आयाम साकोसको महिला शसक्तीकरण र सहकारीमा महिला सदस्यहरुको भूमिका विषयक गोष्ठि सम्पन्न
ललितपुर महानगरपालिका -१४ , ताल्छिखेलमा अवस्थित आफ्नै भवनबाट कारोवार गरिरहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा ललितपुरको खुमलटारमा रहेको कृषि अनुसन्धान परिषद अन्तर्गतको माटो तथा विज्ञान महाशाखा भवनमा हिजो ‘महिला शसक्तीकरण र सहकारीमा महिला सदस्यहरुको भूमिका’ विषय एक दिवसीय गोष्ठि सम्पन्न भयो । संस्थाका अध्यक्ष केशवप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष लक्ष्मी शाक्यले उद्घाटन गर्नुभयो । संस्थाकी सदस्य गंगा कोइराला नेपालले सञ्चालन र सोही संस्थकी महिला उपसमिति सदस्य अजिता अधिकारीले स्वागत गरेको कार्यक्रमलाई सम्बोधन गर्दै
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष लक्ष्मी शाक्यले ‘यस आयाम साकोसले गरेको प्रगति र यसले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरेको योगदान कै कारण यो संस्था ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.बाट नमुना सहकारी पुरस्कारबाट पुरस्कृत भएकोमा आफूलाई धेरै खुशी लागेको छ र यस संस्थाको थप प्रगतिको कामना गर्दछु’ भन्नुभयो ।

संस्थाका अध्यक्ष केशवप्रसाद नेपालले सो संस्थाको गतिविधि अवगत गराउनु भएको थियो । संस्थाकी महिला उपसमिति संयोजक सफला ढुंगाना पोखरेलले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै जिन्दगी बदल्न समय लाग्ला तर सोच बदल्न समय नलाग्ने भएकोले सोचमा परिवर्तन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पुरुषको तुलनामा ३ घण्टा बढी अर्थात दिनको ११ घण्टा काम गरिरहेका महिलाहरुको शिक्षा र तालिममा कमी , घर र अफिसमा पुरै जिम्मेवारी , वाल विवाह , वहुविवाह . धेरै महिलाहरुको पूर्ण रुपमा गृहिणी भएर बस्नु पर्ने बाध्यता , विश्वास र स्वतन्त्रतामा कमी , नेतृत्वमा कमी तर सामाजिक काममा मात्रै महिलालाई जिम्मेवारी जस्ता कारणले महिला दिदी बहिनीहरू पछाडि परेकोले यी कमजोरीलाई तागतमा बदल्नु पर्नेमा उहाँको जोड थियो ।

सो संस्थाका महिला सदस्यहरुको उलेख्य सहभागिता रहेको सो कार्यक्रममा ललितपुर जि.वि.स.की पूर्व सूचना अधिकारी तथा ललितपुर महानगर पालिकाका राजश्व अधिकृत सावित्री बजगाईले प्रशिक्षण दिनु भएको थियो ।
