ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सबैमा श्रद्धाञ्जलि

– अर्जुन कार्की
यही पुस १५ गते ताप्लेजुङको पाथिभरामा दर्शन गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटना हुदा संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित सो हेलिकप्टरमा सवार सातै जनाको दु:खद निधन भयो । सर्वप्रथम त उहाँहरु सबैमा हार्दिक श्रद्धाञ्जलि अनि उहाँहरुको आकस्मिक दु:खद निधनले शोकाकुल सबैमा हार्दिक समवेदना ।
सो दुर्घटनामा दिवंगत सबै जनाले मुलुकका लागि आ-आफ्नो क्षेत्रबाट सकेजति योगदान दिनु भएको थियो तर पर्यटन मन्त्री अधिकारीको मात्र चर्चा हुँदा अरुको योगदान ओझेलमा परे जस्तो देखिन्छ । त्यसो गर्नु राम्रो होइन । रविन्द्र अधिकारी एउटा राजनीतिकर्मी र देशको जिम्मेवार मन्त्री भएकोको कारण उहाँको बढी चर्चा हुनु स्वभाविकै हो तर अरुको योगदानलाई पनि सम्झने र तिनको मुल्यांकन गरिनु आवश्यक छ ।
मौसम खराव भई रहेको बेला ताप्लेजुङको पाथिभरा क्षेत्रमा हेलिकप्टर उडान गरिरहदा त्यहाँको वातावरणीय र प्राविधिक पक्षको अध्ययन पर्याप्त मात्रामा भए जस्तो देखिदैन । जसका कारण मुलुकले क्षति बेहोर्नु परो ।
यस पटक पनि घटना घटेपछि छानविन आयोग बन्यो । त्यो आयोगले प्रतिवेदन दिने नै छ तर त्यो प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास गर्ने अवस्था छैन किनकी जब घटना घट्छ, तब त्यसबारेमा चर्चा परिचर्चा हुने , छानविन आयोग बन्ने र आयोगले प्रतिवेदन दिने तर त्यो प्रतिवेदन रद्दीको टोकरीमा फालिने चलन जस्तै बनेको छ हाम्रो देशमा। यस पटक पनि त्यो नहोला भन्ने अवस्था छैन । अब त्यो चलन बदल्न सके राम्रो हुने थियो ।
मिलनसार र गतिशील रविन्द्र अधिकारी
पुस १५ गते दिवंगत राजनीतिकर्मी एवं संस्स्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सुझबुझ , जोस , जाँगर र गतिका साथ काम गरिरहनु भएको थियो । उहाँले आफ्नो विभागीय मन्त्रालय अन्तर्गत उल्लेखनीय काम गर्नु भएको छ । कला र संस्कृतिको विकासमा त उहाँ लागि पर्नु भएको थियो नै , त्योसँगै पर्यटनको आधार निर्माणमा उहाँ लागिरहनु भएको थियो । विशेष गरी हवाई उड्डयन र धावनमार्ग निर्माण उहाँको प्राथमिकतामा रहे । उहाँको योगदानले त्यसमा सफलता पनि प्राप्त गरिरहेको थियो । जसरी अनेरास्ववियूमा रहदा नेपालको राजनीतिक तथा विद्यार्थी आन्दोलनमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो । २०५३ देखि २०५८ सालसम्म सँगै र त्यसपछि अलि पर रहेर मैले उहाँलाई बुझ्ने मौका पाएको थिएँ ।
यति हो , नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रक्रियामा भएको अनियमिततामा उहाँको नाम जोडियो । उहाँले त्यसलाई अस्वीकार गरिरहनु भएको थियो । त्यसमा उहाँको सम्लग्नता थियो या थिएन , त्यसबारेमा छानविनको टुङ्गो नलाग्दै उहाँ अस्ताउनु भयो ।
उहाँले अगाडि बढाएका योजनाहरु कसरी अगाडि बढ्छन् , त्यो त आउदा दिनमा देखिएला नै । तिनलाई त्यही गतिमा अगाडि बढाउदै र तिनमा विकासका अरु इटा थप्न सकियो भने उहाँप्रति श्रद्धाञ्जलि हुने देखिन्छ ।
उहाँसँग दाम्पत्य जीवन शुरु भएपछि राजनीतिमा निस्कृय जस्तै बन्नु भएकी अनेरास्ववियूको केन्द्रीय समिति सचिवसम्मको जिम्मेवारीमा रहेर नेपालको राजनीति र विद्यार्थी आन्दोलनमा उर्जाशील समय व्यथित गरी महत्वपूर्ण योगदान गर्नु भएकी विद्या भट्टराई पुन: सक्रिय राजनीतिमा आउनु हुने हो या होइन , त्यो पनि भावी दिनमा देखिएला । हसिलो , मृदुभाषी , गतिशील र अध्ययनशील पूर्व विद्यार्थी नेता विद्या भट्टराई पुन : सक्रिय राजनीतिमा आएर पति रविन्द्र अधिकारीले छाडेका अधुरा कामलाई अगाडि बढाउन भूमिका खेल्नु सक्नु भयो भने र त्यसका निम्ति लाग्न उहाँको राजनीतिक सामिप्यता रहेको राजनीतिक दलले उहाँलाई वातावरण निर्माण गर्न सक्यो भने रविन्द्र अधिकारीप्रति सम्मान हुनेछ । विद्या भट्टराईका निम्ति त्यो वातावरण बनोस् । यस शोकको घडीमा पूर्व विद्यार्थी नेता विद्या भट्टराई र उहाँको परिवारमा पुन: हार्दिक समवेदना ।
( कार्की अखिल (एकीकृत) का पूर्व अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य हुन् ।)
