ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको नेतृत्व सर्वसम्मत ढंगबाट चयन गर्न प्रयत्न गरिरहेका छौँ

– रामशरण घिमिरे , अध्यक्ष , ललितपुर      जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

 

रामशरण घिमिरे विगत समयदेखि लामो निरन्तर क्रियाशील सहकारी अभियानकर्मी हुनुहुन्छ । अध्ययनशील , जुझारु , इमान्दार , निष्ठावान र सृजनशील स्वभाबका धनी उहाँले २०६८ सालदेखि ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को नेतृत्व गरिरहनु भएको छ । उहाँको  नेतृत्वमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. देशभरीका उत्कृष्ट जिल्ला सहकारी संघहरुमध्येको व्यवस्थित र बलियो संघको रुपमा खडा भएको छ । आउदो फागुन १८ गते यस संघको २४औँ वार्षिक साधारणसभा सम्पन्न हुदैछ । यो नयाँ नेतृत्व चयन सहितको साधारणसभा भएकोले यतिबेला ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुमा यसको नेतृत्न चयन र भावी कार्यक्रमका बारेमा छलफल भइरहेको छ । यो साधारणसभाको तयारी , यसको  नयाँ नेतृत्व चयन र भावी कार्यक्रम लगायतका विषयमा केन्द्रित रहेर ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामशरण घिमिरेसँग सहकारी सञ्जालले कुराकानी गरेको थियो । प्रस्तुत छ – उहाँसँग गरिएको कुराकानी ।

१. ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वार्षिक साधारणसभाको मिति तय गर्नु भएछ । यसको तयारी कसरी गर्दै हुनुहुन्छ ?

~ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २४औँ वार्षिक साधारणसभा यही मिति २०७५ फागुन १८ गते हुँदैछ । उक्त साधारणसभा नयाँ नेतृत्व चयन गर्ने साधारणसभा भएकोले यसका सबै खाले तयारी भएका छन् । मूलत:यो ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर जिल्लाभित्र भएका सहकारी संस्थाहरुको विकास , प्रवर्द्धन , सम्बर्द्धन र नीति निर्माणको सन्दर्भमा राज्यसँग लविङ्ग गर्ने संघ हो । यसले  एउटा जिल्लाको ऋण बैंकको काम पनि गर्छ । यसले सदस्य सहकारी संस्थाहरुलाई वित्तीय सेवा उपलवब्ध गराउने , विभिन्न विषयका सहकारी शिक्षा , सूचना र तालिम उपलब्ध गराउने र विभिन्न सेमिनार गोष्ठिहरु गर्ने एउटा समृद्ध सहकारी अभियानका निमित्त भूमिका निर्वाह गर्ने  भएको कारणले गर्दाखेरी यो महत्वपूर्ण  देखिन्छ । त्यसलाई सफल पार्नको लागि सबै सरोकारवाला निकाय र मिडीयाकर्मीहरुलाई पनि म आह्वान गर्दछु ।

२. यो साधारणसभाबाट कस्तो खाले  नयाँ कार्यक्रम बनाउदै हुनुहुन्छ ?

~यो ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. अहिले हामी सबै ललितपुरका बचत तथा ऋण सहकारी संस्थाहरुको आर्थिक भरोसाको केन्द्र विन्दुको रुपमा अगाडि बढेको छ । यस सन्दर्भमा यसले करिव रु.५० करोडको हाराहारीमा आर्थिक कारोवार गरेको देखिन्छ भने अबको ४ वर्षभित्र यो संघको करोवार रु.डेड अरव पु-याउने लक्ष्य छ । अबको ४ वर्षभित्र यस सहकारी संघले आफ्नै भवनबाट आफ्ना सदस्यहरुलाई सेवा उपलव्ध गराउने सोच मैले लिएको छु । उक्त सन्दर्भमा यसका सबै सदस्य संस्थाहरुले सकारात्मक सहयोग गर्नु हुनेछ भन्ने मैले आशा एवं  विश्वास लिएको छु ।

३. यो साधारणसभाबाट नयाँ नेतृत्व चयन कसरी गर्दै हुनुहुन्छ ? सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्न कुनै पहल गरिरहनु भएको छ कि ?

~यो ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ वित्तीय कारोवार गर्ने संघ भएकोले यसमा निर्वाचन गर्नु भन्दा पनि सबै पक्षलाई समेटेर आन्दोलनलाई हाक्न सक्ने , यो संघका सदस्य रहेका ५११ वटा सहकारी संस्थालाई समेटेर लाने र यस जिल्लाको सहकारी अभियान र सबै साथीहरुलाई समेटेर लाने मेरो योजना छ । यसमा मेरा सहकारी अभियानका अग्रजहरु र मेरा सहकर्मी साथीहरुले साथ दिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । मैले धेरै सहकारीका साथीहरुसँग छलफल गर्ने क्रममा सर्वसम्मतीको प्रयास तपाई गर्नुस् , हामी सहयोग गर्छौँ भन्नु भएको छ । निर्वाचन नै हुन्छ भन्ने कुरामा भन्दा पनि यसलाई सहमती गरेर एउटा समृद्ध जिल्ला सहकारी अभियानलाई अगाडि बढाउन म प्रतिबद्ध छु । त्यसका निम्ति सबै साथीहरुलाई आह्वान गर्छु । यसमा सहकारीकर्मी , तालुकदार अड्डा र मिडीयाकर्मीहरुलाई यस सन्दर्भमा सहयोग गर्न म अनुरोध गदर्छु ।

४. यस संघले आफ्ना सदस्यहरु बाहेक अरु बचत तथा ऋण सहकारी संस्थाहरुलाई समेट्ने कस्तो योजना बनाएको छ ?

~ ललितपुर जिल्लामा सक्रिय बचत तथा ऋण सहकारी संस्था ५२० वटाभन्दा बढी  छैनन् ।  ती मध्ये ५११ वटा बचत तथा ऋण सहकारी संस्थाहरु यस संघमा आवद्ध छन् । बाँकी ९वटा सहकारी संस्थाहरुलाई पनि यस संघमा आवद्ध गराउने हाम्रो कार्यक्रम छ । यस सहकारी संघमा आवद्ध भएका र नभएका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई सहकारी मुल्य , मान्यता , सिद्धान्तर र आदर्शलाई आत्मसात गरी सुशासनयुक्त संस्था निर्माणका निमित्त हामीले त्यस्ता खालका कार्यक्रम ल्याएका छौँ । अहिलेको सन्दर्भमा राज्यले सहकारी संस्था दर्ता रोक लगाएको छ । सहकारी नियमावली बन्दैछ र सहकारी ऐनमा पनि केही शंसोधन गर्नु पर्ने परिस्थिति छ । कतिपय सहकारी संस्थाहरु त्यत्तिकै देखासिखी , लहड र होडबाजीमा खुलेका कारणले गर्दा समस्या देखिएको छ । सहकारी संस्था देखासिखी र लहडमा खुलिने विषय होइन । आवश्यकतामा खुल्ने सहकारी संस्था जहिले पनि दिगो हुन्छ । देखसिखीमा खुलेका सहकारी संस्थाको टिकाउ हुदैन । सदस्यको पैसा जोखिम हुन सक्छ । त्यस विषयमा हामीले विभिन्न विषयका तालिमहरु गर्ने गर्छौँ । ललितपुर जिल्लाका सबै बचत तथा ऋण सहकारी सस्थाका प्रतिनिधि ज्यूहरु , यसका सञ्चालक समिति , लेखा समितिका संयोजक र सदस्य ज्यूहरुलाई आफ्नो संस्थालाई आवश्यक परेको तालिम वा विषयमा यस संघसँग समन्वय गर्न म अनुरोध गर्दछु ।

५. कतिपय बचत तथा ऋण सहकारी संस्थाहरुको आफूले बचत तथा ऋणको कारोवारका अतिरिक्त उत्पादनमुलक कार्य पनि गर्न पाउनुपर्छ भन्ने आवाज सुनिन्छ । त्यो कत्तिको जायज हो ? यदी त्यो जायज हो भने त्यसलाई व्यवस्थित गर्न यो संघले के गर्दैछ ?

~ यो जायज हो । बचत र ऋणको कारोवार गरेर मात्रै भएन । सदस्यहरुलाई व्यवसायिक बनाउन र उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्नका लागि सहकारी ऐन , २०७४ ले स्पष्ट व्यवस्था गरेको छ । ढोका खोली दिएको छ । आफूसँग मिल्न सक्ने १०/१५ वटा सहकारी मिलेर उत्पादनमा , उर्जाको क्षेत्र लगायतमा  लगानी गर्न पाउने व्यवस्था गरेको छ । त्यसले गर्दाखेरी कानुनी अड्चन पनि छैन । गर्नु पर्ने र हुनु पर्ने  विषयका सन्दर्भमा ऐनमा व्यवस्था भएका कारणले गर्दाखेरी यो  एकदम सजिलो छ । यस जिल्ला संघले यो ऐनमा व्यवस्था गरेको विषयलाई स्वागत गर्दछ ।

५. तपाईले यस संघमा २ कार्यकाल अध्यक्ष भएर काम गर्नुभयो । यस संघमा तपाई अध्यक्ष भएपछि गरिएका उल्लेखनीय कार्य के हो ?

~२०६८ सालमा म यस संघको अध्यक्ष पदमा निर्वाचित भएर आउदा यो सामान्य अवस्थामा थियो । त्यतिखेर यसको आर्थिक कारोवार रु.२५/२६  लाख जति थियो । पहिलो पटक म अध्यक्ष पदमा निर्वाचित भएर यहाँ आएपछि हामीले यसको आर्थिक कारोवार रु. ७ करोड पु-याउन सफल भयौँ । हामीले त्यो बेला राष्ट्रिय स्तरका २ वटा सहकारी समिट गर्न सफल भयौँ । हामीले प्रत्येक महिनामा एउटा तालिम गरायौँ । विभिन्न सहकारी संस्थाहरुको अवलोकन भ्रमण ग-यौँ । त्यसबेला नेपाल राज्यभरी भएका बचत तथा ऋण सहकारी संघहरु मध्येको उत्कृष्ठ संघको पुरस्कार यस संघले पाएको थियो । त्यसपछि पुन:  दोस्रो पटक २०७१ सालमा अध्यक्षमा निर्वाचित भएर यहाँ आएपछि मैले यसको आर्थिक कारोवार रु. ५० करोड पु-याउने  लक्ष्य लिएको थिएँ । मैले यो आफ्नो घोषणा-पत्रमा पनि उल्लेख गरेको थिएँ । मलाई लाग्छ -अहिले हामी त्यो लक्ष्यमा पुग्न सफल भएका छौँ । यो लक्ष्य पुरा गर्न सहयोग गर्नु हुने सम्पूर्ण सहकारीकर्मी साथीहरु र कर्मचारी मित्रहरुलाई म धन्यवाद दिन चाहन्छु । यो बेलामा हामीले एउटा राष्ट्रिय स्तरको सहकारी समिट सम्पन्न गर्न सफल भयौँ । सहकारी ऐन निर्माणका सवालमा हामीले महत्वपूर्ण भूमिका खेल्न सफल भयौँ । मूलत: अज्ञानताका कारणले सहकारी संस्थाहरुमा समस्या देखिएको निश्कर्ष सहित हामीले प्रत्येक महिनामा एउटा तालिम अनिवार्य रुपमा गर्छौँ ।

यस जिल्लाको सहकारी अभियानलाई समृद्ध बनाउनको लागि र यो जिल्लामा भएका सहकारी संस्थाहरुको विकास , प्रवर्द्धन , सम्वर्द्धन र नीति निर्माणका सन्दर्भमा राज्यसँग पैरवी र पहल कदमी गर्ने जस्ता कामहरु हामीले म अध्यक्ष भएको पहिलो र दोस्रो कार्यकालमा सम्पन्न  गर्न सफल भएका छौँ । यस संघको अध्यक्ष हुँदाको मेरो दोस्रो कार्यकालको समयमा नेपाल राज्यभरी रहेका विषयगत संघहरुमा मात्रै होइन , देशका सबै संघहरुमध्ये हाम्रो यो ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले राष्ट्रिय सहकारी महासंघ लि.बाट  उत्कृष्ठ संघको पुरस्कार पाउन सफल भएको छ । यसका लागि म  राष्ट्रिय सहकारी महासंघ लि.र सम्पूर्ण सहकारी अभियानका आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद दिन चाहन्छु ।

६. सहकारी ऐन , २०७४ अनुसार संघ , प्रदेश र स्थानीय तहहरुमा गएक सहकारी संस्थाहरु मध्ये  विशेष गरी प्रदेश तहमा गएका सहकारी संस्थाहरुले अलि बढी दु:ख पाएको भन्ने सुनिएको छ । ललितपुर जिल्लाका  प्रदेश तह अन्तर्गतका सहकारीलाई व्यस्थापन गर्न तपाईहरुले के पहल गर्दै हुनुहुन्छ ?

~सहकारी अभियान संक्रमणकालीन अवस्थाबाट गुज्रिएको छ । हिजो डिभिजन सहकारी कार्यालय थियो । पहिला एउटा मात्रै सरकार थियो । देश संघीय संरचनामा गएका कारण अहिला तीन तहका सरकारहरु छन् । त्यस्तै सहकारीमा पनि कार्यक्षेत्रका आधारमा स्थानीय तह , प्रदेश र संघमा जाने व्यवस्था गरिएको छ । एउटा स्थानीय तहमा कार्यक्षेत्र हुने सहकारीलाई सोही स्थानीय तहको सहकारी शाखाले हेर्ने , एउटा स्थानीय तह र अर्को स्थानीय तहसँग कार्यक्षेत्र जोडिएको सहकारीलाई प्रदेश तहको सहकारी कार्यालयले हेर्ने र एउटा प्रदेश र अर्को प्रदेशमा कार्यक्षेत्र  जोडिएको सहकारीलाई संघीय सहकारी कार्यालयले हेर्ने अवस्था  छ । अहिले संघीय सहकारी नियमावली र प्रदेश सहकारी ऐन पनि बनी नसकेको अवस्था छ । स्थानीय सहकारी ऐन पनि सबै ठाउँमा बनी नसकेको सन्दर्भमा अलिकति केही समस्या देखिनु स्वभाविकै हो । देश संघीयतामा गई सकेकोले कि त यसलाई मान्दिन भन्नु परो । संघीयता मान्ने भएपछि यी समस्याको समाधानको खोजी गर्नुपर्छ । फेरि अहिले त प्रविधिको जमाना छ । त्यहीँ जानुपर्छ भन्ने छैन । सहकारीका आफ्ना गतिविधि र साधारणसभा भएको जानकारी हामी ईमेल मार्फत पनि पठाउन सक्छौँ । शुरुको अवस्था भएकोले अलिकति समस्या देखिएको हो । देश पनि संक्रमणकालीन अवस्थाबाट गुज्रिएको कारणले गर्दा त्यस्तो भएको हो । केही समयमा यो व्यवस्थित हुदै आएपछि यो समस्या होला जस्तो मलाई लाग्दैन ।

७.. त्यसलाई व्यवस्थित गर्न यो संघले के गर्दैछ ?

~त्यसका लागि हामीले सहकारी विभाग , प्रदेश सहकारी कार्यालय र स्थानीय सहकारी शाखाका प्रतिनिधि ज्यूहरुसँग बसेर कसरी सर्वसुलभ ढंगबाट सहकारी संघ/संस्थाहरुलाई नियमन गर्न सकिन्छ र जिल्ला संघहरुले अनुगमनको कार्यविधि कसरी बनाउने भनेर छलफल गर्ने सोच र कार्यक्रम पनि छ । निर्वाचन पश्चात तत्कालै मैले छलफल आयोजना गर्ने योजना बनाएको छु ।

८. सहकारी विभागले कोपोमिस कार्यक्रम लागू गरेको बताएको छ । तपाईको बुझाईमा कोपोमिस कार्यक्रमका सजिला र अफ्ठ्यारा के रहेछन् ?

~कोपोमिस कार्यक्रम सहकारी संघ/संस्थाहरुका लागि आवश्यक विषय हो तर यसका प्राविधिक विषयहरुमा हामी , सहकारी विभाग , राष्ट्रिय सहकारी महासंघ , विषयगत केन्द्रीय संघहरु र जिल्ला संघहरुले अलि बढी चासो दिएपछि र सबैलाई त्यो विषयमा ट्रेनिङ दिए पछि यसलाई लागू गर्न ससज हुन्छ।  प्राय:जसो सहकारीका कर्मचारीलाई यो कोपोमिसका बारेमा थाहा छैन ।

यसको विषय के हो भने – सहकारीका सबै कुराहरु एक ठाउँमा जम्मा हुन्छन् । चाहेको बेलामा यसलाई हेर्न र बुझ्न सकिन्छ भनेर त्यो कोपोमिस लागू गरिएको हो । मेम्बर डुव्लिकेशन नहोस् भन्ने  परिकल्पनाका साथ पनि त्यो त्यसमा राखिएको छ । त्यो बुझाउनको लागि सहकारी विभाग , प्रदेश सहकारी कार्यालय , स्थानीय सहकारी शाखा , राष्ट्रिय सहकारी महासंघ , विषयगत केन्द्रीय संघहरु र जिल्ला संघहरुको भूमिका भएपछि मात्रै यसलाई राम्रोसँग कार्यानावयन गर्न सकिन्छ ।

९.. त्यस विषयमा यस संघले के गर्दैछ ?

~कोपोमिसको सन्दर्भमा त्यस्तो कुरा त हामीले केही गरेका छैनौँ । सबै सहकारीहरुलाई एक ठाउँमा ल्याउन र कोपोमोमिसमा आवद्ध गराउनको लागि सरकारका सबै निकायहरुले कसरी सर्वसुलभ ढंगबाट प्रशिक्षण दिन सकिन्छर त्यसका बारेमा बुझाउन सकिन्छ भनेर ठोस योजना बनाउनु जरुरी छ । त्यसमा राज्य र सहकारी अभियानको भूमिका सँगसँगै जानुपर्छ । त्यसरी नजादा यो सहज रुपमा कार्यान्वयनमा आउन सक्ने अवस्था देखिदैन । यसका लागि राज्य र सहकारी अभियानको बराबर भूमिका हुनुपर्दछ ।

१०. सहकारी ऐन , २०७४ मा उल्लेखित करका विषय नेपाल सरकारको २०७५/०७६ को  आर्थिक विधेयकमा नआएपछि तपाईहरु आन्दोलित हुनु भएको थियो । अहिले त्यो आन्दोलन कता पुग्यो ?

~सहकारी अभियानको लामो संघर्षपछि बल्ल २०७४ कार्तिक १ गते यो सहकारी ऐन , २०७४ आयो ।  त्यसमा सहकारी मैत्री केही व्यवस्थाहरु पनि गरिएका छन् र नियन्त्रणमुखी काम पनि भएको छ । ऐन आफैमा शंसोधन नहुने कुरा होइन । संविधान त शंसोधन हुन सक्छ भने ऐन त शंसोधन हुन सक्ने विषय हो ।

जहाँसम्म व्यवस्थापिका-संसदले स्पष्ट रुपमा महानगरपालिका , उप-महानगरपालिका , नगरपालिका र गाउँपालिका अन्तर्गतका सहकारी संस्थाहरुका लागि करको दर क्रमश : १०,७,५ र० प्रतिशत कायम गरेको थियो । व्यवस्थापिका संसदले पारित गरेको त्यो ऐनलाई नेपाल सरकारको आर्थिक विधेयकले त्यो व्यवस्था गर्नु पर्दथ्यो । करको विषय आर्थिक विधेयकले गाइड गर्नु पर्ने रै’छ । त्यो विषयमा नेपाल सरकारका अर्थमन्त्री ज्यू चुक्नु भएको हो। त्यसमा हाम्रो साह्रै ठूलो गुनासो रहेको छ। उहाँलाई हामी सहकारी मैत्री अर्थमन्त्री पनि भन्थ्यौँ । उहाँलाई हामीले भेट्यौँ । उहाँले यो मेरो गल्ती भयो , यसलाई म करेक्सन गर्छु भन्नुभएको छ । यो आन्दोलनभन्दा पनि गर्नु पर्ने विषय भनेर अर्थमन्त्री ज्यूले बुझ्नु आवश्यक छ । उहाँले यसलाई आर्थिक वर्ष २०७६/०७७ मा कार्यान्वयन गर्छु भनेको मैले सुनेको छु । देशको अर्थमन्त्रीबाट ब्यक्त भएको प्रतिवद्धता पूरा होला जस्तो लाग्छ ।

११. सहकारीलाई राज्यको अर्थतन्त्रका तीनवटा खम्बामध्येको एउटा खम्बा मानिएको छ तर सहकारी अरु दुई खम्बाको तुलनामा कमजोर छ पनि भन्ने गरेको सुनिन्छ । तपाईको विचारमा यसलाई बलियो बनाउन के गर्नु पर्ला ?

~सहकारी कमजोर खम्बा होइन । यो शसक्त खम्बा हो । आज पनि यो मुलुकमा ६५ लाखभन्दा बढी मानिसहरु यसमा आवद्ध छन् । जहाँ ५१.७० प्रतिशत महिलाको सहभागिता छ । रु. साँढे छ खरव पूँजी परिचालन यस क्षेत्रले गरेको छ । तीन लाख हाराहारीको जनशक्तिलाई यसले रोजगारी दिएको छ । आज राज्य पुग्न नसकेको ठाउँमा सहकारी अभियान पुगेको छ । त्यहाँ राज्यले गर्नु पर्ने काम सहकारीले गरेको छ । बैंक तथा वित्तीय संस्थामा नागरिकको पहुँच १५ देखि २० प्रतिशत मात्रै छ । बाँकी ७०-८० प्रतिशत नागरिकलाई वित्तीय सेवा दिने निकाय भनेको सहकारी नै हो । कसरी यो कमजोर भयो ? राज्यको हेर्ने दृष्टकोण चाहिँ कमजोर भयो यहाँ नेरी । यो कुनै पनि कष्ट्मा कमजोर छैन । त्यसैले हामी के भन्न चाहन्छौँ भने- सबभन्दा बलियो संगठन , सबभन्दा आवश्यक संगठन र सबभन्दा मजबुत संगठन हो सहकारी । यो हामीले प्रमाणित गरेर देखाई सकेका छौँ ।

११. अन्तमा केही भन्नु छ कि ?

~सहकारी आफैमा एउटा  महत्वपूर्ण अभियान हो । यस अभियानमा फुटेर हैन जुटेर जानु पर्ने परिस्थिति छ । सहकारीभित्र राजनीतिक गन्ध दिनु हुदैन भन्ने मान्यता म  बोक्तछु । सहकारीभित्र विशुद्ध सहकारीको सिद्धान्त र ७ वटा कलरको आधारमा अगाडि बढ्नु पर्दछ । त्यसको निम्ति  यस ललितपुर  जिल्ला बचत तथा ऋण सहकारी संघको यो साधारणसभा सफल पार्नको लागि सबै सरोकारवालाहरुलाई म हार्दिक अनुरोध गर्न चाहन्छु  । यसको नेतृत्व सर्वसम्मत ढंगबाट चयन गर्नको निम्ति भूमिका निर्वाह गर्नको लागि म सबै पक्षलाई अनुरोध गर्न चाहन्छु । धन्यबाद ।

 

Leave a Reply