६२औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम भइरहेका छन्

– माधव तिमिल्सिना , सचिव , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.
गएको शनिवार सहकारीकर्मीहरुको सक्रिय सहभागितामा ललितपुरको रिङ्गरोडको दशौँ हप्ताको सरसफाई अन्तर्गत महालक्ष्मीस्थानदेखि सातदोबाटोसम्म सरसफाई गरियो । त्यसमा ललितपुर जिल्लाको सहकारी संघ/संस्थाहरुको संयोजन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का सचिव तथा प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. थसिखेल , ललितपुरका अध्यक्ष माधव तिमिल्सिनाले गर्नु भएको थियो । सो सरसफाई अभियानमा सहभागी भइरहेको बेलामा उहाँसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको थियो । जो यस प्रकार छ ।
१. वित्तीय तथा उत्पादनमूलक कार्य गर्ने सहकारी संघ/संस्थाहरु यसपाली त सरसफाईमा पनि सहभागी भएछन् नि ?
~ यसपाली मात्रै होइन , सरसफाई त हामीले निरन्तर गरिरहेका छौँ । ललितपुर जिल्ला अन्तर्गत रहेको रिङ्गरोड सरसफाई अभियानमा जुट्ने मौका पाएका छौँ । यसमा अहिले ६२औँ राष्ट्रिय सहकारी दिवसलाई जोड्दाखेरी पक्कै पनि आजभन्दा १७०/७२ वर्ष पहिला प्रतिपादन गरेको सहकारीको सिद्धान्त अनुरुप नै समाजप्रतिको चासो भएको कारणले पक्कै पनि वातावरण र सरसफाईमा सहकारीले ध्यान दिनुपर्छ । तद अनुरुप नै यहाँ कार्यक्रम गरिराख्ने संघ/संस्थाहरुसँग मिलेर सहकारी अभियानलाई पनि सरसफाई तथा सुन्दरता अभियानमा जोडिने अवसर मिलेको छ र यही अभियानमा हामी छौँ ।
२. यसपालिको ६२औँ राष्ट्रिय सहकारी दिवसमा सहकारी अभियानले केलाई मुख्य प्राथमिकता दिएको छ ?
~ हामीले ६२औँ राष्ट्रिय सहकारी दिवस मनाई राख्दा आजभन्दा ३/४ दिन अगाडिबाट विभिन्न रचनात्मक कार्यक्रमहरु शुरु गरेका छौँ । गोष्ठि , अन्तर्क्रिया , रक्तदान , खेलकुद लगायतका प्रतियोगितात्मक थुप्रै कार्यक्रमहरु भइरहेका छन् ।
प्रदेश वाइज सेमिनारहरु भइराखेको छन् । विभिन्न प्रदेश र जिल्लाहरुमा रचनात्मक कार्यक्रमहरु भइराखेका छन् । तदअनुसार ललितपुर जिल्लामा हामीले गोष्ठि , सेमिनार , रक्तदान , सरसफाई , खेलकुद लगायतका विभिन्न कार्यक्रमलाई जोडेका छौँ ।
३. यो दिवस मनाई रहदा नेपाल सरकारले सहकारीको विकासको लागि के गर्नु पर्ला ?
~ अब नेपाल सरकारले आफ्नो ठाउँबाट साच्चै समृद्ध नेपालको परिकल्पना गरेर अगाडि बढेको अवस्थामा र जनताले पनि जनप्रतिनिधि पाइरहेको अवस्थामा त्यसमा सहकारीलाई जोडेर अगाडि बढ्ने हो भनेदेखि पक्कै पनि भोलि समृद्ध नेपाल निर्माण गर्न सहयोग पुग्छ र यो कोशेढुंगा सावित हुन्छ भन्ने हामीलाई लाग्छ । आज सहकारीको सञ्जाल देशभरी फैली राखेको छ । ६२/६३ लाख मान्छेहरु यसमा आवद्ध भइराखेका छन् । यसको राम्रोसँग सही ढंगबाट परिचालन गर्न सक्यौँ भने समृद्ध नेपाल निर्माण गर्न नेपाल सरकारलाई पनि मद्धत पुग्छ भन्ने मलाई लाग्छ ।
४. सहकारी ऐन , २०७४ मा बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई २०७७ असोजसम्ममा तिनीहरुको दर्ता हुँदाको मुख्य उद्देश्य अनुरुपको ७० प्रतिशत कार्य र ३० प्रतिशत बचत र ऋण कारोवार गर्नुपर्छ भनेर उल्लेख भइरहदा ऐनमा यसको यसको स्पष्ट व्याख्या नभएकोले अन्यौलको अवस्था बन्यो भन्ने उनीहरुको गुनासो सुनिन्छ । उनीहरुलाई सहजीकरण गर्न नेपाल बहुउद्देश्यीय कन्द्रीय सहकारी संघ लि. ले के गरिरहेको छ ?
~ नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.ले यो विषयमा लविङ गर्ने तथा सो ऐनलाई शंसोधन गर्ने कुरा उठाई रहेको छ । यो ऐन शंसोधन गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको छ । नेपालको सहकारी अभियानमा बहुउद्देश्यीय सहकारी संस्थाहरु नै पहिलो इतिहास हो । शुरु कालदेखि यसले नै सदस्यको आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्नको लागि काम गरिरहेको छ । बहुउद्देश्यीय सहकारी संस्थाहरु अनिवार्य चाहिन्छ ।
सरकारले सहकारी ऐन २०७४ मा जुन ७० प्रतिशत बहुउद्देश्य कार्य र ३० प्रतिशत बचत र ऋण कारोवारको व्यवस्था गरेको छ , त्यसलाई शंसोधन गरेर अगाडि बढ्नु पर्ने हुन्छ । यदी शंसोधन गरिएन भने भोलि त्यस्त कुराहरुले चाहिँ अवरोध गर्न सक्छ । त्यो कुरामा ध्यान पुगेको मैले ठानेको छु ।
५. अन्तमा केही भन्नु छ कि ?
जुन यो खालको सरसफाईमा हामी जुटेका छौँ , यसैगरी समाजसँगको चासोसँग सम्बन्धित सबै कुराहरुमा सहकारी जोडिनु छ । समृद्ध नेपाल निमार्णको लागि पनि सहकारीको अहम् भूमिका छ । त्यसमा हरेक हिसावले चाहिँ सहकारीले आफ्नो घर , छिमेक र आफ्नो ठाउँको सरसफाई र सुन्दरतामा ध्यान दिनु पर्छ । त्यस्तै विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्न जरुरी छ ।