माध्यमिक शिक्षण परीक्षा (SEE ) शुरु , सांसद शान्ता चौधरी र नायिका करिष्मा मानन्धर पनि SEE दिदै

आज विहान ८:०० बजेबाट यस वर्षको माध्यमिक शिक्षण परीक्षा (SEE) शुरु भएको छ । संघीय संरचना अनुरुप प्रदेशको व्यवस्थापनमा पहिलो पटक सञ्चालन भएको यस परीक्षामा देशभरबाट ४,७५,००० विद्यार्थीहरु सहभागी भएको बताइएको छ । जसमा २,३८,५५८ जना छात्रा र २,३६,४४५ छात्र रहेका छन् । परीक्षामा देशभरबाट १,९६९ परीक्षा केन्द्र , त्यत्ति नै संख्यमा केन्द्राध्यक्ष , ३,१६७ जना सह-केन्द्राध्यक्ष र २९,५३५ जना सुरक्षाकर्मी परिचालित भएको खबर प्राप्त भएको थियो ।
यस परीक्षामा प्रदेश नं. ३ बाट सबैभन्दा बढी र कर्णाली प्रदेशबाट सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी छन् । प्रदेश स्तरबाट प्रश्न पत्र छपाई , उत्तर पुस्तिका खरीद लगायतको व्यवस्थापकीय कार्य भएको परीक्षामा प्रदेश नं. १ बाट ८३,८१८ , प्रदेश नं. २ बाट ७०,२१८ , प्रदेश नं. ३ बाट १,००,६०२ , गण्डकी प्रदेशबाट ४८,०६३ , प्रदेश नं. ५ बाट ७६,९७२ , कर्णाली प्रदेशबाट ३५,६२४ र सूदुर पश्चिम प्रदेशबाट ५३,९७२ जना परीक्षार्थीहरु सहभागी छन् ।
परीक्षामा नियमित र प्राविधिक दुई खाले परीक्षार्थीहरु सहभागी छन् ।
यो परीक्षामा सांसद शान्ता चौधरी , नायिका करिष्मा मानन्धर पनि यो परीक्षामा सहभागी भएको बताइएको छ ।
आज अंग्रेजी विषयको परीक्षा चलिरहेको छ । आजबाट शुरु भएको यो परीक्षा यही चैत्र २१ गते सकिने छ ।