वाम आन्दोलनका पहिलो पुस्ताका नेता भरतमोहन अधिकारीको रहेन चोला

विगत लामो समयदेखि अस्वस्थ भई अस्पताल भर्ना भएर उपचाररत नेपालको वाम आन्दोलनका  पहिलो पुस्ताका नेता तथा पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीका सहोदर कान्छा भाइ भरतमोहन अधिकारीको  ८२ वर्षको उमेरमा हिजो बेलुका ९:३५ बजे ह्याम्स  अस्पतालमा निधन भयो । उहाँका श्रीमती र तीन छोरीहरु हुनुहुन्छ ।

वि.सं. १९९३ बैशाख २२ गते रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीका कान्छा छोराको रुपमा  जन्मिनु भएका  नेता अधिकारी वि.सं. २००८ सालदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा प्रवेश गरी निरन्तर लागिरहनु भएको  थियो । २०१९ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनमा केन्द्रीय समितिमा चयन हुनुभएका उहाँ त्यसपछि नेपाल कम्युनिष्ट पार्टी विभाजन भई २०२५ सालमा गठित नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समुह) लाई चुनौती दिदै  मनमोहन अधिकारी , मोहन विक्रम सिंह र शम्भुराम श्रेष्ठले  २०२८ सालमा बनाएको न्युक्लियसमा सहभागी हुनुहन्थ्यो । मोहन विक्रम सिंह र शम्भुराम श्रेष्ठसँग मतभेद भएपछि मनमोहन अधिकारीको अगुवाई  छुट्टै पार्टीका रुपमा गठन भएको नेपाल कम्युनिष्ट पार्टी (मनमोहन समुह) को महत्वपूर्ण नेताको भूमिकामा रहनु भएका उहाँ २०४३ सालमा नेकपा (मनमोहन समुह) र नेकपा(साहना समुह) वीच एकता भई बनेको नेकपा (मार्क्सवादी) मा पनि उहाँ महत्वपूर्ण केन्द्रीय भूमिका मै हुनुहुन्थ्यो । २०४६ सालको जनान्दोलनमा विभिन्न बाम दलहरु मिलाएर संयुक्त वाम मोर्चा बनाउने कार्यमा उहाँको भूमिका महत्वपूर्ण रहेको जानकारहरु बताउछन् । २०४७ सालमा नयाँ संविधान निर्माणमा पनि उहाँको उल्लेखनीय भूमिका रहेको थियो ।

२०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा ( मार्क्सवादी) वीच एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी र लेनिनवादी) , जो पछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बनेको थियो , बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका अधिकारी २०४८ , २०५१ र २०५६ मा मोरङ – २ नं. क्षेत्रबाट संसदको प्रतिनिधिसभामा  निर्वाचित  हुनुभयो भने २०६४ र २०७० सालमा संविधानसभा सदस्य भएर संविधान निर्माणमा महत्वपूूूूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

नेकपा(माले) र नेकपा (मार्क्सवादी) वीच एकता भई नेकपा (एमाले) बनेपछि पनि उहाँ सो दलको केन्द्रीय कमिटिमा रहनु भएको थियो । नेकपा (एमाले) को लामो समयसम्म स्थायी कमिटि सदस्य रहेर काम गर्नु भएका अधिकारी तत्कालीन नेकपा (एमाले)को पछिल्लो महाधिवेशनपछि भने सो दलको केन्द्रीय भूमिकाबाट हट्नु भएको थियो ।

२०५१ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने अल्पमतको सरकारका अर्थमन्त्री रहनु भएका अधिकारीले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई रु. १०० वृद्ध भत्ता वितरणको शुरुवात गर्नु भयो भने आफ्नो गाउँ, आफै बनाऊँ जस्ता लोकप्रिय कार्यक्रममा बजेट छुटट्याई स्थानीय तहमा रु. ३ लाख बजेट सिधै प्रदान गर्ने व्यवस्था बजेट वक्तव्य मार्फत गर्नुभयो । उहाँले रु. १०० बृद्ध दिने व्यवस्था शुरु गरी कम्युनिष्टको सरकारले ६० वर्ष कटेका बुढाबुढीलाई गोली हानी मार्छ भन्ने अफवाहलाई हटाउनु भएको थियो ।

२०५१ सालपछि उहाँ पटक -पटक मन्त्री हुदै उप-प्रधानमन्त्रीसम्म बन्नुभयो । २०५१ सालमा अर्थमन्त्री हुँदा राम्रो काम शुरुवात गरेपनि त्यसपछि मन्त्री बनेर उहाँले गरेका कतिपय काम  कारवाही र  उहाँको व्यक्तिगत कार्यशैलीप्रति आलोचना भएको पनि सुन्ने गरिएको थियो ।

अर्थशास्त्र विषयमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नु भएका स्व. अधिकारीले २०४६ साल अगाडि कानुन व्यवसाय र बेलाबखत प्राध्यापन पनि गर्नु भएको बताइन्छ । उहाँका वित्त सम्बन्धी पुस्तकहरु एवम विभिन्न लेख रचनाहरू प्रकाशित छन् ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले विहान ९:०० बजेदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ । विभिन्न दलका नेता , कार्यकर्ताहरु एवं विभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुले उहाँप्रति श्रद्धाञ्जलि दिने कार्य भइरहेको छ । अपरान्ह १२:०० बजेपछि शव यात्रा गरी उहाँको सम्मानका साथ पशुपति आर्यघाटमा  अन्त्येष्टि गरिने बताइएको छ ।

Leave a Reply