अरनिको यातायात सेव समितिको नयाँ नेतृत्व छनौट फागुन १५ गते हुदै
अरनिको यातायात सेवा समितिले २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको छ । सो समितिको नयाँ नेतृत्व निर्वाचन प्रयोजनका लागि गठित केदार खत्री क्षेत्री निर्वाचन अधिकृत तथा रामशरण खरेल , दीपक के.सी. , विकाश लामा , सुमन श्रेष्ठ र निर्मल गिरी सदस्य रहेको निर्वाचन समितिले १ अध्यक्ष , ३ वरिष्ठ उपाध्यक्ष , ३ उपाध्यक्ष , १ सदस्य-सचिव , १ कोषाध्यक्ष , १ सह-सचिव , १ सह-कोषाध्यक्ष , १ उप-सचिव तथा १ महिला सदस्य र ६ सदस्य पदका लागि निर्वाचन कार्यक्रम अगाडि बढाएको छ ।

जस अन्तर्गत हिजो विहान १०:०० देखि १२ :०० बजेसम्म उम्मेद्वार मनोनयन फारम वितरण गरी दिउसो १२:०० देखि २:०० बजेसम्म उम्मेद्वार मनोनयनको कार्यक्रम तय गरिए अनुसार अरनिको यातायात सेवा समितिको

अध्यक्ष पदमा उद्धवप्रसाद गौतम , चित्रबहादुर कुँवर र केशवराज भारती , वरिष्ठ उपाध्यक्ष पदमा बालकृष्ण श्रेष्ठ , भीमबहादुर श्रेष्ठ (लाले) नृपध्वज महत , हरिभक्त श्रेष्ठ र सागर श्रेष्ठ , क्षेत्र नं. १ का उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ , दिलबहादुर श्रेष्ठ (कुमार) र खिलबहादुर श्रेष्ठ , क्षेत्र नं. २ उपाध्यक्ष पदमा जीवन खड्का , क्षेत्र नं. ३ उपाध्यक्ष पदमा कृष्णबहादुर पन्थ (ध्रुव) , सदस्य-सचिव पदमा राजकुमार बस्नेत र मुकुन्दप्रसाद पौडेल , कोषाध्यक्ष पदमा ई. राम भारती , सह-सचिव पदमा राजु पौडेल , सह-कोषाध्यक्ष पदमा सुरेन्द्र बस्नेत र विकाशकाजी श्रेष्ठ ,उप-सचिव पदमा कृष्णभक्त त्वयना र सदस्यहरुमा बद्रीनाथ थापा , दिनेशकुमार श्रेष्ठ , सानुबाबु वरिया (पाजु) , नारायणदेव कुँवर , नारायणप्रसाद न्यौपाने र दीपकराज कार्की तथा महिला सदस्यमा पम्फा शिवभक्तिको उम्मेद्वारी परेको र त्यसमध्ये क्षेत्र नं. २ र ३ उपाध्यक्ष ,कोषाध्यक्ष , सह-सचिव , उप-सचिव र महिला सदस्य र सदस्य पदका उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत केदार खत्री क्षेत्रीले बताउनु भएको छ । निर्विरोध भएका बाहेकका बाकी उम्मेद्वारहरु उपरको दावी विरोध हिजो अपरान्ह ४:०० बजेसम्म तय गरिए पनि कुनै उम्मेद्वार उपर कसैले दावी विरोध गरेनन् । उम्मेद्वारी फिर्ताको समय फागुन १२ गते विहान १०:०० बजेसम्म तय गरिएको , फागुन १२ गते दिउसो २:०० बजे अन्तिम नामावली प्रकाशन गर्ने र त्यसबेलासम्म सबै उम्मेद्वार निर्विरोध निर्वाचित नभएमा निर्विरोध भई सकेका बाहेकका पदमा फागुन १५ गते दिनको १२:०० बजेदेखि अपरान्ह ४:०० सम्म मतदान हुने र साझ ५:०० बजेपछि मतगणना गरी परिणाम सार्वजनिक गरिने

उक्त समितिका कार्यालय प्रमुख एवंम निर्वाचन समिति सदस्य रामशरण खरेलको भनाई छ ।
नेपाल सरकारले यातायात सेवा समितिहरु प्रा. लि. मा रुपान्तरण गर्नु भनिरहेको बेला तपाईहरु चाहिँ किन अरनिको यातायात सेवा समितिको नयाँ नेतृत्व चयन गर्दै हुनुहुन्छ भन्ने सहकारी सञ्जालको जिज्ञाशाको जवाफमा

अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम लामाले ‘सरकारले यातायात समितिलाई प्रा.लि. मा जानु भने पनि स्पष्ट नीति तथा ऐन , कानून बनी नसकेकोले हामीले अहिले समितिको चुनाव गर्दैछौँ । भोलि बन्ने ऐन , कानून तथा राज्यको नीतिलाई पालना गरी यस अरनिको सेवा समितिलाई प्रा.लि. मा रुपान्तरण गर्ने छौँ ‘ भन्नुभयो ‘ ‘यस अरनिको यातायात सेवा समिति अन्तर्गतका ६५० जना गाडीधनी नै यस निर्वाचनको मतदाता हुनुहुन्छ।’
अरनिको यातायात सेवा समिति अन्तर्गत काठमाडौंबाट , भक्तपुर , काभ्रेपलाञ्चोक , सिन्धुपाल्चोक , दोलखा , रामेछाप र ओखलढुंगामा ५३६ वटा बस सेवा सञ्चालन भइरहेको अरनिको यातायात समितिका कार्यालय प्रमुख खरेलको कथन छ ।
