सामुदायिक विद्यालय एक-अर्कामा गाभिनु भोलिको लागि ठीक ठहर्दैन

225 Shares

-विष्णुकुमार शर्मा निरौला

भूतपूर्व प्रधानाध्यापक , श्री नामसालिङ मा. वि. नाम्सालिङ तथा श्री हिमालय मा.वि. गोर्खे , इलाम

 

शर्मानन्द उपाध्याय र जानुका निरौलाका जेष्ठ  सुपुत्रको रुपमा वि.सं. २००१ साल बैशाख १४ गते इलाम जिल्लाको साविकको नामसालिङ गा.वि.स.-२ तथा हालको माई जोगमाई गाउँपालिका -३, निरौला गाउँमा जन्मिनु भएका  विष्णुकुमार शर्मा निरौलाले ४३ वर्ष ९ महिना १२ दिन शिक्षण गर्नुभयो । उहाले इलामको श्री नामसालिङ मा.वि. नामसालिङ र श्री हिमालय मा.वि. गोर्खेमा प्रधानाध्यापक भएर २२ वर्ष काम गर्नु भयो । शिक्षण पेशाबाट निवृत्त भएपछि विभिन्न सामाजिक संघ/संस्थाहरुमा क्रियाशील निरौला इलामको फिक्कलमा रहेको सूर्योदय सामाजिक प्रतिष्ठानको संस्थापक अध्यक्ष हुनुहुन्छ । साहित्यमा रुची राख्ने तथा कविता र निवन्ध विधामा कलम चलाइरहनु भएका उहाँसँग सहकारी सञ्जालले शिक्षा लगायतका विभिन्न विषयमा कुराकानी गरेको थियो । प्रस्तुत छ उहाँसँगको कुराकानी ।

१. आरामै हुनुहुन्छ ? अहिले के गर्दै हुनुहुन्छ ?

~ आरामै छु भन्नु परो । मधुमेह र उच्च रक्तचापको व्यथा १२ वर्ष अघिदेखि नै पाल्दै आएको छु । विहान , दिउसो र वेलुकी इन्सुलिन , क्याप्सुल र ट्याब्लेट खुवाएर तिनलाई फकाउँँदै छु । फूर्सदमा केही लेख्ने , साहित्यिक पुस्तकहरु पढ्ने र, टि.भी. हेर्ने गर्छु । यस बाहेक विभिन्न सामाजिक संघ – संस्थाहरुको भेलामा जाने गर्छु – इलामतिर हुँदा । काठमाडौंमा रहँदा यो पछिल्लो कुरा छुट्छ ।

२. तपाईको विवाह कहिले भएको थियो ? विवाह हुँदाको क्षण अहिले कसरी सम्झना गर्नुहुन्छ ?

~ वि.सं. २००१ साल वैशाख १४ गते मैले धरती टेकेको रहेछु ।  वुवा -आमा साथै आदरणीय जाया पिता (ससुरा) नन्दलाल भट्टराईको चाहनाले वि.सं. २०१६ फागुन १६ गते मेरो विवाह उहाँकी कान्छी छोरी (अहिले स्वर्गीय) इन्द्रकुमारीसँग भयो । विवाह किन र के भन्ने कुरा मलाई उसबेला पटक्कै थाहा थिएन । स्थानीय नौमती बाजाको प्रवन्ध त वुवाले गर्नु  भएकै थियो । यस बाहेक इलाम सदरमुकामका दुई जना विगुल बजाउने समेत बोलाउनु भएको रहेछ । बाजाको रन्को , , नरसिंगाको उराहा , ठाउँ -ठाउँमा भरुवा बन्दुक पड्काइएको , दुई /अडाई सयको जन्तीको लस्कर , शुक्रवारे बजारमा ४०/४१ घोडाको पङ्ति , अग्रपङ्तिमा म दौरा-सुरुवाल टोपी पहिरिएर घोडामा सवार भएर जाँदाको बेहुलो – सम्झन्छु अहिले झल्झली । डल्लाघारीमा लगाएको भतेर , वेहुलालाई दिएको दुई भाग । राती जग्गेमा मट्टितेलको पिलपिले उज्यालोमा पुरोहितले विवाह पद्धती पढेको , बेहुली सहित जग्गे वरिपरि ५/६ फन्का परिक्रमा गरेको , अग्नि-कुण्डबाट निस्केको उखोपात धूँवाले असाध्यै पिरोलेको , सासु-ससुराले अर्को दिन विहानै बेहुली अन्माएर बिदा दिएको ,रातभरको निद्राले सताएको र घरमा आइपुगेको सम्झना छ ।  उसवेला मलाई भावी दाम्पत्य जीवनको बारेमा केही सोच-विचार थिएन ।

३. अध्ययन कति गर्नुभयो ? शिक्षण पेशा कुन उमेरमा शुरु गर्नु भएको थियो ? कहाँ -कहाँ र कति समय यो पेशामा रहेर काम गर्नुभयो र कहिले सेवा निवृत्त हुनुभयो ?

~  वि.सं. २०१६ सम्मको स्कुलको अध्ययनले मैले एस.एल.सी. , २०२४ मा स्व-अध्ययनले आई.ए. , २०३१ सालमा वी.ए. र २०३४/३५ मा सेवाकालीन एक वर्षे बी.एड. गरेँ । यस बाहेक २०२१ सालमा संस्कृतको प्रथमा र २०२२ सालमा मध्यमा परीक्षा पनि स्व-अध्ययनले पूरा गरेँ ।

वि.सं. २०१७ जेठ १ गते मेरो शिक्षण पेशाको पहिलो दिन हो । १७ वर्षको म कलिलो शिक्षक भएर तत्कालीन नाम्सालिङ मिडिल स्कुल , जो २०१९ मा हाई स्कुल हुँदै २०२८ सालमा नयाँ शिक्षा नीति लागु भएपछि यो श्री नाम्सालिङ मा.वि.मा परिणत भएको थियो , अध्यापन शुरु गरेँ । २०३८ सालसम्म म त्यहीँ सहायक शिक्षक पदमा रहेँ । २०३९ देखि २०४८ कार्तिक २३ गतेसम्म त्यहीँ प्रधानाध्यापक भएर काम गरेँ । २०४८ कार्तिक २४ गतेदेखि २०६१ वैशाख १४ गते मेरो अनिवार्य अवकाश नहुँदासम्म इलाम कै श्री हिमालय मा.वि. गोर्खेमा प्रधानाध्यपक कै पदीय जिम्मेवारीमा रहेर काम गरेँँ । म २०६१ वैशाख १४ गते सेवा निवृत्त हुँदा जम्माजम्मी मेरो शिक्षण सेवाको अवधि ४३ वर्ष ९ महिना १२ दिन प्रमाणित भएको छ ।

४. जीवनको उर्जाशील समय शिक्षण पेशामा विताउनु भयो । अहिले पछाडि फर्केर हेर्दा कस्तो लाग्छ तपाईलाई ?

~ शिक्षण सेवा गरेदेखि निवृत्त हुँदासम्ममा मैले ४३ वशन्तहरु बिताएँछु। भर्खर जुँगाको रेखी बसेको , भर्भराउदो यौवनका साथ बगेको म कलिलो शिक्षक म त्यही पेशामा समर्पित भई क्रमश: प्रौड शिक्षकको परिचय बनाएर केश फुलेको बृद्ध शिक्षकमा परिणत भई निवृत्त भएँ । यो करिव साँढे चार दशकको कालगण्डमा आफनो सामर्थ्यले  भ्याएसम्म आफनो दायित्व पालना गरे कै जस्तो लाग्छ । यदा कदा खरो बने हुँला प्रशासनिक जिम्मेवारी निर्वाह गर्दा भने लाचार र निम्सरो पनि  बन्नु नपरेको होइन। श्री नामसालिङ मा.वि. नामसालिङमा प्रधानाध्यापक दिइदाको समयमा ममाथि अनर्गल प्रचारका साथै विभिन्न हथकण्डा अपनाई मलाई छिर्के लाउने शिक्षक मित्रहरुलाई बाँचुञ्जेल विर्सिने कुरै भएन । श्री हिमालय मा.वि. गोर्खेमा हुँदा दरवन्दी थोरै भएकोले पठन-पाठन नियमित चालु गर्न निजी स्रोतमा शिक्षकको व्यवस्था गरेको , अभिभावकहरुबाट वार्षिक एकमुष्ठ आर्थिक सहयोग संकलन गरी पारिश्रमिक वितरण गर्ने गरिएको थियो । ३ वर्षको त्यो एकमुष्ठ  आर्थिक सहयोग रु.४ लाख जति तत्काल फिर्ता गर्नु परो भन्दै उसबेला फस्टाएको जंगली समूहले मलाई विद्यालयको कार्यालयमा दिनमा तीन पटकसम्म घेर्ने गर्थ्यो । यस्तैमा तत्कालीन शाही नेपाली सेनाले माओवादीको छद्म भेषमा म लगायत सबै स्टाफ र छिमेकी एक प्रा.वि.का सबै स्टाफ गरी जम्मा २३/२४ जनालाई जिल्ला प्रशासन कार्यालय इलाममा उपस्थित भई बयान दिन बाध्य पारेको थियो । ती दिनहरु सम्झदा दु:ख लाग्छ । शिक्षक ,  उसमाथि प्रधानाध्यापक बनेर मैले किन बोझ र पीडा बोकेछु भन्ने पनि लाग्छ तर विद्यालय पार गरेर गएका मेरा विद्यार्थीहरुको उत्तरोतर प्रगति देखेर गर्वले फुलिन्छु र त्यो  कहर विर्सन्छु ।

५. शिक्षण पेशामा त्यत्रो समय विताउदा के पाएको र के गुमाएको अनुभूति हुन्छ तपाईलाई ?

~लामो समयसम्म अविछिन्न त्यो पेशामा रहेर काम गर्दा कयौँ विद्यार्थी , अभिभावक र स्थानीय समुदायबाट मैले अपार स्नेह , माया , आदर-सम्मान र शुभेच्छा कमाएको छु । त्यो आर्जन आज पनि भेट हुँदा नवीकरण हुन्छ । मेरा विद्यार्थीहरुको उत्तरोतर प्रगतियुक्त जीवनयापन देखेर म प्रफुल्लित हुन्छु । सबैसँग कसिलो बनेको मेरो परिचय नै मेरो आजीवनसम्मको सम्पति हो ।

जीवनका उर्वर दिनहरु एक पछि अर्को हुदै शिक्षण पेशामा  वितेछन् मेरा । यो पेशामा समाहित नभएको भए शायद यो कमाई कहाँ हुन्थ्यो र ! दिनहरु आफै वितेर गएछन् ! मेरा वितेका दिनहरु म अब पाउँँदिन । मैैैैले गुमाएको त्यही होला । यस वीचमाा आमा – वुवाा गुमाउनु परो । त्यो र्कै पाटो हुन हुन सक्छ तर दु:ख लाग्छ ।

६. शिक्षण पेशाबाट निवृत्त भएपछि तपाईको दिनचर्या कसरी वितिरहेको छ ?

~ दिन आफै वित्दोरहेछ । निवृत्त भएपछिको केही समयसम्म मेरो कानमा कल्याङ-मल्याङ केटाकेटीको आवाज झन्किरह्यो । विस्तारै त्यो हटेर गयो । अहिले इलामतिर हुँदा फिक्कल , गहिरी गाउँ , मालुम , कन्याम , माघे , सुन्तले , गोर्खे ,  मेहैलबोटे आदि ठाउँका शुभचिन्तकहरु तथा पुराना मित्रहरुसँग भेटघाट भइरहन्छ । कुराकानी , भलाकुशारी हुन्छ । कहिलेकाही नाम्सालिङ पनि जाने गर्छु । त्यो त मेरो आफ्नो जन्मथलो भएकोले साथीभाइ तथा मान्यजनसँग भेटघाट हुन्छ – पुरानो भइसकेको परिचय आलो हुन्छ । आफ्ना भाइहरुका परिवार तथा बन्धु-बान्धब सबैसँग कुराकानी हुन्छ।

काठमाडौंमा रहदा भने यो प्रक्रियामा केही परिवर्तन हुन्छ । छोरा बुहारी सरकारी जागीरमा छन् । एउटा नाति विहान सवेरै स्कुल जान्छ अनि साँझ ५ बजे  घर आउछ । बेलुकी सबै जना जम्मा हुन्छौँ । भोलि फेरि उही प्रक्रिया हुन्छ। दिउसो पुस्तक अध्ययन गर्छु , टि.भी. हेर्छु , फुटकर कविता कोर्छु र दैनिक १ घण्टा जति बाहिर कतै हिड्ने गर्छु । विदाको दिन प्राय: हामी सबै जना घरमै हुन्छौँ ।

७. तपाई साहित्यिक क्षेत्रमा कलम चलाउनु हुन्थ्यो नि ! अहिले के छ ?

~ केही छैन भन्न त अलि नमिल्ला । म कवितामा चाख लिने मान्छे । धेरै जसो छन्दोबद्ध फुटकर कविताहरुका साथ केही गद्य कविता पनि कोर्ने गरेको छु । मेरा ५/७ कविताहरु साहित्यिक पत्रिकाहरुमा प्रकाशित भएका पनि छन् । अब एउटा पुस्तककै रुपमा समेट्ने सोचमा छु ।

८. तपाईले शिक्षण गरेका धेरै विद्यार्थीहरु अहिले राज्यका विभिन्न क्षेत्रमा क्रियाशील देखिन्छन् । उनीहरुबाट देशले के कस्तो योगदान पाओस् भन्ने चाहनु हुन्छ ?

~ हो , मेरा उसबेलाका विद्यार्थी भाइ-वहिनीहरु अहिले राज्यका विभिन्न अंगमा कार्यरत छन् । जहाँ , जे , जसरी र जस्तो काम गर्दै रहे पनि उनीहरुबाट राज्यले निस्वार्थ र नैतिक सेवा पाउनुपर्छ । मेरो देश , मेरो माटो र मेरो मुटु सम्झेर उनीहरु खट्नुपर्छ । भ्रष्टाचार , घोटला , लुट जस्ता अमानवीय र अनैतिक कामले देश डुब्छ । आमालाई ठग्नु र लुट्नु  हुँदैन । जनताले भोको पेट राखेर तिरेको रकमबाट तलब खाएर मनपरी कदापी गर्नु हुदैन । राजनीति गर्नेहरुले पनि आफ्ना वाचा-वन्धन पूरा गर्नु पर्दछ । नीति-नियम र ऐन-कानूनमा जिम्मेवारी पाएकाहरु सबैले त्यो पालना गर्नुपर्छ ।

९, सरकारले लगानी गरेका शिक्षण संस्थाहरुको अवस्था खस्केको छ भनिन्छ । यसमा सुधार कसरी होला ?

~ पहिलो कुरा त -राज्यले नियुक्त गरेका शिक्षक -शिक्षिकाले आफ्नै छोराछोरी सम्झेर विद्यार्थीहरुलाई अध्यापन गर्नु पर्दछ । दोस्रो – उनीहरुको काम गराइको नियमित निरीक्षण , अनुगमन आदि सम्बन्धित पक्षले निष्पक्षताका साथ गर्नु पर्दछ । नाता साइनोको मुख हेराईको परिणाम राम्रो हुदैन । तेस्रो – पाठ्यक्रम तथा पाठ्यपुस्तक समयानुकूल र व्यवसायमूलक हुनुपर्दछ । पाठ्यपुस्तक देशभरी सयममै उपलव्ध हुनुपर्दछ । सरकार आफू यो गर्न सक्तैन भने निजी क्षेत्रको पनि सहयोग लिनु पर्दछ । चौथो – नीति , नियम र निर्देशन कागजमा मात्र होइन , व्यवहारमा देखिनुपर्छ। पाँचौँ – नि:शुल्क शिक्षाले गर्दा स्थानीय समुदायको ध्यान सामूदायिक विद्यालयतिर गएको  देखिदैन किनकी त्यहाँ उनीहरुको लगानी हुँदैन । निजी क्षेत्रका विद्यालयमा उनीहरूले पर्याप्त शुल्क तिरेका हुन्छन्। दिन-रात उनीहरुको ध्यान त्यता लागेको देखिन्छ । सामूदायिक विद्यालयमा पनि न्यूनतम शुल्कको व्यवस्था गरी खरो व्यवस्थापन र प्रशासन भएमा गुणस्तर उचालिन्छ। राज्यबाट तलव खाएर कामचोर बन्नेलाई तुरुन्त बर्खास्त गर्नु पर्दछ ।

१०. आधारभूत तहका धेरै सामुदायिक विद्यालयहरुलाई राज्यले अर्को विद्यालयमा गाभ्ने नीति लिएर काम गरिरहेको छ । यसबारेमा तपाई के भन्नुहुन्छ ?

~ पहिलो कुरा त – विद्यार्थी संख्या न्यून भएर वा कत्ति पनि नभएर होला त्यसो गरिएको ! त्यहाँ विद्यार्थी संख्या कम हुनाका कारणहरु पहिल्याउनुपर्छ तर त्यसो गरिएन । शिक्षण कार्यमा कमजोरी देखिनु , व्यवस्थापन पक्ष फितलो हुनु , शिक्षक -शिक्षिकाको लापर्वाही , जथाभावी राज्यले निजी स्कुल खोल्ने र सञ्चालन गर्ने अनुमति स्वीकृति दिनु , स्थानीय समूदायमा वेरोजगारी वृद्धि भई मानिसहरु अर्को ठाउँतिर बसाइँ सर्नु , नियोजित परिवारको चेतना आदि कारणले ती विद्यालयहरुको विद्यार्थी संख्यामा न्यूनता आएको हो । विद्यालय एक अर्कामा गाभिनु अहिलेलाई ठीकै जस्तो देखिए पनि भोलिको लागि यो ठीक ठहर्दैन । निजी स्कुलहरुले अवलम्वन गरेका प्रक्रियाको अनुशरण र नक्कल गराईले दीर्घकालीन रुपमा राम्रो परिणाम ल्याउदैन ।

११. अब मुलुकमा कस्तो प्रकारको शिक्षाको आवश्यकता देख्नुहुन्छ , तपाई ?

~ शिक्षा सैद्धान्तिक मात्र होइन  व्यवहारिक र प्रयोगमूलक हुनुपर्छ । दुई/चार  कक्षा पढेर  बेरोजगारी बनी विदेश जाने कार्यको अन्त्य हुनुपर्दछ । देशभित्रै पर्याप्त रोजगारी उपलव्ध हुने व्यवस्था गर्न राज्य लागी पर्नुपर्छ । प्राविधिक शिक्षा सर्व-सुलभ र कम खर्चिलो बनाउनुपर्छ । राज्यले आफ्नै स्रोत -साधन जुटाएर उद्योग-धन्दा खोल्नु पर्दछ । हाम्रो पानी बगेर विदेश जान्छ । हाम्रा स्रोत -साधनहरु विदेशलाई हामी बेच्छौँ अनि विजुली लगायतका विभिन्न सामानहरु आयात गर्छौँ । यस्तो भएपछि देश कसरी समृद्ध हुनु ? कुर्सीमा पुग्नेले छातीमा हात राखेर प्रण गर्नु पर्दछ – देशमा समृद्धि ल्याउन । विपक्षीलाई अनेकोँ तुक्काका फूलबुट्टा जोडेर गाली गर्ने समय देश बनाउन लगाउनु पदर्छ ।  देशलाई आमा सम्झनु पदर्छ ।

१२. शिक्षा क्षेत्रमा व्यापारीकरण भएर मुलुकमा भ्रष्टाचार बढेको हो ? तपाईलाई कस्तो लाग्छ ?

~एक पाटोबाट हेर्दा यो निसन्देह सत्य हो । अहिले मुलुकमा विशेष गरी चिकित्सा क्षेत्रमा सम्वन्धित निकाय र पूँजीपतिहरुले देखाएको हर्कत र हालीमुहालीले त्यस्तै देखाउछ । प्रा.डा. गोविन्द के.सी.को माग पूरा नहुनुमा राज्यको अंग मित्र भित्रै बिक्तैछ । यस्तै अर्कोतर्फ – दक्ष जनशक्ति उत्पादन गर्ने थलो भ्रष्ट बन्दैछ । धेरै भन्दा धेरै वेरोजगारहरु उपाय नभएर होला आत्महत्या  गर्दैछन् । देशभित्रै निर्मला पन्तहरु वलात्कृत भई  मारिई रहेका छन् तर राज्यको अनुसन्धान देखाउने दाँत बन्दैछ । देश दण्डहीनताको चक्रमा जेलिएको छ । हत्यारा र अपराधीहरु देशका खास सभ्य नागरिक ठानिदै गएको आभाष भइरहेको छ। बोल्नेको पीठो बिकाउन राज्य लागिपर्छ । बोल्न नसक्ने विचरा – आफ्नो बासमती चामल लिएर ग्राहक  पर्खिरहन्छन् तर उनीहरुको बासमती चामल नबिकेर त्यत्तिकै मक्काउछ । काठमाडौं र ठूला -ठूला शहरहरु मात्रै नेपाल होइन । मेची – महाकालीको विस्तृत भू-भाग समग्र नेपाल हो भन्ने सत्य कुरा ठूला – ठालुको मगजमा कहिले छिर्ला ? अरु ठाउँमा पनि मानिसहरु रोगाउछन् , विरामी पर्छन् , शिक्षा सुविधा सबैले पाउनुपर्छ भन्ने  तथ्यले यिनीहरुको घैँटोमा कहिले घाम झुल्कला ?  राज्यका विभिन्न पद र ओहदामा रहेका धेरै मानिसहरु भ्रष्टाचारमा सम्लग्न रहने गरेको तथ्य बेला -बेलामा सार्वजनिक भइरहेका छन् । यस्तै अवस्था रहदै गयो भने कतै कुनै पद र ओहदामा नभएका मानिसहरु मात्रै भ्रष्ट नहने अवस्था त आउने होइन ? यो सोचनीय विषय बनिरहेको छ ।

१३. तपाई संस्थापक अध्यक्ष हुनुभएको इलामको फिक्कलमा रहेको सूर्योदय सामाजिक प्रतिष्ठानले पहिले के ग-यो र अहिले के गर्दैछ ?

~२०७२ असोज १० गते इलामको फिक्कलमा रहेको सूर्योदय सामाजिक प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय इलाममा विधिवत रुपमा दर्ता भएको हो । शुरुमा यसको कार्यक्षेत्र उस बेलाका फिक्कल , कन्याम र पञ्चकन्या गा.वि.स. मा मात्र सिमित थियो। हामीले त्यस क्षेत्रभित्रका धार्मिक स्थलहरु , मठ- मन्दिर , देवालय , शिवालय , गुम्वा , स्तूप , विहार , देवीथान , गुफा , सिमसार क्षेत्र तथा अन्य पुरातात्विक स्थलहरुको पहिचानको लागि पर्यटकीय स्थलहरु समेत समावेश गरी सम्बन्धित ठाउँमा पुगेर फोटो लिने , ती स्थानहरुको संस्थापना , संस्थापक , हाल सञ्चालनमा भइरहेको वा नभएको अवस्था , तिनीहरुलाई सम्भावित सुधारको आवश्यकता आदिको विस्तृत विवरण संकलन गरेको एक पुस्तिका स्थानीय सूर्योदय नगरपालिकामा दिएका छौँ । यस बाहेक स्थानीय माध्यमिक विद्यालयहरुका विद्यार्थीहरु सम्मिलित गराई हाजिरी जवाफ , निवन्ध प्रतियोगिता , साहित्यिक गोष्ठी ,  खुल्ला कविता गोष्ठी आदि विभिन्न प्रतियोगिताहरु सञ्चालन ग-यौँ । वर्तमान अवस्थामा सूर्योदय नगरपालिकाको क्षेत्र श्रीअन्तु , समालबुङ्ग , पशुपतिनगर , गोर्खे , लक्ष्मीपुर र साविकको फिक्कल , कन्याम र पञ्चकन्या समेत समावेश भई विस्तृत भएको हुँदा यस प्रतिष्ठानको कार्यक्षेत्र पनि विस्तृत भएको छ । क्षेत्रभरीका माथि बनिए जस्तै धार्मिक स्थलहरु , पर्यटकीय स्थलहरु , सिमसार क्षेत्रका साथै अन्य विविध सांस्कृतिक सम्पदाहरुको अवलोकन , तिनीहरुको परम्परागत सञ्चालन , संस्थापकहरुको परिचय , तिनीहरुमा हाल देखिएका आवश्यक सुधारका सम्भावना आदि क्षेत्र समेटी एक विस्तृत पुस्तक प्रकाशन गर्ने , जसमा विभिन्न जात-जातिको संस्कृति , परम्परा , लिपि , भाषा आदि समेत त्यस पुस्तकमा उल्लेख गर्ने यो प्रतिष्ठानले निर्णय गरेको छ । आउँदा वर्षहरुमा पनि विद्यार्थीहरु वीचमा विभिन्न रचनात्मक प्रतियोगिता , विभिन्न राष्ट्रिय दिवस , जात -जातीका झाँकी , जेष्ठ नागरिक सम्मान आदि आयोजना गर्ने यस प्रतिष्ठानको चौथो साधारणसभाले निर्णय गरेको छ । प्रतिष्ठानको एक कार्य समिति छ । यसमा २८० जना जति आजीवन सदस्य तथा साधारण सदस्यहरु रहेका छन् । यसको आर्थिक पक्ष भने अलि दुर्वल छ ।

४. अन्त्यमा केही भन्नु छ कि ?

~ खै के भनौँ ! राज्यको जिम्मा अब दोस्रो पुस्तामा आए केही हुन्थ्यो कि ! अहिलेको जिम्मेवार पुस्ताको बल , बुता , कार्यशैली र व्यवहार आँखा भरि भरि हेरियो । गणतन्त्र त बोलीमा मात्रै आएछ । व्यवहारमा उही सामन्ती शैली छ ।

शिक्षा व्यवहारिक हुनुपरो । काठमाडौं र ठूला शहरहरु मात्रै नेपाल होइन । मेची – महाकाली भित्रका सबैले राज्यबाट शिक्षा , स्वास्थ्य र अन्य आधारभूत सुविधा पाउनु पदर्छ । हिंसा , हत्या र अपराध गर्नेलाई कठोर सजाय दिनु पदर्छ । राजनीतिले दण्डहीनताको छाता नओडोस् । भ्रष्टचारीहरु नउम्कून् । सबैले देशलाई आफ्नो मुटु सम्झनु पर्छ , बस्… !

 

Leave a Reply