CREDIT RISK MANAGEMENT IN NEPALESE COOPERATIVE SOCIETIES पुस्तक सहकारी जोखिम बुझ्ने सन्दर्भ सामाग्री हुनेछ

-डा. ज्ञानेन्द्रप्रसाद पौडेल
सहकारी विज्ञ
सहकारी क्षेत्रको अध्ययन , अवलोकन र अनुसन्धान गरिरहनु भएका सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेलका सहकारी संवाद , सहकारी सञ्जाल लगायतका विभिन्न पत्रपत्रिकाहरुका साथै स्वदेशी तथा विदेशी विभिन्न जरनलहरुमा विशेष गरी सहकारी क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण लेख , रचना तथा अन्तर्वार्ताहरु प्रकाशित भएका छन् । भारतको सिंघानीया विश्वविद्यालयबाट Credit Risk Management in Nepalese Cooperative Societies विषयमा विद्यावारिधि गर्नु भएका डा. पौडेल सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्रियतापूर्वक लागिरहनु भएको छ । उहाँले सहकारी क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै गएको पुस २१ र २२ गते राजधानीमा सम्पन्न भएको राष्ट्रिय सहकारी बैंक लि. को १५औं वार्षिक साधारणसभाबाट उहाँलाई ‘सहकारी विद्वत पुरस्कार’ प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी गएको पुस २९ गते राजधानीमा नै सम्पन्न नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को छैटौँ वार्षिक साधारणसभाको अवसरमा पनि उहाँलाई सम्मान गरिएको थियो । राष्ट्रिय सहकारी बैंक लि.को १५औँ वार्षिक साधारणसभाको अवसरमा उहाँद्वारा लिखित CREDIT RISK MANAGEMENT IN NEPALESE COOPERATIVE SOCIETIES नामक पुस्तक विमोचन गरिएको थियो ।
ने.रु.५७५ मूल्यको सो पुस्तक लगायतका विषयमा केन्द्रित रहेर सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले उहाँसँग कुराकानी गर्नु भएको थियो । सो कुराकानीको संम्पादित अंश प्रस्तुत गरिएको छ ।
१. तपाई हालै राष्ट्रिय सहकारी बैंक लि. तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.बाट सम्मानित हुनुभयो । यसरी सम्मानित भएपछि तपाईलाई कस्तो अनुभूति भइरहेको छ ?
~ खासै त्यस्तो अनभूति त केही भा’छैन तर पनि त्यसले जिम्मेवारी बढेको जस्तो महशुस गरेको छु । सहकारी क्षेत्रमा केही गर्नुपर्दछ । नेपालको सहकारी अभियानमा केही न केही अझ बढी योगदान गर्नु पर्दछ भन्ने जिम्मेवारी वोध भएको अनुभूतिको रुपमा मैले यसलाई लिएको छु ।
२. हालै सम्पन्न राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभाको अवसरमा तपाईले लेख्नु भएको CREDIT RISK MANAGEMENT IN NEPALESE COOPERATIVE SOCIETIES नामक पुस्तक विमोचन भएको थियो । तपाईले यो पुस्तक लेखनको आधार केलाई बनाउनु भएको छ ?
~ वास्तवमा पुस्तकहरु बजारमा धेरै आउने गर्छन् । पुस्तकले कुन स्तरको खुराक प्रदान गर्छ भनेर हेर्ने र त्यो अनुसार नै हामी पाठकहरुले पुस्तक चयन गर्ने हो ।
जहाँसम्म मेरो पुस्तक CREDIT RISK MANAGEMENT IN NEPALESE COOPERATIVE SOCIETIES सोधमा आधारित छ । मेरो आफ्नो विद्यावारिधिको सोधसँग सम्बन्धित कुराहरु पनि मैले यसमा संक्षिप्त रुपमा पस्किने प्रयत्न गरेको छु । विशेष गरी यो पुस्तक नेपालको सहकारी क्षेत्रमा जोखिमको पाटोबाट हेर्दा खेरी के छ त वास्तविकता , अहिलेको अवस्था के हो , सहकारी क्षेत्रले कस्ता खालका जोखिमहरुको सामना गरिरहेको अवस्था छ , यो जोखिमबाट मुक्त हुनको लागि नियमनकारी निकायले कसरी जानु पर्दछ र सहकारी संस्थाहरुले के कस्तो उपायको अवलम्वन गर्न सक्छन् र गरेर जानु पर्दछ भन्ने कुरालाई यस पुस्तकमा संक्षिप्त रुपमा उल्लेख गरिएको छ । मूल रुपमा भन्नुपर्दा यो सोधमा आधारित र जोखिम व्यबस्थापनसँग सम्बन्धित छ । मलाई लाग्छ कि यो पुस्तक नेपालको सहकारी क्षेत्रको पहिलो पुस्तक हो साथै नेपालकै वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनसँग सम्बन्धित विषयको पनि सोधमा आधारित यो पहिलो पुस्तक हो । सबै सहकारीकर्मीहरुले पढ्नु पर्ने पुस्तक हो यो ।
भाषागत कारणले भने यसमा केही समस्या पर्न सक्ला कि ! हो ,यो पुस्तक नेपाली भाषामा आउनु पर्थ्यो । त्यो हुँदा यो अझैं प्रभावकारी बन्न सक्थ्यो होला । त्यसबाट लाभ लिन सकिन्थ्यो होला तर मेेेरो समय अभावले त्यो सम्भव हुन सकेन । आगामी दिनमा छिट्टै त्यसलाई नेपाली भाषामा रुपान्तरण गरेर अझ व्यवहारिक हुने ढंगले ल्याउने प्रयत्न गर्ने छु । साथीहरुले समय निकालेर यो पुस्तक पढी दिनु भयो भने सहकारीको जोखिमको बारेमा बुझ्ने यो एउटा राम्रो सन्दर्भ ग्रन्थ हुनेछ ।
३. यो पुस्तकमा तपाईले के विषयलाई फोकस गर्न खोज्नु भएको छ ?
~ नेपालको सहकारी क्षेत्रमा जोखिम कसरी उत्पन्न हुन्छ , के कस्ता कर्जा जोखिमहरु विद्यमान छन् र सहकारी संस्थाले कसरी त्यसलाई व्यवस्थापन गर्ने प्रयत्न गरी राखेको छ भन्ने कुराहरुको सेरोफेरोबाट नै यो पुस्तकमा मैले अलिकती एकेडेमिक ढंगले विषयवस्तुको विश्लेषण गरेको छु । कोरलेसन एनालाइसिस र डिग्रेसन एनालाइसिसको विधि प्रयोग गरी त्यसका धेरै पाटोहरु पस्किन खोजेको छु । । त्यसो हुँदा त्यसमा कतिपय कुराहरु बुुझ्न व्यवहारिक रुपमा कठिनाई पनि हुन सक्ला तर त्यसका बाबजुद पनि नेपालको सहकारी क्षेत्रको लागि यो पुस्तक अत्यन्तै उपयोगी हुन सक्छ भन्ने मैले विश्वास लिएको छु ।
४.एउटा लेखकको हिसावले तपाईलाई यो पुस्तक पढेपछि पाठकले के महशुस गर्ला भन्ने लाग्छ ?
~ यो पुस्तक पढेपछि पाठकले केही कुराहरु अवश्य पनि फिल गर्नु हुन्छ होला भन्ने मलाई लाग्छ । पहिलो कुरा त सहकारीलाई कुन कोणबाट हेर्नु पर्दछ , सहकारी संस्था सञ्चालन गर्ने विधि र प्रक्रिया कसरी अवलम्बन गर्नु पर्दो रहेछ र हामी कहाँ छौँ भन्ने बारेमा साथीहरुले पुनर्विचार गर्नु हुन्छ भन्ने लाग्छ । दोस्रो कुरा त विशेष गरी मनिटरिङ्ग गर्ने नियामक निकायहरुले पनि सहकारी संस्थाहरुको स्ट्याटस के रहेछ र अब कस्तो खालको मेकानिजम डेभलप गर्ने र कसरी अगाडि जानु पर्दछ भन्ने बारेमा पनि मनिटरिङ्गका साथीहरुले त्यो किसिमले सोच्नु हुनेछ र सहकारी संस्थाहरु कसरी जोखिम रहित ढंगले या न्युन जोखिममा सञ्चालन गर्न सकिन्छ र सदस्यलाई बढी सेवा दिन सकिन्छ भन्ने बारेमा नै साथीहरुलाई यो पुस्तकले त्यो खालको ज्ञान र एस्पिरेशन दिने छ ।
५. तपाईलाई यो पुस्तक लेख्ने प्रेरणा कसरी प्राप्त भयो ?
~ वास्तवमा , धेरै अगाडिदेखि मलाई एउटा पुस्तक लेखूँ र बजारमा ल्याऊँ भन्ने चाहना थियो । विशेष गरी मलाई सहकारी क्षेत्रमा आउनको लागि प्रेरित गर्ने , यो क्षेत्रमा एकेडेमिक ढंगबाट लाग्नुपर्छ भनेर म क्याम्पस पढाई रहेको मान्छेलाई प्रेरणा प्रदान गर्नु हुने मेरो आफ्नै सहोदर दाजु गोविन्दप्रसाद शर्मा पौडेललाई पहिलो क्रेडिट दिन्छु । उहाँको प्रेरणाले नै म सहकारी क्षेत्रमा लागेँ । यस क्षेत्रको अध्ययन , अनुसन्धानमा लाग्ने ,तथा पुस्तक प्रकाशन गर्ने सम्मको मोटिभेसन फ्याक्टरको रुपमा लाग्ने प्रेरणाको स्रोत उहाँ नै हो । त्यस बाहेक सहकारी क्षेत्रमा लागेका तमाम साथीहरु , मित्रहरुको सल्लाह साथै मेरो आफ्नै सहकारी क्षेत्रलाई शुद्धिकरण गरी मुल्य र मान्यताका आधारमा लैजानुपर्छ र सहकारी क्षेत्रमा देखिएका तमाम खाले विकृतिलाई अन्त्य गर्नु पर्दछ र सहकारी मार्फत यो मुलुकमा गरिवी निवारण , रोजगारी सिर्जना , राष्ट्रको आर्थिक विकास र समृद्धिका कुराहरु पहिल्याउन सकिन्छ भन्ने सोच र भावनाले नै मलाई पुस्तक लेख्न अभिप्रेरित ग-यो ।
६. यो पुस्तकको विक्री वितरण कार्य कसरी भइरहेको छ र पाठकले किनेर पढ्न चाहदा यो पुस्तक कहाँबाट पाउन सकिने व्यवस्था गरिएको छ ?
~ धेरै राम्रो प्रश्न गर्नु भयो । यो पुस्तक अंग्रेजी माध्यममा भएको र सोधमा आधारित रहेकोले यो कतिको मार्केटवल हुने हो, त्यो हेर्न बाँकी छ । यदी नेपाली भाषामा भई दिएको भए धेरै हिसावले यो मार्केटमा विक्री हुन्थ्यो होला । धेरै साथीहरुले खोजेर पढ्नु हुन्थ्यो होला । यसबेला त्यस्तो हुन सकेको छैन तर पनि जो जो साथीहरुको एक्सेस छ , उहाँहरुले यसलाई अवश्य पढ्नु हुनेछ भन्ने लागेको छ ।
तत्काल राष्ट्रिय सहकारी महासंघ लि. को पुस्तक विक्री केन्द्र , काठमाडौंको महाबौद्धमा रहेको नेपाल मर्चेन्ट को-अपरेटिभ लि. बालाजु चोकमा रहेको इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि. , वनस्थली र स्वयम्भू वीचको अन्नपूर्ण चोकमा रहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. र भोटाहिटीमा रहेको काठमाडौं बुक सेन्टरबाट किनेर यो पुस्तक पढ्न सकिने व्यवस्था गरिएको छ ।
६. प्रसङ्ग बदलौँ है । सर , तपाई सहकारी क्षेत्रको विज्ञ हुनुहुन्छ । सहकारी क्षेत्रको अध्ययन , अनुसन्धान गरिरहनु भएको छ । तपाईको विचारमा सहकारी क्षेत्रका कमी कमजोरी के हुन् जस्तो लाग्छ ? सहकारी राज्यको अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्वा हो भनिन्छ अनि अरु दुई खम्बाको तुलनामा यो अलि कमजोर छ पनि भनिन्छ । यसलाई अरु दुई खम्बा जतिकै बलियो बनाउन के गर्नु पर्ला ?
~ समग्र सहकारी अभियान र सहकारी अभियान्ताको मुख्य च्यालेन्जको विषय पनि यही छ । सहकारी तथा सहकारी बैंकलाई मुलुकको अर्थतन्त्रको तीन मध्येको एक खम्बाको रुपमा राज्यले स्वीकार गरी सकेको अवस्था छ । त्यसो भएको हुनाले यसलाई एउटा वलियो खम्बाको रुपमा स्थापित गर्नु आवश्यक छ । एउटा खम्बा या पिलर कमजोर भयो भने एउटा घरको समग्र स्टक्चर बवियो बनाउन सकिदैन । त्यसैगरी राष्ट्रको अर्थतन्त्र बलियो बनाउन पनि तीन वटै खम्बालाई बलियो बनाउनु नै आजको आवश्यकता हो ।
स्वभाविक रुपमा हामी सबैले महशुस गरेको र देखेको यथार्त कुरा के हो भने अरु दुईवटा खम्बाको तुलनामा तेस्रो खम्बा या सहकारी क्षेत्रले राज्यलाई पु-याइरहेको योगदान अहिलको अवस्थामा न्युन नै छ । त्यस अर्थमा हामीले अब सहकारीलाई संख्यात्मक रुपमा नभई गुणात्मक रुपमा अगाडि लानु पर्दछ ।
राज्यले आर्थिक विकासको क्षेत्रमा , रोजगारीको सिर्जना गर्ने कुरामा , गरिवी न्युनिकरणको क्षेत्रमा र भ्यालुचेन्जको कुरामा विशेष ध्यान दिनु पर्दछ । कृषकले उत्पादन गरेका बस्तुहरुलाई उपयुक्त मुल्य उपलब्ध गराउने शिलशिलामा सहकारी संस्थाहरुले काम गर्नुपर्छ । त्यति मात्र होइन , सहकारी संस्थाहरुले जुन स-साना काम गरिरहेका छन् , त्यसलाई जोड्नु आजको आवश्यकता हो । त्यसरी ग-यौं भने स्थानीय तहमा जुन खालका स्रोत र साधनहरु छन् । त्यसको वेगाहमा खाली भइरहेको हाम्रो श्रम शक्ति छ । अन्य स्रोत र साधन छन् । त्यो एउटा श्रम शक्तिले त्यो खाली भइराखेको स्रोत र साधनलाई सदुपयोग गरेर त्यसलाई राष्ट्रिय अर्थतन्त्रको जगको रुपमा राख्न सक्छौँ । एकातर्फ स्वरोजगार सिर्जना हुन सक्छ भने अर्कोतर्फ हाम्रो आवश्यकताका क्षेत्रका बस्तुहरु यहीँ उत्पादन गर्न सक्ने प्रचुर सम्भावना छ । आजको मितिमा बाहिरबाट हामीले अर्वौं रुपैया बराबरको आयात गर्नु परिरहेको अवस्थामा आयातलाई कम गर्ने , आयातलाई प्रतिस्थापन गर्ने र निर्यात गर्ने ढंगले सहकारी संस्थाहरु अब उत्पादनमा लाग्नुपर्छ । उत्पादनमुखी हुनुपर्छ । त्यसमा राज्यले पनि त्यत्तिकै योगदान गर्नु जरुरी छ । आजको दिनसम्म राज्यले सहकारी क्षेत्रलाई राज्यको तेस्रो पिलरका रुपमा स्थापित गरो भनिए पनि व्यवहारत: राज्यले सहकारी क्षेत्रको उत्थान र विकासको लागि उल्लेखित केही गर्न सकेको अवस्था छैन । त्यसो हुनाले सहकारी क्षेत्रको प्रवर्द्धनका लागि र सहकारी क्षेत्रको योगदान स्वतन्त्र रुपमा बढाउनको लागि राज्यको भूमिका पनि बृद्धि हुनुपर्छ । सहकारीलाई कसरी बलियो बनाउन सकिन्छ , कसरी सहकारी क्षेत्र मार्फत जान सकिन्छ र कसरी बजार सुनिश्चित गर्न सकिन्छ भन्ने बारेमा राज्य , सहकारी अभियान्ता र सहकारी अभियान सँगसँगै जानु पर्ने आवश्यकता छ । हामी त्यसरी गयौं भने अबको केही वर्षमा सहकारीको योगदानलाई यो मुलुकमा अहिले भएको जी.डी.पी.मा ४ प्रतिशतको कन्ट्रिव्युसनलाई बढाएर दोब्बर पार्न सकिन्छ । झण्डै २ अंकको डीजीट कन्ट्रिव्युसन बनाउने गरी हामी जानुपर्छ । हामीलाई एक दशक लाग्ला तर सहकारी क्षेत्रको भविष्य उज्वल छ । सहकारी क्षेत्रमा देखिएका धेरै कमी कमजोरीहरुलाई राज्य स्तर र नीतिगत लेवलबाट व्यवहारिक हिसावले निमिट्यान्न पारेर र सुल्ट्याएर लानु आजको आवश्यकता हो । त्यसो गर्न सकियो भने तपाईले भने जस्तै सहकारी , जुन तेस्रो खम्बा या तेस्रो आयाम हो , लाई हामी बलियो पार्न सक्छौं । सहकारी क्षेत्रले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
७.अन्त्यमा केही भन्नु छ कि ?
~ खास गरीकन अहिले पनि ट्रान्जिसनल फेजको अवस्था हो किनभने यसबेलासम्म पनि सहकारी नियमावली आउन सकिरहेको छैन । हामी संघीय संरचनामा गइरहेका छौँ । संघीय संरचनामा सहकारीलाई कसरी व्यवस्थित गर्ने भन्ने खाका प्रस्तुत गरेता पनि त्यसले व्यवहारत: मूर्त रुप लिन सकिरहेको छैन । कतिपय पालिका स्तर र प्रदेश स्तरमा सहकारी मैत्रीभन्दा पनि सहकारीलाई संकुचन गर्ने खालका नीति , नियम , ऐन तथा नियमावली बनाउनु पर्दछ भन्ने आवाजहरु पनि उठेका छन् । केही साथीहरु , त्यसमा पनि विशेषत: व्युरोक्र्यासीका केही साथीहरुमा , सहकारीलाई एउटा सानो स्केलमा नै सिमित गर्नु पर्दछ , सहकारीको अघि बढिरहेको अवस्थालाई नियन्त्रण गर्नु पर्दछ , रोक्नु पर्दछ भन्ने खालको सोच पनि देखिने गरेको छ । यसलाई सच्याएर अगाडि बढ्नु पर्दछ । अब सहकारीलाई रोक्ने हैन कि विश्वमा देखिएका नवीन प्रविधिहरुलाई आत्मसाथ गर्दै सहकारीलाई आम जनताको जीविकोपार्जन गर्ने माध्यमको रुपमा पनि स्थापित गर्नु पर्दछ । सहकारीमा चेक भुक्तानी , कर्जा सूचना केन्द्र जस्ता नयाँ – नयाँ प्रविधिहरुको आत्मसाथ गर्दै अगाडि बढ्नु पर्दछ । कतिपय साथीहरुले एकल प्रयास या संस्थागत प्रयासमा सहकारीमा प्रविधिको प्रयोग गरिरहनु भएको छ । सहकारीकर्मीहरुको एकल प्रयासमा एटीएम मेसिनहरु लगायतका प्रविधिबाट सहकारीमा धेरै कामहरु भएका छन् । यिनीहरुलाई समग्रमा मूर्त रुप दिनको लागि राज्य र सहकारी अभियानको नेतृत्वदायी निकाय राष्ट्रिय सहकारी महासंघको तर्फबाट यसमा आवश्यक भूमिका निर्वाह गर्नु पर्दछ । त्यसरी जान सकियो भने सहकारी क्षेत्रमा हामीले धेरै फड्को मार्न सक्ने सम्भावना रहन्छ ।