ललितपुर कला र संस्कृति महोत्सव भव्य बन्दै , सहकारी संस्थाहरुले पनि राखे स्टल

ललितपुर महानगरपालिकाले कला र संस्कृतिको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको उपलक्ष्यमा ललितपुर महानगरपालिका वडा नं. १६ को आयोजनामा स्थानीय कला , संस्कृति , रहनसहन र नेवारी खाना प्रदर्शनी गर्ने उद्देश्यले यही चैत १३ गतेबाट शुरु भएको ललितपुर ‘कला र सांस्कृतिक महोत्सव २०७५’ भव्य रुपमा चलिरहेको छ । चैत १३ गते उपराष्ट्रपति नन्दबहादुर पुनले ललितपुलको मंगलबजार दरवार स्क्वाररमा एक समारोहका वीच उद्घाटन गर्नु भएको सो महोत्सव चैत १७ गते अशोक हलमा समापन हुने  आयोजकको भनाई छ ।

‘महोत्सवका अवसरमा ललितपुर महानगरपालिका वडा नं. १६ भित्रका न्याखा चोक , नकबहिल , नागबहाल , झाटापोल , इलाननी , स्वँठ , मंगलबजार दरवार स्क्वायर , न्हायक बाहे , कायगुनानी , दौबहाल , हखबहाल , बुबाहाल गाबहाल र चल्खुमा नेवारी कला र  संस्कृति झल्किने खाना , चर्या नृत्य लगायत प्रदर्शनीमा राखिएका छन्’ यशोधर बचत तथा ऋण सहकारी संस्था लि. बुबाहालका प्रबन्धक तथा स्थानीय सुनिलरत्न बज्राचार्यको भनाई छ ।

न्याखा चोकमा नेवारी पूजा विधिका सामानहरु तथा नागबाहालमा स्थानीय कालिगढद्वारा  हातले निर्मित मूर्तिकला , धातुकला , ढुङ्गाबाट बनाएका बास्तुकला लगायतका हस्तकलाका सामानहरु प्रदर्शनीमा राखिएको सो सहकारी संस्थाका लेखा समिति सदस्य तथा अर्का स्थानीय प्रेमबहादुर  बज्राचार्यले बताउनुभयो ।

यस महोत्सवमा पर्यटकहरुलाई अशोक हल हुदै सो १६ नं. वडाभरी घूमफिर गर्न सक्ने व्यवस्था गरिएको सो यशोधर बचत तथा ऋण सहकारी संस्था लि. बुबाहालका कोषाध्यक्ष तथा स्थानीय ज्ञानेन्द्र बज्राचार्यको कथन छ ।

“हाम्रो यशोधर साकोसले स्थानीय महिलाहरुलाई  प्रोत्साहन गर्ने उद्देश्यले बुबाहालमा एउटा स्टल राखेका छौँ ” यशोधर बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष तथा स्थानीय बाबुराज बज्राचार्यले सहकारी सञ्जाललाई बताउनुभयो । ‘यस महोत्सवमा यशोधर बचत तथा ऋण सहकारी संस्था लि. सँगै स्कोप बचत तथा ऋण सहकारी संस्था लि. , परम्परागत बचत तथा ऋण सहकारी संस्था लि. , रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. , वसुवर्ण बचत तथा ऋण सहकारी संस्था लि. र ठ्याका बचत तथा ऋण सहकारी संस्था लि. लगायतले नेवारी संस्कृति झल्किने गरी एक-एक वटा स्टल  राखेका छन्’  उहाँको थप भनाई छ ।

ठूलो संख्यामा मानिसहरुले सो महोत्सव अवलोकन गरेकोले यो महोत्सव भव्य बनिरहेको स्थानीयवासीहरुको भनाई छ ।

 

 

 

Leave a Reply