५ नं. प्रदेशसभासद उत्तर ओलीको निधन
केही दिन अघि सवारी दुर्घटनामा घाइते भई उपचाररत प्रदेश नं. ५ का सभासद उत्तरकुमार ओलीको आज विहान ३ वजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ । केही दिन अघि दाङको लमहीबाट घोराही जाने क्रममा उहाँ सवार बा.१८ च ६८३६ नं.को कार घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ बससँग ठोक्किएर घोराही न.पा.- ३ , मसोटखोलामा दुर्घटना हुँदा सभासद ओली गम्भीर घाइते हुनु भएको थियो भने बसमा सवार रुकुम शश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको घटनास्थल मै निधन भएको थियो ।
घाइते ओलीलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि उपचारका लागि हेलिकप्टरबाट ललितपुरको भैसेपाटी स्थित मेडिसिटी हस्पिटलमा ल्याएर भर्ना गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाङका प्रभावशाली युवा नेता ओलीका श्रीमती र २ छोरा छन् । दाङ जिल्लाको दंगिभरण गाउँपालिकाको श्रीगाउँका स्थायी बासिन्दा ३७ वर्षीय ओली दाङ क्षेत्र ३’ख’ बाट निर्वाचित प्रदेशसभासद हुनुहुन्थ्यो । दाङमा उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलि पछि आजै अन्त्यष्टि गरिने बताइएको छ ।
