सरकार र सी.के. राउत वीच भएको सम्झौताको १० विद्यार्थी संगठनद्वारा विरोध

राष्ट्रिय अखण्डतामा खलल पुग्ने गरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र सी.के. राउत वीच गत शुक्रवार भएको ११ बुँदे सहमतीको १० विद्यार्थी संगठनले विरोध गरेका छन् । हिजो अखिल(पाचौँ) को केन्द्रीय कार्यालय , रातोपुल , काठमाडौंमा बसेको १० विद्यार्थी संगठनको संयुक्त बैठकले अन्यौलमा रहेको स्व.वि.यू. को निर्वाचन कार्यतालिका बनाई तत्काल गर्न र नुवाकोट जिल्लामा रहेको आदर्श बहुमुखी क्याम्पसमा त्रि.वि.को नियम विपरीत प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुन गइरहको स्व.वि.यू. निर्वाचन तत्काल स्थगित गर्न माग गरेको छ ।
१० विद्यार्थी संगठनहरुको संयुक्त बैठकपछि अखिल (पाँचौँ) का अध्यक्ष घनश्याम मिश्र , अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल , ने.वि. संघका पूर्व उपाध्यक्ष ऋषिकेश जङ्ग शाह , समाजवादी विद्यार्थी फोरम , नेपालका अध्यक्ष विवेक राई , अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्र, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष चिरञ्जीवी यादव , अखिल (क्रान्तिकारी) का महासचिव सुन्दर रायमाझी , प्रगतिशील विद्यार्थी यूनियनका अध्यक्ष श्यामबाबु गौतम , राष्टियवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्याल र ने.आ.ज. वि. महासंघका अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तीमा राजनीतिक आन्दोलनमा क्रियाशील नेत्रविक्रम चन्द (विप्लप) ले नेतृत्व गर्नु भएको नेपाल कम्युनिष्ट पार्टीले उठाएका राजनैतिक मुद्धाहरुलाई वार्ता र संवादको माध्यबाट राजनैतिक रुपमै समाधान गर्न र थारु आन्दोलन लगायतका जायज राजनैतिक विषयलाई राजनीतिक तवरबाटै सम्बोधन गर्न , गण्डकी मेडिकल कलेज ,पोखरामा भएको भ्रष्टाचार छानविन गर्न विद्यार्थीको जायज माग पूरा गर्दै परीक्षामा र पठन पाठनमा सहभागी हुने वातावरण बनाउन र इन्जिनियरिङ , कृषि तथा वन विज्ञान विश्वविद्यालय लगायतमा भएको अनियमितता अन्त्य गर्न जोडदार माग गरिएको छ । वाइडवडी भ्रष्टाचार , Nceell को कर छली , सुनकाण्ड र निर्मला पन्तको बलात्कारपछि हत्या विरुद्धको संघर्षको निम्ति तयार रहन आम जनसमुदायमा सो विज्ञप्ति मार्फत अपील गरिएको छ ।