१६ वर्ष मुनिका वालिका बलात्कारीलाई फासीको सजाय हुनुपर्छ _ पुष्पा भुषाल

नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतमले राज्यले वालिकाको सुरक्षाको माग गर्दै १६ वर्ष मुनिका वालिका बलात्कारीलाई फासीको सजायको व्यवस्था गर्नु पर्ने बताएकी छन् । संघीय संसदको प्रतिनिधिसभाको हिजो बसेको बैठकमा बोल्दै सांसद भुषालले सो कुरा बताएकी हुन् । अधिबक्ता समेत रहेकी सांसद भुषाल सहितका केही सांसदहरुले सरकारले कञ्चनपुरकी वालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे भने सोही बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले कञ्चनपुरकी वालिका निर्मला पन्तलाई प्रतिपक्षी दल र मानव अधिकारकर्मीहरुले मागी खाने भाडो बनाएको बताए ।
सो बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वभोमसत्ता सम्पन्न देश भेनाजुयलाका अत्यधिक मतबाट जननिर्वाचित राष्ट्रपति निकोलस माडुरोलाई अमेरिका र उसका सहयोगी देशहरुले हस्तक्षेप गरी सत्ताबाट हटाउन खोजेकोप्रति विरोध गर्दै यस विषयमा नेपाल सरकारको प्रष्ट धारणा आउनु पर्ने माग गरे तर विपक्षी केही सांसदले भने भेनेजुयलाका राष्ट्रपति मडुरोलाई नेपाल सरकारले समर्थन गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
सो बैठकमा सांसदहरुले कञ्चनपुरकी वालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेको लगायतका विषयमा सोधेको प्रश्नको गृहमन्त्री रामबहादुर थापाले टालपुले जवाब दिएका थिए । उनले राज्यले ९५ प्रतिशत आपराधिक घटनालाई कारवाही दायरा ल्याएको तर निर्मला पन्तको हत्या सहितका ५ प्रतिशत आपराधिक घटना कारवाहीको दायरामा ल्याउन बाँकी रहेको र त्यसका लागि पनि राज्यले अनुसन्धान जारी राखेको बताए ।