वी.पी. संग्रहालयको पुनर्निर्माणको काम अन्तिम चरणमा

काठमाडौँको गोकर्णेश्वर नगरपालिका -१ , सुन्दरीजलमा २४ रोपनी ३ आना क्षेत्रफलमा रहेको वी.पी. संग्रहालयको पुनर्निमाण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । पुरातत्व विभागले २०७३ असारबाट सो संग्रहालय पुनर्निर्माण शुरु गरेको थियो । वी.पी. संग्रहालय भित्रको कारागार पुनर्निर्माण तथा कार्यालय भवनको निर्माण कार्य रु.३ करोड जतिमा भइरहेको संग्रहालयका कार्यालय सचिव सुशिल पोखरेलले बताउनुभयो । ‘यो संग्रहालयको निर्माण कार्य करिव-करिव सकिएको छ । अब यसको प्लाष्टर र रंगरोगनको काम बाँकी छ । यो पनि छ महिना जतिमा सकिएला कि ! त्यसपछि संग्रहालयका सामान व्यवस्थापन गरी यसलाई चाडै सञ्चालनमा ल्याइने छ ‘कार्यालय सचिव पोखरेलको भनाई छ ।
भूकम्पले क्षति पु-याउनुभन्दा अगाडि त्यहाँ अवलोकन गर्न जाने विद्यार्थीहरुका लागि रु. १० र अरुका लागि रु. २० प्रवेश शुल्क लिने गरिएको थियो तर यतिबेला भने त्यहाँ हेर्न जान चाहनेका लागि शुल्कको व्यवस्था गरिएको छैन । संग्रहालयमा नेपाली काँग्रेसका संस्थापक नेता वी.पी. कोइरालाले प्रयोग गरेको बस्तुहरु , गणेशमान सिंहका लुगाहरु , तोप र २०३० साल अपहरण भएको जहाज , जो २०७१ सालमा अर्घाखाँचीमा दुर्घटना भएको थियो , लगायत रहेको र बाँकी सामाग्रीहरु संकलनकै क्रममा रहेको बताइएको छ । त्यहाँ नेपाली काँग्रेसका नेताहरु
वी.पी. कोइराला , गणेशमान सिंह , कृष्णप्रसाद भट्टराई सहितका ६ जनाको शालिक निर्माण गरिएको छ भने वाकी ४ जना नेताहरूको शालिक पनि निर्माण शुरु हुने क्रममा रहेको बताइएको छ । ४ /४ वर्षमा संग्राहलयको व्यवस्थापन समिति बदलिने गरेको छ तर यसका बाबजुद पनि नेपाली काँग्रेसका नेता परशुराम पोगरेलले विगत लामो समयदेखि सो संग्रहालयको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
संग्रहालयको वाहिर गेटमा हवल्दारको कमाण्डमा नेपाल प्रहरीको एउटा टुकडी तैनाथ छ ।
वि.सं. २०१७ सालको ‘कू’ पछि अपदस्थ प्रधानमन्त्री वी.पी. कोइराला सहितका नेपाली काँग्रेसका नेताहरु गणेशमान सिंह , कृष्णप्रसाद भट्टराई , रामनारायण मिश्र , दीवानसिंह राई , जमानसिंह गुरुङ , योगेनाद्रमान शेरचन , प्रेमराज आङ्दम्बे , सूर्यप्रसाद उपाध्याय र शिवराज पन्तलाई तत्कालीन राज्य प्रशासनले सो सुन्दरीजल जेलमा राखेको थियो । ५ रोपनी क्षेत्रफलमा कम्पाउण्ड रहेको सो जेललाई पछि वी.पी. संग्रहालयमा रुपान्तरण गरिएको थियो । यही जेलमा वी.पी. कोइराला , गणेशमान सिंह , कृष्णप्रसाद भट्टराईलाई ८ वर्ष राखिएको थियो । त्यहीँ बसाईका क्रममा नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री वी.पी. कोइरालाको बहुचर्चित पुस्तक ‘जेल जर्नल’ लेखिएको थियो ।
पुनर्निर्माण पछि सो संग्रहालयको सञ्चालन कसरी गर्ने भन्ने जस्ता विषय टुङ्गो लागि नसकेको सो संग्रहालय स्रोतको भनाई छ ।