ललितपुरका जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाहरुको स्तरीकरणलाई जोड दिने छु

– शशि खड्का , सचिव पदका उम्मेद्वार , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
ललितपुर जिल्ला बचत बचत तथा ऋण सहकारी संघ लि.को २४औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने क्रममा सम्पन्न हुन गइरहेको चुनावमा सचिव पदमा उम्मेद्वार बन्नु भएको छ जोश र जाँगरले यक्त , लगनशील र जुझारु महिला सहकारी अभियानकर्मी शशि खड्का । उहाँसँग सहकारी सञ्जालले कुराकानी गरेको थियो । जो यस प्रकार छ ।
१. तपाई ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को लेखा सुपरीवेक्षण समिति सदस्य हुनुहुन्छ । तपाई सम्लग्न प्रारम्भिक संस्थाको गतिविधि के छ ?
~मेरो प्रारम्भिक संस्थाको नाम सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लि. हो । यो २०६३ सालमा स्थापना भएको हो । जरुवावासीका केही महिला दिदी बहिनीहरू संगठित भई महिला समूह हुँदै सहकारी दर्ता गर्ने क्रममा पुगियो । २०६३ सालमा संस्था दर्ता भएपछि चाहिँ यस ठाउँका महिला दिदी बहिनीहरुलाई समेटेर सहकारी संस्थाको रुपमा अगाडि बढ्दै गएको हो । पहिला यो सन्तानेश्वर महिला बचत तथा ऋण सहकारी संस्था मात्रै थियो । गत २०७४ सालमा हामीले नौधारा महिला बचत तथा ऋण सहकारी संस्था लि.सँग मर्च गर्ने प्रयाश गरेका थियौँ । हामी २०७५ सालमा उहाँँहरुसँँग एकता गर्न सफल भयौँ र गएको साउन ४ गतेदेखि एकीकृत कारोवार गर्दै आएका छौँ । अहिले हाम्रो यस सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी संस्था लि.मा २,५०० सदस्यहरु हुनुहुन्छ भने रु २८ करोड चालु कारोवार छ । यसको आफ्नै भवन र गोदावारीमा एउटा सेवा केन्द्र पनि छ । हाम्रो यस संस्थामा ९ जना कर्मचारी कार्यरत हुनुहुन्छ । यसको सञ्चालक समिति , लेखा सुपरीवेक्षण उप-समिति , ऋण उप-समिति लगायत सबै उप- समिति महिलाले ह्याण्डिल गरिरहनु भएको छ ।
२. महिलाहरुलाई माथि उठाउन तपाईहरुको प्रारम्भिक संस्थाले के गरिरहेको छ ?
~हामीले शुरुमा महिला समूह निर्माण ग-यौँ । सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण र महिलाको जीवनस्तर रुपान्तरण हुने खालको कार्यक्रम बमोजिम बचत गर्ने , त्यसलाई लगानी गर्ने , उद्यमशीलताको लागि हामीले बाटो खोली दियौँ । उहाँहरुलाई व्यवसाय सञ्चालनका लागि लगानी गर्ने ववातावरण बनाउने काम गरिरहेका छौँ । यो त्यतिवेलादेखि कै अभियान हो । हामीलाई लाग्छ कि हाम्रो यस क्षेत्रको सामुदायिक क्षेत्रमा हाम्रो यस संस्थाले एउटा छुट्टै खालको पहिचान बनाएको छ । हिजोको दिनमा महिलाहरुले के गर्न सक्छन् र , यो महिला सहकारीमा हामी सदस्य बन्ने होइन भनेर हाम्रा दाजु भाइहरुले भन्नु भएको अवस्था थियो । यसका बाबजुद पनि हामी सहकारीको सिद्धान्त ,, मुल्य , मान्यता र आदर्श अनुरुप सञ्चालन भई सफलताको बाटोमा अगाडि बढिरह्यौँ । त्यसको परिणाम स्वरुप यतिवेला उहाँहरु हाम्रो यस संस्थको सदस्य बनेर हामीसँगै काधमा काध मिलाएर कारोवार गरिरहनु भएको छ । यसरी हामीले एउटा सहकारी संस्था सञ्चालन गर्ने मात्र होइन , सवल र सक्षम तरिकाले संस्था सञ्चालन गर्छौँ भन्ने उदाहरण पनि प्रस्तुत गरेका छौँ । सहकारीको सिद्धान्त , मुल्य , मान्यता ,भावना र आदर्शलाई ग्रहण गरी हामीले सामुदायिक संस्थाको नीति अनुरुप काम गरिरहेका छौँ । अरुले पनि त्यसलाई अनुशरण गरेको हामीले पाएका छौँ ।
३. तपाईहरुले सहकारी संस्था स्थापना गर्नुभयो । सहकारीको आफ्नै भवन बनाउनु भयो । यसको सेवा केन्द्र विस्तार गरी यसको कार्यक्षेत्र विशाल बनाउनु भएको छ । यति हुँदाहुदै पनि महिला भएकोमा तपाईलाई काम गर्न कत्ति अफ्ठायारो महशुस भएको छ ?
~अहिले त्यस्तो अफ्ठ्यारो अवस्था छैन । धेरै पहिला , जुन बेला हामी महिला समूह बनाएर काम गर्थ्यौ , त्यसबेला अफ्ठ्यारो अवस्था थियो । महिला अगाडि बढ्न चाहिँ सबैभन्दा पहिला परिवारको साथ चाहिन्छ । सहकारीको लागि जुन मैले प्राप्त गरेँ । अहिले जुन हिसावले म यो ठाउँमा छु । परिवारको साथ र सहयोग प्राप्त नगरेको भए यो अवस्था बन्दैन थियो होला । परिवारको साथ र सहयोगले नै मैले आफ्नो घर व्यवहारका कामलाई व्यवस्थापन गर्दै विशेष गरी सहकारीलाई जोड दिएर सहकारीमा लागेको हुँ । त्यतिखेर बिल्कुलै फरक अवस्था थियो । महिलाहरु घर बाहिर गएर काम गर्ने अवस्था एकदमै ग्राहो थियो । आर्थिक पाटो , आर्थिक कारोवार गर्ने संस्था सञ्चालन गर्दै जाँदा मैले के पाएँ भने मानिसहरुको विश्वसनीयता चाहिँ यसमा हुनुपर्दछ । जब हामी विश्वसनीययुक्त ढंगबाट संस्था सञ्चालन गर्दै गयौँ , यी महिलाहरुले केही गर्न सक्नु हुन्छ है भन्ने भावना उहाँहरुमा पलाएको मैले पाएँ । त्यसले गर्दाखेरी चाहिँ मलाई काम गर्न र आफ्नो क्षेत्रमा अगाडि बढ्न सजिलो भयो । मलाई लाग्छ महिलाहरु इमान्दार भएर आफ्नो क्षेत्रमा अडिग भएर लाग्नु भयो भने उहाँहरुलाई सजिलो हुन्छ ।
४.तपाई ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सचिव पदमा उम्मेद्वार बन्दै हुनुहुन्छ ? तपाईका प्रतिस्पर्दीहरु पुरुषहरु हुनुहुन्छ । उहाँहरुसँग प्रतिस्पर्धा गर्न तपाईलाई कत्तिको अफ्ठ्यारो भा’छ ?
~उहाँहरु मेरा साथीहरु हुनुहुन्छ । त्यसैले उहाँहरुलाई पनि म सम्मान गर्न चाहन्छु । म आफूलाई के कुरामा कन्फिडेन्ट लाग्छ भने- म बिल्कुलै एउटा सहकारीकर्मी हुँ । म कुनै अन्य क्षेत्रमा छैन । सहकारी नै मेरो धर्म हो । सहकारीलाई नै मैले मुख्य विषयको रुपमा लिएको छु । सहकारी अभियानमार्फत आफ्नो ठाउँको समुदायको विकास गर्ने भनेर म अघि बढेको मान्छे । तसर्थ सहकारी बाहेक म कुनै संघ/ संस्थामा पनि छैन । मैले कतै जागीर खाको पनि छैन । सहकारी नै मेरो मुख्य विषय भएको हुँदा अन्य साथीहरुको तुलनामा म आफूलाई चोखो सहकारीकर्मी भन्न रुचाउछु । यसमा मलाई विश्वास पनि छ । मलाई लाग्छ – प्रारम्भिक संस्थाका साथीहरुले यो कुरा बुदिदिनु हुनेछ । रु. ८५ हजारको सानो पूँजीबाट कारोवार शुरु गरेको यस महिला सहकारीलाई एकीकरण गरेर रु. २८ करोड पूँजी पु-याएर आफ्नो समुदायमा एउटा आवाज दिने कामको नेतृत्व गरिरहेको छु मैले । यसैबेला अहिले २ जना पुरुषसँग भिड्दै गर्दा मेरो यो कुरा प्रारम्भिक संस्थाहरुबाट जो प्रतिनिधिको रुपमा आउनु भएको छ , उहाँहरुले बुझिदिनु हुनेछ भन्ने लाग्छ मलाई ।
५. तपाईले जित्नु भयो भने यस संघलाई राम्रोसँग अगाडि बढाउने नयाँ योजना के छ तपाईसँग ?
~अहिलेसम्म म यस संघको लेखा सुपरीवेक्षण समितिको सदस्य रहेर काम गर्दै आइरहेको छु । लेखा सुपरीवेक्षण समिति सदस्य भएर काम गर्दा पनि यो संघको भूमिकालाई राम्रो बनाउन मेरो पनि योगदान छ । यो कुरा सबैले स्वीकार गरी सक्नु भएको छ । आगामी दिनमा नीतिगत भूमिका निर्वाह गर्नको लागि मैले यस संघको सचिव पदमा उम्मेद्वारी दिएको छु । सचिव पदमा उम्मेद्वारी दिदै गर्दा ललितपुर जिल्लामा रहनु भएका जति पनि बचत तथा ऋण संस्थाका प्रतिनिधि ज्यूहरु र सहकारीकर्मीहरुमा म के विश्वास दिलाउन चाहन्छु भने – म आफै पनि सुशासनयुक्त सहकारी संस्था सञ्चालन गरेको मान्छे हुँ । म ललितपुर जिल्लाभरी रहेका यस संघको सदस्य भएका सहकारी संस्थाहरुलाई सुशासनमा रहेर नीति , विधि र प्रविधियुक्त संस्था सञ्चालनमा जोड दिने र तिनीहरुको स्तरीकरण गर्ने कार्यमा मेरो महत्वपूर्ण भूमिका रहने छ । त्यसका लागि समसामयिक विषयबस्तु लगायतका विभिन्न किसिमका तालिमहरु , गोष्ठि , अन्तक्रिया जस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्ने र सहकारी मैत्री नीति , नियम निर्माण लागि सक्दो पहल गर्ने र विशेषगरी सहकारी क्षेत्रमा महिलाहरुको जीवन स्तर उकास्ने र उहाँहरुको नेतृत्व विकासलाई मैले विशेष जोड दिने छु ।