सहकारी नियमावली सहकारीको हितमा होस्

-अरविन्द चन्द्र अमात्य , अध्यक्ष , अर्थ बहुउद्देश्यीय सहकारी संस्था लि. , लगनखेल , ललितपुर
ललितपुरको लगनखेलमा रहेको अर्थ बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष अरविन्द चन्द्र अमात्य अध्ययन र कार्य अनुभवले पाका सहकारी अभियानकर्मी मानिनुहुन्छ । बहुउद्देश्यीय सहकारी सघ लि., ललितपुरका लेखा समिति सदस्य समेत रहनु भएका उहाँ सिर्जनशील , मेहनती र मिलनसार सहकारीकर्मीको रुपमा परिचित हुनुहुन्छ । उहाँको नेतृत्वमा रहेको अर्थ बहुउद्देश्यीय सहकारी संस्था लि. लगायतका विषयमा उहाँसँग सहकारी सञ्जालले कुराकानी गरेको थियो । जो यस प्रकार छ ।
१. यतिबेला अर्थ बहुउद्देश्यीय सहकारी सस्था लि.ले के गतिविधि गर्दैछ ?
~पहिला हामी बचत तथा ऋणमा थियौँ । यो २०७१ साल असार ३१ गते बहुउद्देश्यीय सहकारी संस्थामा रुपान्तरण भएको हो । हामी अब बचत तथा ऋण मात्रै होइन कि बहुआयमिक बहुउद्देश्यीयको हिसावले अगाडि बढिरहेका छौँ । त्यही हिसावले हामीले युटिलिटिजहरु , विभिन्न किसिमका भुक्तानी (payment)हरु लगायतका सुविधाहरु सदस्यहरुलाई दिइरहेका छौँ । त्यसको साथसाथै अब कृषि , पर्यटन लगायतको हिसावले विभिन्न ठाउँमा लगी पनि सकेका छौँ । हामी एक उद्देश्यीय नभई बहुउद्देश्यीय हिसावले अगाडि बढिरहेका छौँँ ।
२. अहिले बहुउद्देश्यीय मुख्य कामहरु के गर्दै हुनुहुन्छ ?
~बचत तथा ऋणको अतिरिक्त अरु कामका बारेमा हामी विभिन्न छलफल गरिरहेका छौंं । जस्तै महको परियोजना लगेका छौँ । डिम्याटहरु अगाडि बढाई सकेका छौँ सदस्यहरुलाई । सदस्यहरुको सामाजिक , सांस्कृतिक र आर्थिक समृद्धीको लागि कसरी उन्नति गर्न सकिन्छ भन्ने कुरालाई नै हामी बढी जोड दिइरहेका छौँ। यो दौरानमा विभिन्न ठाउँमा जानुपर्छ , जाँदाखेरी यातायातको तथा समयको खर्च होला । त्यसलाई न्युनिकरण गर्नको लागि घर मै बसेर payment(भुक्तानी) गर्ने उद्देश्यले हामीले यसलाई अगाडि बढाएका छौँ । कृषिको हिसावले विभिन्न ठाउँमा जग्गाहरु पनि हेरिरहेका छौँ । सदस्यहरुलाई नै धनी बनाउने यस संस्थाले उद्देश्य लिइरहेको छ । त्यसमा कृषि , पर्यटन लगायत विभिन्न उद्देश्यहरुलाई लिएर अगाडि बढिरहेका छौँ ।
३.सहकारी ऐन , २०७४ ले बचत तथा ऋणको मुख्य कारोवार गर्ने बाहेकका बहुउद्देश्यीय लगायतका विधागत सहकारी संस्थाहरुलाई दर्ता हुँदाको उद्देश्य अनुसार २०७७ असोजसम्ममा ७० प्रतिशत बहुउद्देश्यीय वा विधागत परियोजना र ३० प्रतिशत बचत तथा ऋणको कारोवार गर्नुपर्छ भनिदैछ । यसको सजिलो र अफ्ठ्यारा पक्ष के हुन् जस्तो लाग्छ , तपाईलाई ?
~ सजिलो र अफ्ठ्यारो पक्ष यस्तो छ – यसमा ७० र ३० प्रतिशतको कुरा आइरहेको छ । हामीले कानुन अनुसार राज्यको सम्बन्धित निकायमा सोधपुछ गर्दाखेरी उहाँहरुबाट अब ७० प्रतिशत परियोजनामा र ३० प्रतिशत बचत तथा ऋणमा जान सकिन्छ भन्ने कुरा पनि गरेका छन् भने कसैले ३० प्रतिशत परियोजना र ७० प्रतिशत बचत तथा ऋण कारोवारको कुरा पनि गरेका छन् । यसले हामीलाई दोधार बनाएको छ । हामीले परियोजनालाई अगाडि बढाउदै जाने नीति अनुसार बचत तथा ऋणलाई घटाउदै लगेर परियोजनामा डाइभर्ट्स गर्नलाई हामी चाहिँ एकदमै अगाडि बणिरहेका छौँ ।
४.सरकारले बहुउद्देश्यीय या विधागत कामका लागि के सहयोग गर्नुपर्ला जस्तो लाग्छ ?
~सरकारले के गर्नुपर्छ त भन्नेबारेमा हाम्रा सदस्यहरु वीच केही समय पहिले छलफल भएको थियो । यसमा के छ त भन्दाखेरी कानूनलाई इप्लिमेण्ट गर्नको लागि पहिला त गोष्टि , अन्तराक्रिया तथा ट्रेनिङहरु नै दिनुपर्छ अनि कानुनमा के भइरहेको छ ,के गर्नुपर्छ , के बन्दैछ र ती कसरी कार्यान्वयनमा जान्छन् भन्ने जस्ता कुराहरु बुझाउनुपर्छ । यु.एम.एल. जस्ता धेरै कुराहरु आइरहेका छन् । कानुन बाहेक नियमावली पनि बन्दैछ । यी सबै कार्यानावयनमा जान्छन । हुनत: कानुन दिग्गज अग्रजहरुले राम्रो बनाउनु भा’को होला तर पनि यसमा सुधार गर्नु पर्ने कुराहरु पनि छन् । राम्रोसँग बुझाएपछि मात्र त्यसलाई राम्रोसँग अगाडि बढाउन सकिन्छ । यो कारवाही , कोनी के भन्ने कुरा मात्रै गरेर हुदैन । त्यही भा’को कारणले गर्दाखेरी चाहिँ मुख्य कुरा राज्यले यति समयसम्म ट्रेनिङ दिने र निचोडमा पुगेपछि कार्यानावयनमा लान अति जरुरी छ ।
५.यो अर्थ बहुउद्देश्यीय सहकारी संस्थामा शेयर सदस्य , शेयर पूँजी , निक्षेप , कर्जा लगानी , कुल कारोवार कति छ र लाभांश वितरण कसरी गर्दै हुनुहुन्छ ।
~ यस संस्थामा शेयर सदस्य ४०० जति , शेयर पूँजी रु. ८५ लाख जति , निक्षेप या बचत संकलन रु. ७ करोड जति , कर्जा लगानी रु. ७ करोड जति र कूल कारोवार रु. १० करोड जति छ । यसमा
हामीले सदस्यहरुलाई नियमित रुपमा १५ प्रतिशत डिभिडेण्ड (लाभांश) दिएका छौँ ।
६. सहकारी कर्जा सूचना केन्द्र बारे तपाईको धारणा के छ ?
~ सहकारी कर्जा सूचना केन्द्र हुनु जरुरी छ किन त भन्दाखेरी संस्थामा सबै सदस्यहरु एकनासको हँदैनन् ।
संस्थामा नकारात्मक सोच भएका सदस्यहरु पनि हुन सक्छन् । त्यस्तालाई लाइनमा ल्याउनुपर्छ । एउटै सदस्य विभिन्न संस्थाहरुमा आवद्ध हुन पनि सक्छ र उसले विभिन संस्थाहरुबाट ऋण लिन पनि सक्छ । त्यसबारे थाहा पाउने संयन्त्र नभएकोले संस्थाहरुलाई अफ्ठ्यारो परिरहेको छ । त्यही भएर सहकारी कर्जा सूचना केन्द्रको हुनु जरुरी छ । हुनत: सहकारी विभागले ल्याएको सफ्टवेयरले पनि केही मद्धत गर्ने कुरा आएको छ । त्यसबाट पनि अटोमेटिक केही होला भन्ने आशा लिएको छु ।
७.राज्यको अर्थतन्त्रका तीन खम्बामध्येको एक खम्बा सहकारीलाई बलियो बनाउन के गर्नु पर्छ जस्तो लाग्छ तपाईलाई ?
~ मुखले मात्रै तीन खम्बा भनेर हुँदैन । त्यही अनुसारको व्यवहार हुनुपर्छ । कारवाहीको कुरा आएको छ , ठीक छ । सही काम गर्नेलाई त कारवाहीको कुरा भएन ।
यसमा के भन्छु भने जस्तै इन्भभेष्टलाई इम्लिमेण्ट गर्नको लागि ट्रेडिङको आवश्यकता भए जस्तै
देशको अर्थतन्त्रको तीन खम्बामध्येको एक खम्बा सहकारीको राज्यले विकास र प्रवर्द्धन गर्नुपर्छ । सहकारी संघ/संस्थाहरुले यत्रो नागरिकहरुलाई रोजगार दिइरहेका छन् । तिनलाई एउटा सम्बन्धमा ढाल्न खोजिरहेका छन् । तिनलाई सहज गर्नु परो । हिजो के गरियो , के भयो र अब के हुनुपर्छ भन्ने जान्न अति जरुरी छ ।
८.अन्तमा केही भन्नु छ कि ?
~ अब आउने सहकारी नियमावली सहकारीको हितको लागि होस् । यसमा अनुगमन पनि हुनुपर्छ ।
सदस्यहरुले आफ्नो संस्थाप्रति बफादार भएर सांस्कृतिक , आर्थिक तथा सामाजिक लगायतको उथ्थानको लागि संस्थामा कारोवार गरीकन सही सदस्य बन्न जरुरी छ ।