाट हुनुपर्छ । जो व्यक्ति यस संघको निम्ति , यसलाई माथि पु-याउन दिलो ज्यान दिएर लाग्नु भा’छ ।

एउटा व्यक्तिले मात्रै सधै नेतृत्वदायी भूमिका खेलिरहनुभन्दा नयाँ व्याक्तिहरुको पनि त्यहाँ आगमन हुनु राम्रो हुन्छ भन्ने मेरो बुझाई हो । यस संघको नयाँ नेतृत्व सहमतीका आधारमा सर्वसम्मत ढंगबाट हुन सकोस् ।

१७. राष्ट्रिय  सहकारी बैंकमा नयाँ नेतृत्व आएको छ । यस बारेमा के भन्नुहुन्छ ?

~राष्ट्रिय हहकारी बैंक लि मा.अहिले नयाँ नेतृत्व आउनु हामी सबैका लागि खुशीको कुरा हो । जसको अध्यक्षमा के.बी. उप्रेतीले अत्याधिक मतले जित्नु भएको छ । राष्ट्रिय सहकारी बैंक लि.मा धेरै वर्षदेखि प्रवन्धकीय जिम्मेवारी सम्हालेर बसेको हुनाले उहाँले सहकारी भनेको के हो ,सहकारीलाई कसरी अगाडि बढाउनुपर्छ र सहकारीलाई कसरी सवल बनाउन सकिन्छ भनेर बुझ्नु भएको छ ।  उहाँको नेतृत्वले यो बैंक अझ सवाल बनाउदै  सहकारी क्षेत्रलाई मजवुत बनाएर लैजान सक्छ भन्नेमा हामी आशावादी छौँ ।

१८. अन्तमा केही भन्नु छ की ?

~नेपाल सरकारले सहकारीका लगानीका क्षेत्रहरु तथा दायराहरु बढाई दियोस् । बचत र ऋण कारोवार गर्ने सहकारीले बचत तथा ऋणको मात्रै कारोवार गर्नुपर्छ भन्दा उसले खुम्चिनु पर्ने हुन्छ । उसको दक्षता , उसको क्षमता र शेयर होल्डरहरुको विश्वसनीयताको आधारमा उर्जाशील , उत्पादनमूलक  तथा रोजगारमूलक क्षेत्रहरुमा पनि सहकारीलाई लगानी गर्ने आधार र वातावरण बनाई दियो भने सहकारीले केही गर्न सक्छ भन्ने हाम्रो बुझाई हो ।धन्यवाद ।

 

 

Leave a Reply