भाषाशास्त्री पोखरेलको निधनमा प्रज्ञा प्रतिष्ठानको शोक
यही फागुन १२ गते विहान ९:३० बजे निधन हुनु भएका भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनप्रति नेपाल प्रज्ञा प्रतिष्ठानले शोक प्रकट गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीद्वारा जारी शोक विज्ञप्तिमा ‘नेपाली भाषा साहित्यका मुर्धन्य व्यक्तित्व एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य एवं हाल आजीवन सदस्य रहनु भएका प्राध्यापक बालकृष्ण पोखरेलको मिति २०७५ फागुन १२ गते विहान ९:३० बजे विराटनगरस्थित नोवेल अस्पतालमा भएको देहवसानको घटनाले नेपाल प्रज्ञा प्रतिष्ठान परिवारलाई दु:खी बनाएको छ । नेपालका अति विशिष्ट व्यक्तित्वका रुपमा रहनु भएका पोखरेलले भाषाशास्त्रीय अध्ययन अनुसन्धानका साथै साहित्यिक सृजना , समालोचना तथा मानव शास्त्रीय इतिहास र संस्कृतिको अन्वेषणको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउनु भएको छ । आफ्नो सम्पूर्ण जीवन भाषा साहित्यको अध्ययन अनुसन्धान र सृजनामा नै समर्पित गर्नु भएका ऋषितुल्य व्यक्तित्व आर्जन गर्न सफल पोखरेलको निधनले नेपाली भाषा साहित्यको क्षेत्रका साथै नेपाल राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको छ । यस दुखद घडीमा सिङ्गो नेपाल प्रज्ञा प्रतिष्ठानको तर्फबाट आदरणीय बालकृष्ण पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ उल्लेख छ ।
