राष्ट्रिय सहकारी बैंकले २नं. प्रदेशको गरिवी निवारणलाई प्राथमिकता दिएको छ ।

– के.वी.उप्रेती , अध्यक्ष , राष्ट्रिय सहकारी बैंक लि.
आफ्नो कर्मले सहकारी क्षेत्रमा लोकप्रिय बन्नु भएका के.वी. उप्रेती राष्ट्रिय सहकारी बैंक लि.को अध्यक्ष हुनुहुन्छ । विद्यार्थी आन्दोलन हुदै २०५० सालदेखि नेपालको सहकारी अभियानमा निरन्तर क्रियाशील हुनुहुन्छ उहाँ । जिल्ला सहकारी संघ लि., काठमाडौंको अध्यक्ष हुदै राष्ट्रिय सहकारी बैंक लि.मा उहाँको यात्रा अगाडि बढेको थियो । नेपालको वामपन्थी राजनीतिमा क्रियाशील उहाँले लामो समय राष्ट्रिय सहकारी बैंक लि.को प्रवन्ध सञ्चालकको जिम्मेवारीमा रहेर कार्य गर्नुभयो । उहाँ मिलनसार , मृदुभाषी र अध्ययनशील हुनुहुन्छ।
राष्ट्रिय सहकारी बैंक लि. लगायतका विषयमा केन्द्रित रहेर सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले उहाँसँग कुराकानी गर्नु भएको थियो । जो यस प्रकार छ ।
१. राष्ट्रिय सहकारी बैंक लि.को अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा तपाईलाई सहकारी सञ्जालको तर्फबाट हार्दिक बधाई अनि कार्यकाल सफलताको शुभकामना ।
~धन्यवाद ।
२.राष्ट्रिय सहकारी बैंक लि.को अध्यक्ष भएपछि तपाईका दिनहरु कसरी बितिरहेका छन् ?
~ बैंकमा गर्नु पर्ने नियमित कामका साथै भेटघाट , अन्तर्क्रिया , सुझाव संकलन , स्वागत ग्रहण जस्ता कार्यक्रमहरुका साथ अगाडि बढिरहिएको छ ।
३.यस बैंकको अध्यक्ष भएपछि कस्तो कार्यक्रम बनाउदै हुनुहुन्छ ?
~ खास गरी धेरै Programme भन्दा पनि निक्षप या बचत बढाउने , शेयर बढाउने , नयाँ -नयाँ प्रविधिको प्रयोग गर्ने , अन्तराष्ट्रिय सम्बन्ध थप बढाउने नै हुन्छ- प्राय: बैंकको । त्यसमध्ये हामीले के के गर्ने भनेर ४ वर्षे स्टाटिक प्लानिङ तयार गरिरहेका छौँ । यही चैत्र ११ गते बस्ने हाम्रो बैठकबाट त्यसलाई पास गरेर अगाडि बढ्छौँ ।
हाम्रो नेटवर्क जहाँ – जहाँ छ ,थप बनाएर र नेटवर्क या शाखा नभएको कारणले जुन समस्या परिरहेको छ , त्यसलाई शाखा वा संकलन केन्द्रमध्ये के हुन्छ , त्यसलाई क्रमश: वृद्धि गर्ने , यो अनलाइनलाई अलि व्यवस्थित गर्ने र अनलाइनबाटै खाता खोल्न पाउने व्यवस्था गर्ने , नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने र त्यसैमार्फत फण्ड ट्रान्सफर गर्ने लगायतका सबै सेवाहरु उपलव्ध गराउने एक्सरसाइज गरिरहेका छौँ । एक्सरसाइज गरी सकेपछि यसलाई चार वर्षमा यो बैंकको शेयर सदस्य , शेयर पूँजी , निक्षेप या बचत , कूल कारोवार लगायत दोब्बरले वृद्धि गर्ने कुराहरुलाई अगाडि बढाउने योजना छ ।
४.यस बैंकको यस अघिको सञ्चालक समितिले गरिरहेको के के कार्यक्रमलाई निरन्तरता दिदै हुनुहुन्छ ?
~ यस बैंकको यस अघिको सञ्चालक समितिमा पनि म कार्यकारी प्रमुख थिएँ । हामीले जुन यहाँसम्म ल्यायौँ , त्यो सकारात्मक नै छन् । त्यसलाई थप स्पीडमा लाने हो । पहिला यहाँ एउटा पक्षको मात्रै सञ्चालक समिति भयो भन्ने आक्षेप थियो , अहिले सर्वपक्षीय छ । फलानो प्रदेशमा पद रिक्त छ , पूरा गर्नु परो भन्थे , त्यो पूरा ग-यौँ । महिलाको प्रतिनिधित्व कम भयो भन्ने थियो , त्यसलाई ३३ प्रतिशत बनायौँ । अहिले यहाँ सातै प्रदेशबाट प्रतिनिधित्व भएको छ । शुरुवाती समयदेखिको बखान साकोसदेखि सबैभन्दा बढी सदस्य संख्या भएको साहरा नेपाल सहकारी संस्थासम्मलाई प्रतिनिधित्व गराएका छौँ । यी सबै कारणले पूर्व कुरालाई निरन्तरता दिदै , तिनलाई थप व्यवस्थित , वैज्ञानिक र प्रविधियुक्त बनाउने । नयाँ – नयाँ कार्यक्रमहरु अगाडि बढाउने छौँ ।
५.तपाईको कार्यकालमा अन्य कुनै नयाँ थप कार्यक्रम पनि आउदैछ कि ?
~ मैले माथि भनेकै कार्यक्रमहरु हुन् । तिनलाई थप प्रविधियुक्त बनाउने , फण्डका लागि आइटीको उपयोग गर्ने , आईटी मार्फत फण्ड ट्रान्सफर गर्ने , शाखा तथा सेवा केन्द्र विस्तार गर्ने कुराहरु नै हुन् ।
६.तपाईले यो बैंकको अध्यक्ष पदको सफथ ग्रहण गर्दै गर्दा आफ्नो यो ४ वर्षे कार्यकालमा यसको शेयर सदस्य , शेयर पूँजी , निक्षेप तथा कूल कारोवार त्यसबेलाको भन्दा दोव्वरभन्दा बढी पु-याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । त्यसबारेमा के गर्दै हुनुहुन्छ ?
~ मैले माथि उल्लेख गरेकै कार्यक्रमहरु नै हुन् । भइरहेका पुरानामा थप गर्ने र नयाँ -नयाँ प्रविधिको प्रयोग गर्दै अगाडि बढ्छौँँ ।
७. तपाईले सो बैंकको अध्यक्ष पदमा निर्वाचित हुँदै गर्दा राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडालले देशका ७ प्रदेशहरुमध्ये २ नं. प्रदेशमा सबैभन्दा बढी गरिवी रहेको आँकडा प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय सहकारी बैंक लि.ले २ नं. प्रदेशको गरिवी निवारणलाई सहयोग पुग्ने कस्तो कार्यक्रम अगाडि बढाउदै छ ?
~२ नं. प्रदेशलाई हाम्रो प्राथमिकता छ देशभरमा । अहिले ७७ जिल्लाहरु छन् तर यो बैंकका शाखाहरु ४४ वटा मात्रै छन् । २ नं. प्रदेशका आठै वटा जिल्लाहरुमा हामीले आठै वटा शाखा खोलिसक्यौँ । हाम्रो पहिलो प्राथमिकता २ नं. प्रदेशलाई माथि ल्याउने , त्यसपछि कर्णाली प्रदेशलाई माथि ल्याउने अनि त्यसपछि अरुलाई अगाडि बढाउने हो । हाम्रो हरेक कार्यक्रमहरु- चाहे सदस्य बनाउने कुरामा होस् , चाहे गोष्टि होस्, चाहे अन्तर्क्रिया होसा , चाहे छलफल होस् ,चाहे तालिम लाने कुरा होस् , चाहे कुनै भ्रमण गराउने कुरा होस् , यसमा २ नं. प्रदेशलाई बढी प्राथमिकता दिएका छौँ । २ नं. प्रदेशबाट पहिले यहाँ प्रतिनिधित्व थिएन , अहिले २ जनाको प्रतिनिधित्व छ । २ नं. प्रदेशको गरिवी निवारणलाई मद्धत पुग्ने ढंगबाट यस बैंकले प्राथमिकता दिएको छ । यस ढंगबाट हाम्रा कार्यक्रमहरु अगाडि बढाइरहेका छौँ ।
यो आर्थिक वर्षमा तपाईहरुले यसका कति वटा शाखा विस्तार गर्ने योजना बनाउनु भएको छ ?
८. यो आर्थिक वर्षको अब ४ महिनाजति मात्रै बाँकी रहेको छ । हामीले चाहेर मात्रै हुदैन । राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ । सहकारी विभागबाट स्वीकृति लिनु परो । सम्भाव्यता अध्ययन गर्नु परो । जति सक्तो त्यही १०,१५ या २० वटा ,कति सकिन्छ , सेवा केन्द्र या अरु जे होस् , हाम्रो विस्तार गर्ने योजना छ । हेरौँ -सम्भावना कति रहन्छ । यदी त्यो नभएमा यो आर्थिक वर्षभित्रसम्ममा सबै सैद्धान्तिक र स्वीकृतिको फेज टुङ्ग्याएर साउनदेखि विस्तार गरेर लान सकिन्छ ।
९.यस बैंकमा तपाई अध्यक्ष भएपछि शेयर सदस्य , शेयर पूँजी ,निक्षेप या बचत , कर्जा प्रवाह र कूल कारोवार कति घडबढ भयौ नि ?
~ म अध्यक्ष भएपछि यसबेलासम्म यो बैंकमा शेयर सदस्य १०,२१८ बाट बढेर १२,२१८ जति , शेयर पूँजी रु.२० करोडबाट बढेर रु.४१ करोड जति ,कर्जा प्रवाह रु. १४ अरवबाट बढेर रु. १८ अरव जति , कूल कारोवार रु.२२ अरवबाट बढेर रु.२५ अरव जति र निक्षेप या बचत रु २० अरव जति छ । वीचमा निक्षेप चटेको थियो । अहिले मेकअप हुँदैछ ।
१०. यो बैंकको १५औँ वार्षिक साधारणसभाको तयारी भई रहदा धेरै सहकारीकर्मीहरुले के.वी. उप्रेती यस बैंकको अध्यक्ष भन्नुभयो भने यो बैंक र सहकारी क्षेत्रलाई राम्रो हुन्छ भनेर तपाईलाई यसको अध्यक्ष बनाउने चाहना प्रकट गरे र तपाई अत्याधिक मतका साथ यो बैंकको अध्यक्ष पनि बन्नुभयो । अब उनीहरूका अपेक्षा तपाई कसरी पूरा गर्नु हुन्छ ?
~ क्रमश: संकेतहरु देखिई सके। उहाँहरुको अपेक्षालाई म पूरा गर्छु भन्ने आशा लिएको छु । लविङ गर्ने , उहाँहरुको काममा सहजीकरण गर्ने लगायतका काम गर्नेछौँ ।
१२.कतिपय सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी बैक लि.ले आफूलाई कर्जा प्रवाह गर्दा व्याज दर कम गरी दिए हुन्थ्यो भनिरहेका छन् । यस बारेमा तपाईको के भनाई छ ?
~ व्याजदरमा चाहिँ कति पैसामा डिपोजिटलाई कति व्याज दिइयो , लगानीलाई कति व्याज पायो , त्यो मार्जिन हो स्पीडहेड कायम गर्ने । स्पीडहेड कायम गरी सबैभन्दा कम ४ प्रतिशतमा लगानी गर्छौँ । त्यो गर्नुको कारण चाहिँ बजारमा डिपोजिट रेट हाई हुन सक्छ , लो पनि हुन सक्ला अनि कर्जाको रेट पनि हाई हुन सक्छ ,लो पनि हुन सक्ला । सामान्यतया कमर्शियल बैंकको भन्दा हाम्रोमा व्याज दर बढी छैन ।
१३. तपाई त काठमाडौंको पीपल्स क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापति पनि हुनु भएको थियो क्यार ! विद्यार्थी राजनीति हुँदै यहाँसम्म आई पुग्दा तपाईले कुनै उतार चढाव पनि भोग्नु भयो कि ?
~ हो , म २०४५ सालमा पीपल्स क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापति भएँ ।
थुप्रै खाले उतारचढावहरु आए । कहिलेकही के समस्या आउछ । केही च्यालेञ्जहरु आउछ । त्यसलाई फेस गर्दै समस्या समाधान गर्न अगाडि बढेको कुरा थुप्रै छन् । विशेषत: ती थुप्रै कुराहरुलाई सामाजिकसँगै टायब गर्दै समस्यासँग फेस गर्दै आफ्नो समस्यालाई पनि समाधान गर्दै संस्थाको समस्या समाधान गरी अरुको समस्यालाई पनि क्रमश: समाधान गर्दै हिड्ने कुरामा म लागिरहेको छु । त्यसको च्यालेञ्ज र अपनडाउन प्रसस्तै भएका छन् । त्यसलाई समाधान गर्दै अगाडि बढिरा’छु।
१४. सहकारी अभियानमा चाहिँ तपाई कहिलेबाट लाग्नु भो ?
~ २०५० सालबाट लागेँ ।
१५. २०७५ सालबाट २०५० सालतिरको सहकारी अभियानको तपाईको आफ्नो यात्रालाई फर्केर हेर्दा कस्तो लाग्छ ?
~ २०५० सालबाट सहकारी क्षेत्रमा आएपछि धेरै प्रगति भा’छ । मेरो पनि सिक्ने क्रममा धेरै सुधार भा’छ । सहकारीमा पनि संख्यात्मक धेरै विकास भएको छ । उनीहरूका अरु व्यवसायमा पनि धेरै प्रगति भएको छ । अलिकति संख्यात्मक रुपमा जुन ढंगले विकास भएको छ , त्यसलाई गुणात्मक हिसावले लान सकिएको छैन । अब त्यो संख्यात्मकलाई गुणात्मक विकास गर्नु आवश्यक छ ।
१६.सहकारी ऐन , २०७४ ले बहुउद्देश्यीय सहकारी संस्थालाई २०७७ असोजसम्ममा आफ्नो मुख्य उद्देश्य अनुरुपको काम गर्नुपर्छ भनेको छ तर उनीहरु यसबारेमा सहकारी ऐन , कानुनमा स्पष्ट
नभएकोले आफूहरू अन्यौलमा रहेको बताइरहेका छन् । यो बैंकले उनीहरुलाई फ्यासिलेटर गर्ने कुरा केही छ ?
~ राष्ट्रिय सहकारी बैंक लि.ले उनीहरुलाई फ्यासिलेटर गर्छ । उनीहरुको छुट्टै इण्डिकेटरहरु र व्यवसायिक ट्रेडिङ बढाउने योजना छ । उनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग समन्वय गरेर गैर बचतका काम गर्न सिकाउने र सहजीकरण गर्ने काम हुन्छ । त्यसै अनुसार अगाडि बढ्छौँ ।
१७. कृषि , माहुरीपालन लगायतका सहकारी संघ/संस्थाहरुलाई यो बैंकले कुनै सहयोग गर्दैछ कि ?
~ कृषि र कृषिसँग सम्बन्धितलाई हाम्रो वित्तीय सहयोगमा नि प्राथमिकता छ । प्राविधिक सहयोग दिन पनि एक्सरसाइज गरिरहेको छौँ , सहयोग गछौँ । व्यवसायिक हिसावले पनि सहयोग गर्छौँ । टेक्नोलोजीको हिसावले पनि सहयोग गर्न तयार छौँ । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा उनीहरुलाई हाम्रो प्राथमिकता छ ।
१८.यस बैंकको अन्तर्राष्ट्रिय सहकारी संघ / संगठनहरुसँगको सम्बन्ध बारे केही बताउनु हुन्छ कि ?
~यो बैंक अन्तर्राष्ट्रिय सहकारी महासंघ , ICA , एसियन ऋण महासंघ र सिक्ट्यापको सदस्य छ । नेडा भन्ने कृषि सम्वन्धी अन्तर्राराष्ट्रिय सहकारी संघमा म उपाध्यक्ष छु । नेपालका सहकारीहरुको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रिय सहकारी बैंक लि.नै छ ।
१९. अन्तमा केही भन्नु छ कि ?
~ जो सहकारी संघ/संस्थाहरु राष्ट्रिय सहकारी बैंक लि.को सदस्य बन्नु भएको छैन । उहाँहरुलाई यस बैंकको सदस्य बन्न र यसको सदस्य भइकन पनि जसले कारोवार गरिरहनु भएको छैन , उहाँहरु सबैलाई यस बैंकमा नियमित कारोवार गरेर एक अर्कामा सहकार्य गरेर अगाडि बढानको लागि म सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई अनुरोध गर्न चाहन्छु ।