गाम्चा साकोसले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रम सन्तोषजनक छ र यस सहकारी संस्थाले मखमली र सयपत्रीका विरुवा नि:शुल्क वितरण गर्दैछ

293 Shares

– विकाश खड्का , अध्यक्ष , गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. , सुर्यविनायक नगरपालिका – ४ , गाम्चाचोक ,भक्तपुर

विकाश खड्का अध्ययनशील , सिर्जनशील  र  लगनशील सक्रिय युवा सहकारी अभियानकर्मी हुनुहुन्छ । उहाँले देश तथा विदेशमा भएका सहकारी सम्बन्धी तालिमहरुमा सक्रिय सहभागिता जनाउदै आउनु भएको छ । उहाँको नेतृत्वमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. ले भक्तपुर जिल्लाका उत्कृष्ट सहकारी संस्थाहरु मध्येमा आफूलाई उभ्याएको छ । सो संस्थाले बचत तथा ऋण कारोवारका अतिरिक्त लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ । गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. को गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सहकारी सञ्जालले उहाँसँग कुराकानी गरेको थियो । जो तल प्रस्तुत गरिएको छ ।

 

१. आजकाल यो गाम्चा साकोसको गतिविधि  के छ  ?

~ यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को दशौँ वार्षिक साधारणसभाले पारित गरेका कार्यक्रमहरुलाई हामी क्रमिक रुपमा गर्दै गइरहेका छौँ ।

२. यतिबेला कार्यान्वयन भइरहेका कार्यक्रमहरु के के हुन् ?

~ एक दिवसीय सहकारी अन्तरक्रिया लगायतका  सहकारी शिक्षा कार्यक्रम तथा निकट भविष्यमा  सम्पन्न सम्पन्न हुने  स्वास्थ्य शिविर , बनभोज कार्यक्रम लगायत छन् ।

३. यस संस्थाका शेयर सदस्य , शेयर पूँजी , निक्षेप , कर्जा र कूल कारोवार कति छ ?

~ हाम्रो यस संस्थामा शेयर सदस्य २५०० , शेयर पूँजी रु.१,५०,००,००० , बचत (निक्षेप) रु.८,५०,००,००० , कर्जा लगानी रु. ८,००,००,००० र कूल कारोवार रु. १२,००,००,००० रहेको छ ।

४. यस गाम्चा साकोसले बचत तथा ऋण कारोवारका अतिरिक्त अरु के लाई फोकस गरेको छ ?

~ यस गाम्चा  बचत तथा ऋण सहकारी संस्था लि. को उद्देश्य बचत तथा ऋण कारोवार मात्र नभई बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक स्तरलाई माथि उठाउने आयमूलक क्षेत्रमा उनीहरु लागुन भन्ने भन्ने उद्देश्यका साथ विशेष गरी कृषि , पशुपालन , कुखुरा पालन लगायतलाई महत्वका साथ अगाडि बढाइरहेका छौँ ।

५. यस संस्थाले आफ्ना सदस्यहरुलाई मोटिभेट गर्ने कस्तो कार्यक्रम अगाडि बढाउनु भएको छ ?

~ हामीले आफ्ना सदस्यहरुका लागि धेरै खाले कार्यक्रमहरु गरिरहेका छौँ। सहकारी क्षेत्रमा सहकारी – सहकारी वीचको प्रतिस्पर्धाका बाबजुद पनि हाम्रो यो संस्था यहाँका स्थानीय दाजुभाइ दिदीबहिनीहरु र सदस्यहरुको आशा र भरोसाको केन्द्रविन्दु यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.भन्ने नाराका साथ हामी अगाडि बढिरहेका छौँ । हामीले यस सहकारी संस्थामा सदस्य आकर्षित हुने मुख्य कारण चाहिँ हाम्रो यस संस्थाको धेरै विशेषता र कार्यक्रमहरु नै हुन् । जस्तै ‘जन्मेदेखि मृत्युसम्म , वालकदेखि बृद्धसम्म’ भन्ने मूल नाराका साथ यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. ले धेरै कार्यक्रमहरु सञ्चालनमा गरिरहेको छ । बच्चा जन्मिदा पनि हामीले सुत्केरीलाई महिला सुत्केरी प्रसुती कोष वितरण गरेर सम्मान गर्छौँ । बृद्ध बा आमालाई हामीले वार्षिक रुपमा नगद पुस्कार प्रदान गरेर सम्मान गर्छौँ । मृत्युका बखत हामी सञ्चालक समिति , उप-समिति तथा सदस्यहरु शोकाकूल परिवारको घरमा गएर समवेदना दिने कार्यक्रमहरु रहेका छन् । यस्ता खालका कार्यक्रमहरुले गर्दा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. मा सदस्यहरुको आकर्षण बढिरहेको छ ।

६. यस गाम्चा साकोसले आफ्नै भवन बनाउदै छ भन्ने सुनिन्छ नि ?

~ यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १०औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा एकत्रित रुपया आफ्ना शेयर सदस्यहरुलाई एकै ठाउँबाट वित्तीय सेवा प्रवाह गर्नको लागि आफ्नो एउटा महत्वकांक्षी बहुउद्देश्यीय भवन निर्माण कार्यको थालनी गरेको थियो । निर्माणाधीन उक्त भवनको लगभग ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको अवस्था छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका -४ तथा दधिकोटमा अवस्थित सहकारी संस्थाहरुमध्येमा एउटा अत्याधुनिक बहुउद्देश्यीय किसिमको यो भवन निर्माण कार्य गरिरहेका छौँ । अबको लगभग ६ महिनाभित्रमा आफ्नो भवनमा सरेर सदस्यहरुलाई एकद्वार प्रणालीद्वारा एकत्रित किसिमले सेवा प्रदान गर्ने ढंगबाट हामी अगाडि बढिरहेका छौँ ।

७. यस गाम्चा साकोसले लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको थियो । अहिले त्यसको अवस्था के छ ?

~   यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. मा आबद्ध विशेषत: अलिक रिमोट या अलि टाढा ठाउँका दिदी बहिनीहरुको लागि लघुवित्तलाई एउटा प्रमुख कार्यक्रमको रुपमा राखेर हामीले कारोवार गरिरहेका छौँ । यो लघुवित्त कार्यक्रम यस सस्थाको कारोवारको एउटा प्रमुख खम्बाको रुपमा परिभाषित गरिरहेका छौँ। यो लघुवित्त कार्यक्रममा लगभग १,००० जना दिदी बहिनीहरू सहभागी हुनुहुन्छ । त्यसका लागि रु.२ करोड हामीले लिएको व्याजदरमा दिदी बहिनीहरुलाई वित्तीय सेवा उपलव्ध गरिरहेका छौँ । हामीले वित्तीय सेवा मात्र उपलव्ध नगरेर दिदी बहिनीहरुको सामाजिक , आर्थिक र सांस्कृतिक क्षेत्रमा बचतको माध्यमबाट कारोवार प्रदान गरिरहेका छौँ । उहाँहरुलाई हामीले तरकारी खेती सम्बन्धी तालिम दिन्छौँ । लघुवित्त कार्यक्रम अन्तर्गतको लघुवित्त सम्बन्धी शिक्षा दिन्छौँ। हामीले उहाँहरुलाई नि:शुल्क रुपमा वीऊ वीजन उपलव्ध गराउछौँ । नेपाल सरकारले मखमली र सयपत्रीको हव स्थल भनेर परिभाषित गरेको यस सूर्यविनायक नगरपालिका – ७ मा अवस्थित गुण्डुका दिदी बहिनीहरू हामीसँगै यस संस्थामा आबद्ध हुनुहुन्छ । कृषि क्षेत्रमा उहाँहरुलाई  मद्दत र टेवा पुगोस र अझै बेसी मात्रामा विकास होस् भन्ने उद्देश्यले हामीले यस वर्षबाट मखमली र सयपत्रीको बिरुवा नि:शुल्क वितरण गरेर उहाँहरुको आय स्तरलाई अगाडि बढाउनको लागि एउटा कार्ययोजना बनाएर कार्यान्वयन थालनी गरी सकेका छौँ । उक्त कार्यक्रमले गर्दाखेरी त्यस क्षेत्रका दिदी बहिनीहरू लगायत यो संस्थाका वरिपरिका दिदी बहिनीहरु यस संस्थामा आकर्षित भइरहनु भएको छ । यो मन्त्र नभएर दिदी बहिनीहरुलाई सामाजिक , आर्थिक र सांस्कृतिक क्षेत्रमा माथि उठाने अभियान हो । रिफ्रेसमेण्टका रुपमा त्यही समूहमा आबद्ध दीदी बहिनीहरु सहित बनभोज कार्यक्रम गर्ने गर्छौँ । दिदी बहिनीहरुको लागि महान पर्व तीजको उपलक्ष्यमा तीज विशेष कार्यक्रम गर्ने गर्छौँ। दिदी बहिनीहरू सहित यस संस्थाका सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गर्छौँ । हामीले यसपाली मोती विन्दुको नि:शुल्क अप्रेशन गरेर १० जना बा आमाको धर्ती देख्ने आँखा खोली दियौँ । यसले गर्दा यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. बचत तथा ऋण कारोवार मात्रै नभएर सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा ठूलो भूमिकाका साथ अगाडि बढिरहेको छ ।

८. यो कार्यक्रम कहिलेबाट शुरु गर्नु भयो र यसलाई सञ्चालन गर्न तपाईहरुलाई कतैबाट सहयोग प्राप्त भएको छ कि ?

~ यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. ले आजभन्दा ४ वर्ष अगाडिदेखि नै यो लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ । यसबाट हामीले गरेका काम , हाम्रा क्रियाकलाप , हामीले गरिरहेको कृषि फार्मको अध्ययन , अनुसन्धान र निरीक्षण जस्ता कार्यक्रम देखेर राष्ट्रिय सहकारी बैंक लि.को थिमि शाखाले हामीलाई विना धितो यस संस्था जमानीमा १ करोड रुपैया ११ प्रतिशत व्याज दरमा लघुवित्त कार्यक्रम प्रवर्द्धनका लागि उपलव्ध गराएको छ । त्यसका लागि यो बैंकको थिमि शाखा र केन्द्रीय कार्यालयलाई धन्यवाद दिन चाहन्छु । सहकारी क्षेत्रमा हामीलाई यो लघुवित्त कार्यक्रमका लागि अन्तबाट सहयोग आएको छैन । आन्तरिक स्रोत र आम्दानीबाट परिपूर्ति हुने गरी यो लघुवित्त कार्यक्रम सञ्चालन भइरहेको अवस्था छ ।

९. यसबाट कस्तो उपलव्धि हासिल भइरहेको छ ?

~ यसबाट हामी एकदम सन्तुष्ट छौँ । यस संस्थाले प्रदान गरेको वित्तीय सेवाको रकमले दिदी बहिनीहरुले व्यवसाय , फुल खेती , तरकारी खेती , गाई पालन , बंगुर पालन , सँगुर पालन जस्ता कार्य गरिरहनु भएको छ । लघुवित्त क्षेत्रमा लगानी गरेको पैसाको व्याज र सावा नियमित रुपमा यस संस्थामा आइरहेको छ ।

१०. यो राष्ट्रिय सहकारी बैंक लि.ले के कस्ता कार्यक्रम अगाडि बढायो भने तपाईहरुलाई काम गर्न सजिलो हुन्छ जस्तो लाग्छ ?

~ हाम्रो देशको सहकारी क्षेत्रको एउटा मात्रै सहकारी बैंक राष्ट्रिय सहकारी बैंक लि.मा नयाँ नेतृत्व आएको छ । सर्वप्रथम उहाँहरुलाई म हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना दिन चाहन्छु । यस बैंकको धेरै कुरा राम्रो छ । यो बैंकमाअब पूँजी भइसक्यो ।  आफ्ना सदस्यहरुलाई लाभान्वित हुने गरी त्यो पूँजीलाई सुरक्षित ढंगबाट परिचालित गर्न आवश्यक नीति , नियम बनाएर अगाडि बढ्नु पर्दछ । बचत तथा ऋणको कारोवार गर्ने संस्था हाम्रो यो सहकारी संस्था । राष्ट्रिय सहकारी बैंकसँग पनि हाम्रो कारोवार छ । उसले हामीलाई दिने कर्जाको व्याज दरमा सहुलियत दिनु परो। व्याजदरमा सहुलियत भयो भने हामीलाई लघुवित्त लगायतका कार्यक्रम गर्न हौसला मिल्छ ।

११. राष्ट्रिय सहकारी बैंक लि.को व्याज दरको अवस्था कस्तो छ ?

~ यस बैंकको कर्जामा १४.२५ प्रतिशत , लघुवित्त कर्जामा १३ प्रतिशत र दैनिक बचतमा ७ प्रतिशत व्याज दर रहेको अवस्था देखिन्छ ।

१२. तपाईहरुले वडा स्तरमा वीमा कार्यक्रम पनि चलाउनु भ एको थियो । त्यसको अवस्था के छ ?

~ आफ्नो १०औँ वार्षिक साधारणसभाले अनुमोदन गरे बमोजिम यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले प्रिमियर इन्स्योरेन्स क.लि. सँग सम्झौता गरी आफ्ना सदस्यहरुको रु.१ लाख बराबरको दुर्घटना वीमा र रु.१०,००० बराबरको औषधि उपचार खर्चको वीमा गरेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. : ४ मा रहेका २७ वटा सहकारी संस्थाहरुमध्ये यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. नै आफ्ना सदस्यहरुको वीमा गर्ने पहिलो सहकारी संस्था भएकोप्रति गर्वका साथै हामी घमण्ड पनि गर्छौँ ।

१३. यस गाम्चा साकोसको कार्यक्षेत्र कहाँ छ ?

~ सूर्यविनायक नगरपालिकाको १ नं. वडादेखि ७ नं. वडासम्म यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. को कार्यक्षेत्र छ । त्यसैले यो संस्था सुर्यविनायक नगरपालिका अन्तर्गत छ । सूर्यविनायक नगरपालिकाले यसको अनुगमन , निरीक्षण र नियमन गर्छ ।

१४. भक्तपुर डिभिजन  सहकारी कार्यालयबाट हस्तान्तरण भई सूर्यविनायक नगरपालिकामा जाँदा तपाईहरुलाई काम गर्न सजिलो या अफ्ठ्यारो के छ ?

~ सूर्यविनायक नगरपालिका अन्तर्गत हुँदा हामीलाई काम गर्न सजिलो भएको छ किनभने त्यहाँ चिरपरिचित दाजुभाइ तथा दिदी बहिनीहरू हुनुहुन्छ ।

१५.सूर्यविनायक नगरपालिकाले आफू अन्तर्गतका सहकारीको विकासका लागि के गर्नु पर्दछ भन्ने लाग्छ तपाईलाई ?

~ डिभिजन सहकारी कार्यालयबाट कार्यक्षेत्रका आधारमा संघ , प्रदेश र स्थानीय तहमा सहकारी हस्तान्तरणपछि देशभरका स्थानीय तहहरुमध्ये सबैभन्दा पहिले सूर्यविनायक नगरपालिकाले सहकारी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको भन्ने मैले सुनेको छु । यस नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेटमा रु. २० लाख सहकारी  क्षेत्रको लागि छुट्याएको मैले सूर्यविनायक नगरपालिकाका मेयर सा’वले भनेको सुनेको छु । वास्तवमा त्यो पैसालाई चाहिँ तालिम , सीप लगायतका सहकारी क्षेत्रको  विकास हुने काममा लगाउनु राम्रो हुन्छ । सामाजिक , आर्थिक र सांस्कृतिक क्षेत्रको विकास हुने ढंगबाट त्यस्ता किसिमका उद्यमशील  तालिम ,सीप तथा कला जस्ता क्रियाकलापलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्छ ।

१६. केही दिन पहिले  तपाई भारतभि के सन्दर्भमा जानु भएको थियो ?

~ म अन्तर्राष्ट्रिय सार्क स्तरीय रुरल डेभलपमेण्ट वित्तीय अवस्थाको विषयमा एउटा ट्रेनिङका लागि भारतको नयाँ दिल्लीमा गएको थिएँ । त्यो ट्रेनिङमा जाँदा खेरी मलाई धेरै नौलो अनुभव भयो । त्यो ट्रेनिङबाट मैले धेरै कुराहरु सिकेर आएको छु । त्यसलाई सहकारी क्षेत्र र हाम्रो यस सहकारी संस्थाबाट लागू गर्न सकियो भने राम्रो हुन्छ भन्ने लाग्छ ।

१७. त्यो ट्रेनिङबाट तपाई सिकेको कुरा के हो ?

~ त्यहाँ हामीले धेरै नयाँ कुरा सिक्यौँ । विद्वत वर्गका धेरै जनाले तालिम दिनु भएको थियो । सहकारी क्षेत्रमा सूचना प्रणालीलाई कसरी सञ्चालन गर्ने , सार्क स्तरमा सूचना प्रविधिको पहुँच कसरी अगाडि बढाउने  र सार्क राष्ट्रहरु मध्ये भारत , नेपाल , भूटान , बंगलादेश र श्रीलंकामा कुन चाहिँ सूचना प्रविधिको विकास कसरी भएको छ भन्ने जस्ता कुराहरुका बारेमा धेरै कुरा सिकेको महशुस भएको छ ।

१८. त्यो ट्रेनिङ कहाँ र कसको आयोजनामा भएको थियो ?

~ त्यो ट्रेनिङ एन.वी.वाई. इण्डिया र सिक्टाको आयोजनामा भारतको नयाँ दिल्लीमा भएको थियो ।

१९.त्यसमा को को सहभागी थिए ?

~ ५ दिनसम्म चलेको त्यो कार्यक्रममा नेपाल , भारत , भुटान , बंगलादेश र श्रीलंकाका ३२ जनाको सहभागीता थियो । नेपालबाट यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. बाट म र सचिव विदुर खड्का , राष्ट्रिय सहकारी बैंक लि. पोखरा शाखाका व्यवस्थापक सन्तोष घिमिरे तथा मित्र मिलन सहकारी संस्थाका एक जना सञ्चालक र व्यवस्थापक गरी नेपालबाट हामी ५ जना सहभागी थियौँ ।

२०. त्यहाँ तपाईहरु आफ्नै ढंगले जानु भयो या कसैले सहयोग गरेको थियो ?

~  राष्ट्रिय सहकारी बैंक लि.को केन्द्रीय कार्यालयको पहल र सहयोगले हामीलाई त्यो ट्रेनिङमा सहभागिता जनाउनमा महत्वपूर्ण भूमिका खेल्यो । त्यसका लागि राष्ट्रिय सहकारी बैंक लि.लाई म व्यक्तिगत र यस गाम्चा बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

२१. तालिम अवधिमा अरु देशहरुका तालिममा सहभागी प्रतिनिधिहरुसँग कुरा हुँदा हाम्रो र उनीहरुको सहकारी वीचमा के फरक पाउनु भयो ?

~ मैले धेरै नै फरक पाएँ । बचत तथा ऋण सहकारीको भन्दा पनि स्पेसल्ली  फाइनान्सियल डेभलपमेण्टको वित्तीय अवस्थाको बैंकिङ्ग सेक्टरको कारोवारको एक किसिमको कुरा थियो त्यहाँ । त्यहाँ बैंकिङ्ग सेक्टरबाट प्रतिनिधित्व गर्ने साथीहरुको धेरै बाहल्यता थियो । बंगलादेश र श्रीलंकाका सहकारी क्षेत्रमा धेरै विकास भएका श्रव्य -दृश्यको भिजीओल देखाइएको थियो । बंगलादेशमा सहकारीको द्रुततर ढंगबाट कार्यहरु भएको देखियो । सार्क स्तरमा सहकारीको क्षेत्रमा हामी अगाडि बढ्दै छौँ भन्ने अनुभव भयो ।

२२. ट्रेनिङ सकेर त्यहाँबाट स्वदेश फर्कदै गर्दा तपाईले नेपालमा सहकारीको विकासका लागि के गर्नु पर्ला जस्तो महशुस गर्नुभयो ?

~ नेपालमा सहकारीको विकास गरी सार्क स्तरमा जान धेरै काम गर्नुपर्छ । देशमा सहकारी क्षेत्र अगाडि बढ्न सबैतिरबाट सहयोग र सद्धभाव हुनुपर्छ जस्तो लाग्छ । यसका लागि सरकारले सहकारी मैत्री ऐन तथा नियमावली ल्याएर लागू गरी सहकारी क्षेत्रका समस्या सम्बोधन गर्नु परो । हामी सहकारीकर्मीहरुले पनि सहकारी क्षेत्रको विकासका लागि सहयोग पुग्ने ढंगबाट लजिकल्ली आफ्ना क्रियाकलाप अगाडि बढाउनु पर्दछ । २३. सहकारी नियमावली नआउदा तपाईहरुलाई काम गर्न अफ्ठ्यारो त भएको छैन ?

~ सहकारी नियमावली नआउदाखेरी हामीलाई काम गर्न अफ्ठ्यारो भइरहेको छ । वास्तवमा एउटा मान्छे हिड्दाखेरी एउटा खुट्टामा कुनै चिजले लाग्यो भने एउटा खुट्टा खुच्याउदै हिडे जस्तै  सहकारी क्षेत्रमा आएको सहकारी ऐन , २०७४ अपाङ्गको अवस्थामा आए जस्तो मलाई महशुस भएको छ । त्यसमा पनि सहकारी नियमावली नआउदा  हामी सहकारीकर्मीलाई सहकारी क्षेत्रमा काम गर्न अलिक गाह्रो भइरहेको अवस्था छ।

२४. सहकारी ऐन , २०७४ मा सहकारीका कतिपय कुरा छुटे र यो ऐन सहकारीलाई नियमन गर्ने ढंगबाट आयो भन्ने सहकारी क्षेत्रमा गुनासो सुनिन्छ । तपाई यसमा के भन्नुहुन्छ ?

~ गुनासो त छ हाम्रो पनि । सहकारी ऐन  , २०७४ ले निर्धारण गरेका विभिन्न कुराहरु प्रभावकारी ढंगबाट लागू भएका छैनन् । त्यसका लागि सरकार नै दोषी देख्छु म । सो ऐनमा स्पष्ट व्यवस्था भएको महानगरपालिका , उप-महानगरपालिका , नगरपालिका र गाउँपालिकाका सहकारीलाई १० , ७ ,५ र ० प्रतिशत आय करको व्यवस्था कार्यन्वयन नभई सहकारी संस्थाले आन्तरिक राजश्व कार्यालयमा २० प्रतिशत आय कर तिर्नु परिरहेको छ । यस्तै क्रियाकलापले हामीलाई काम गर्न अफ्ठ्यारो भइरहेको छ ।

२४. नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्य संघीय संसदमा पेश गर्दा सहकारी सूचना केन्द्रको विषय उल्लेख गरेको थियो तर अहिले त्यो चर्चामा छैन । यो विषयमा तपाई के भन्नुहुन्छ ?

~ सरकारले ल्याएको त्यो धेरै राम्रो अवधारणा हो ।  सहकारी क्षेत्रमा काम गरिरहदा एउटा व्यक्ति एउटामा मात्रै नभई ४/५ सम्म सहकारीमा सदस्य भएको भेटिएको छ। उसले धितो राखेर या विना धितो कुनै सहकारी संस्थाबाट कर्जा लिएको कुरा सहकारी बीच एक आपसमा थाहा हुने अवस्था छैन । सहकारी कर्जा सूचना केन्द्र सञ्चालन भई दिदाखेरी हामीलाई पनि काम गर्न सजिलो हुने थियो । हामीलाई लगानी सुनिश्चितता गर्न मद्धत पुग्ने थियो । जसका कारण सत प्रतिशत  लगानी सुरक्षित हुने थियो । यो कर्जा सूचना केन्द्र सरकारले जतिसक्तो छिटो सञ्चालनमा ल्याओस् ।

२६. सहकारी राज्यको अर्थतन्त्रको तीन खम्बामध्येको एक खम्बा हो भनिन्छ । यो अरु दुई खम्बाको तुलनामा कमजोर छ पनि भनिन्छ । तपाईलाई के लाग्छ र यो खम्बालाई बलियो बनाउन के गर्नु पर्ला ?

~ देशको अर्थतन्त्रको तीन खम्बामध्ये सहकारी तेस्रो खम्बाको रुपमा उभिएको छ । यो सय प्रतिशतै सत्य हो । सहकारी क्षेत्रमा ६ खरव रुपैया जति कारोवार भइरहेको छ । यसमा लगभग २/३ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा धेरै सदस्य र तिनका परिवारहरु लाभान्वित भएका छन् । त्यसले गर्दाखेरी पनि देशको यो तेस्रो खम्बाको रुपमा परिभाषित भएको हो । यो तेस्रो खम्बाको रुपमा परिभाषित सहकारीलाई थप मजबुत र बलियो बनाउनको लागि सरकारले सहकारी मैत्री ऐन , नियम र नियमावली चाडै ल्याइ कार्यान्वयनमा लगिदिनु परो र सबैले आ-आफ्नो तह र तप्काबाट सहयोग गरी दिनु भएमा यो थप मजबूत बन्न सक्छ ।

२५. अन्तिममा केही भन्नु छ कि ?

अन्तिममा म के भन्न चाहन्छु  भने सूर्यविनायक नगरपालिका -४ मा अवस्थित यो गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको दक्षिणी भेगको स्थापित र सक्षम सहकारी संस्था हो । यो सहकारीमा दाजुभाइ तथा दिदी बहिनीहरुको असीम माया र ममता छ । यो असीम माया र ममता सधैभरी रहिरहोस् । यस गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.मा उत्साहजनक तरिकाले कारोवार गर्ने , यसका हरेक क्रियाकलापमा सहयोग र साथ दिदै हामीसँगै हात मिलाएर अगाडि बढ्नुहोस् भन्ने शेयर सदस्य , शुभचिन्तक महानुभावहरु , सञ्चालक समिति , उप-समिति तथा कर्मचारी वर्गमा म विनम्र अनुरोध गर्दछु ।

धन्यवाद !

 

 

 

Leave a Reply