जेष्ठ नागरिकको हकको लागि अग्रज समाज नेपालको आन्दोलन ७ वर्षदेखि जारी

६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको अधिकारको लागि अग्रज समाज नेपालको आन्दोलन दैनिक जसो चलिरहेको छ ।
आन्दोलनमा सहभागी जेष्ठ नागरिकहरु प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २०७४ सालको संसदीय निर्वाचनमा हामीले चुनाव जितेर सरकार बनायौँ भने सरकार बन्ना साथ जेष्ठ नागरिकलाई घर -घरमा रु.५,००० का दरले मासिक भत्ता पठाई दिन्छौँ भनेर प्रतिबद्धता गरेपनि चुनाव जितेर सरकार बनाएपछि वर्तमान प्रधानमन्त्री ओली र भू.पू.प्रधानमन्त्री प्रचण्डले कुरा फेरेकोमा आफूहरू दु:खी भएको बताउनु हुन्छ । काठमाडौंको मीनभवनको यातायात व्यवस्था कार्यालय छेउमा जेष्ठ नागरिकहरुको दिनको दुई घण्टा धर्ना बस्ने दैनिकी जस्तै बनेको छ । अग्रज समाज नेपालका उपाध्यक्ष हरिप्रसाद भट्टराईले सहकारी सञ्जालसँग कुरा गर्दै आफूहरुको आन्दोलनको माग भनेको ६० वर्ष माथिका जेष्ठ नागरिकलाई सरकारी अस्पतालमा नि:शुल्क र निजी अस्पतालमा ५० प्रतिशत सहुलियतमा उपचारको व्यवस्था हुनुपर्ने, उड्ने र गुड्ने यातायातका साधनमा ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने र मासिक रु. ५,००० भत्ता दिने व्यवस्था हुनुपर्छ भन्ने रहेको बताउनु भयो ।
जेष्ठ नागरिकहरुले आफ्नो अधिकारको लागि संघर्ष शुरु गरेको ७ वर्ष लागेको र यो संघर्ष शुरु भएदेखि यता संघर्षमा सहभागीमध्ये ३१ जना जेष्ठ नागरिकहरुको चोला सकिएको उहाँको भनाई छ ।
जेष्ठ नागरिकहरुको आन्दोलन केवल आन्दोलन मात्र नबनी त्यसले केही उपलव्धि पनि प्राप्त गरेको छ । सार्वजनिक यातायायमा जेष्ठ नागरिकको लागि छुट्टै सिटको व्यवस्था , यातायातका साधनमा जेष्ठ नागरिकको कार्डको आधारमा भाडा छुटको व्यवस्था तथा काठमाडौंको वीर अस्पताल लगायत कतिपय अस्पतालमा ७० वर्ष माथिका जेष्ठ नागरिकलाई उपचारमा सहुलियतको व्यवस्था लगायत छन् ।
केही यातायातका साधनहरुले जेष्ठ नागरिकको परिचयपत्रको आधारमा भाडा छुट दिएपनि सबैतिर यो व्यवस्था नभएको धर्नामा सहभागी जेष्ठ नागरिकहरुको गुनासो छ ।