हेलिकप्टर दुर्घटनामा दिवंगत पर्यटन मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न , मन्त्री अधिकारीको शव पोखरा लगिदै , वाकी ६ जनाको शव परिवारलाई जिम्मा

यही पुस १५ गते ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा एयर डाइनेष्ट्रीको हेलिकप्टर दुर्घटनामा परी दिवंगत संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी , यति एयरलाइन्सका प्रवन्ध निर्देशक आङ छिरिङ शेर्पा , नेपाल नागरिक उडड्यन प्राधिकरणका उप-महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ , निर्देशक धुर्व भोछिभोया  प्रधानमन्त्री कार्यालयका उप-सचिव युवराज दाहाल , हेलिकप्टरका पाइलट प्रभाकर के.सी र  मन्त्री अधिकारीका पी.एस.ओ. तथा नेपाली सेनाका जमदार अर्जुन घिमिरेको पार्थिव शरीर काठमाडौंको खुल्ला मञ्चमा आज विहान ८:०० बजेदेखि ११:०० बजेसम् राखी उहाँप्रतिको श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको छ । त्यस समयमा राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , सभामुख कृष्णबहादुर महरा , मन्त्रीहरु , राज्यका उच्च ओहोदामा रहेका व्यक्तिहरु , राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु लगायतले उहाँहरुको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिनु भएको थियो ।

हिजो नै उहाँहरुको पार्थिव शरीर खुल्ला मञ्चमा श्रद्धाञ्जलिका लागि राखिने बताइएको थियो । हिजो खराव मौसमका कारण ताप्लेजुङबाट उहाँहरुको पार्थिव शरीर  काठमाडौं ल्याउन ढिला भएपछि सो कार्ययक्रम आजका लागि सारिएको थियो ।

पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य  रविन्द्र अधिकारीको पार्थिव शरीरमा  प्रधानमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय झण्डा र नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जलि दिनु भएको थियो ।

श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएपछि मन्त्री अधिकारीको शव पोखरा लगिदै छ । पोखरामा  श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएपछि आजै अपरान्ह ४:०० बजे पछि शव यात्रा गरी सेती नदीको रामघाटमा राजकीय सम्मानका साथ उहाँको अन्त्यष्टि गरिने कार्यक्रम रहेको र उहाँको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिने बताइएको छ ।

यता बाकी ६ जनाको पार्थिव शरीरउहाँहरुका परिवार र आफन्तलाई जिम्मा लगाइएको छ ।

 

Leave a Reply