प्रलेसको राष्ट्रिय सम्मेलन चैत २२ र २३ गते काठमाडौं हुने , ३ नं. प्रदेश सम्मेलन हिजो सम्पन्न ,

सबै वाम तथा कम्युनिष्ट पार्टी र वाम विचारधाराका लेखक तथा संस्कृतिकर्मीहरुको साझा संगठन प्रगतिशील लेखक संघ , नेपालको ११ औँ राष्ट्रिय सम्मेलन यही चैत २२ र २३ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको सो संघले जनाएको छ । सम्मेलनको तयारीको शिलशिलामा मातहत समितिहरुको गठन/ पुनर्गठनका काम जारी रहेको सो संघका कोषाध्यक्ष कृष्णहरि भट्टले सहकारी सञ्जाललाई बताउनुभयो ।
प्रगतिशील लेखक संघ , नेपालको हिजो ३ नं. प्रदेशको प्रथम सम्मेलन नेपाल ल क्याम्पस , काठमाडौंमा सम्पन्न भयो । सम्मेलनको प्रगतिशील लेखक संघ , नेपालका अध्यक्ष मात्रिका पोखरेलले उद्घाटन गर्नु भएको थियो ।
त्यस अवसरमा उहाँले प्रलेस प्रगतिवादी तथा प्रगतिशील लेखक तथा कलाकारहरुको पक्षमा उभिएर वैज्ञानिक तथा समाजवादी कला र संस्कृतिको निर्माणको लागि विचार र संगठन निर्माणको क्षेत्रमा निरन्तर लागिरहेको बताउनुभयो ।
प्रगतिशील लेखक संघ , नेपालका उपाध्यक्ष खेम थपलियाको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांस्कृतिक इन्चार्ज मणि थापाले आफ्नो दलभित्र सरकार र सत्ता वीचको अन्तर्विरोध चलिरहेको बताउनुभयो ।
नेपालका कम्युनिष्टहरुको लडाई साम्राज्यवादसँग जारी रहेको उहाँको भनाई थियो । प्रलेसका सचिव प्रकाश सिलवालले सञ्चालन र सचिवालय सदस्य आर.सी. न्यौपानेले स्वागत गरेको सम्मेलनको खुल्ला सत्रमा राष्ट्रिय जन सांस्कृतिक महासंघका संयोजक खगेन्द्र राई , अखिल नेपाल लेखक संघका अध्यक्ष सरल सहयात्री , प्रलेसका उपाध्यक्षद्वय रामप्रकाश पुरी र डा.विन्दु शर्मा र महासचिव आर.एम.डंगोलले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उद्घाटन सत्र सकिएपछि भागवत आचार्य अध्यक्ष तथा केशव सिलवाल र मनोहर लामिछाने सदस्य रहेको निर्वाचन मण्डलले सञ्चालन गरेको सम्मेलनको बन्दसत्रमा प्रलेसका उपाध्यक्ष खेम थपलियाले पेश गर्नुभएको प्रतिवेदन माथि छलफल गरी पारित गरिएको बताइएको छ ।
सो सम्मेलनले मोक्तान खेवाको अध्यक्षतामा प्रगतिशील लेखक संघ , नेपालको ३ नं. प्रदेश समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा अनिता लामा र जगत देव , सचिवमा भीम क्षेत्री , सह-सचिवमा पुरुषोत्तम आचार्य र कोषाध्यक्षमा शैलेन्द्र अधिकारी तथा सदस्यहरुमा भवानी पाण्डे , सुन्दर खड्का , डी.पी. ढकाल , शेखर अर्याल , दिनेश दुलाल , प्रकाश थापा मगर , विश्वाश नेपाली , टंकध्वज थापा , धनलाल योञ्जन , राजकुमार अर्याल , विपिन पाठक , शान्तिप्रिय बन्दना , रमेश अधिकारी , केदारनाथ आचार्य , नीलिमा पुन , मधु क्षेत्री , लक्ष्मण वेलवासे , सीता निरौला , जीवन हमाल , रचना योञ्जन , जीतेन्द्र महर्जन , दुर्योधन बस्नेत र बैरागी जेठा रहनु भएको जानकारी प्राप्त भएको छ ।
हिजो नै प्रलेसको १ नं. प्रदेश सम्मेलनको प्रथम सम्मेलन धरानमा सम्पन्न भएको बताइएको छ ।
यसैगरी यही चैत्र २ गते सम्पन्न प्रगतिशील लेखक संघ , नेपालको काठमाडौं शाखाको चौथो सम्मेलनले प्रकाश थापा मगरको अधयक्षता २५ सदस्यीय काठमाडौं जिल्ला शाखा निर्माण गरेको थियो ।
प्रलेसको देशभरका ५७ जिल्लामा जिल्ला तथा स्थानीय शाखाहरु क्रियाशील रहेको र बाँकी जिल्लाहरुमा पनि उसको आफ्नो सञ्जाल निर्माण कार्य जारी रहेको सो संघका कोषाध्यक्ष भट्टको भनाई छ ।