समाजकल्याण परिषदका पदाधिकारी भ्रष्टाचारको आरोपमा पद मुक्त

नेपाल सरकारले भ्रष्टाचार गरेको अभियोगमा समाज कल्याण परिषदका पदाधिकारीहरुलाई पदमुक्त गरेको छ । हिजो मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सो जानकारी दिनु भएको थियो ।  मन्त्री परिषदको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाद्वारा जारी  विज्ञप्तिमा

समाज कल्याण परिषदका उपाध्यक्ष नीलमणि बराल , कोषाध्यक्ष वीरबहादुर ठगुन्ना , सदस्यहरु इन्द्रनारायण झा , गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टलाई बदनियतपूर्ण र कानुन विपरीत कामहरु समेत गरी समाज कल्याण परिषदलाई हानी पु-याउने निजहरुलाई पद मुक्त गर्न र समाज कल्याण परिषदमा भएका आर्थिक , प्रशासनिक लगायतका अनियमितताका सम्बन्धमा प्रचलित कानून बमोजिम थप अनुसन्धान गरी कानूनी कारवाही एवम उक्त प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग आयोगमा पठाउने उल्लेख छ । सुशील कोइराला नेतृत्वको सरकारले तत्कालीन महिला , वालवालिका तथा समाज कल्याण मन्त्री निलम खड्काको सिफारिसमा समाज कल्याण परिषदको उपाध्यक्षमा तत्कालीन नेकपा (माले) का नेता नीलमणि बराल र कानुनी सल्लाहकारमा सोही दलका नेता तथा अधिबक्ता कृष्ण शर्मालाई नियुक्त गरेको थियो । समाज कल्याण परिषदको काम , कारवाही र कार्यशैली तथा काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको जग्गा भाडामा भएको अनियमितता भएको भन्दै असन्तुष्टि जनाएर अधिबक्ता कृष्ण शर्माले समाज कल्याण परिषदको कानुनी सल्लाहकारबाट राजीनामा दिनु  भएको थियो ।

त्यसै विषयमा नेकपा (माले) को नेतृत्वसँग अन्तरविरोध भएपछि उहाँले नेकपा (माले) परित्याग गर्नु भएको थियो । त्यसपछि पनि उहाँले निरन्तर त्यसको विरोध गर्दै आउनु भएको थियो ।

समाज कल्याण परिषदको उपाध्यक्षबाट पदमुक्त नीलमणि बराल भने गत वर्ष चुनावको मुखैमा अरु साथीहरुसँगै नेकपा (माले) परित्याग गरी तत्कालीन नेकपा (एमाले) प्रवेश गर्नु भएको थियो । उहाँको नेकपा (एमाले)को प्रवेशलाई लिएर कतिपयले समाज कल्याण परिषदमा गरेको भ्रष्टाचारलाई ढाकछोप गरी कारवाही हुनबाट जोगिन त्यहाँ गएको भनेर व्याङ्ग्य गरेको पनि सुनिएको थियो । बरालको नेतृत्वको समाज कल्याण परिषदको टोलीले भ्रष्टाचार गरे नगरेको विषय भने आउदा दिनमा प्रष्ट हुने छ ।

Leave a Reply