चाडो भन्दा चाडो सहकारी कर्जा सूचना केन्द्रको व्यवस्था होस्

232 Shares

– गणेशप्रसाद नेपाल , व्यवस्थापक , आयाम बचत तथा ऋण सहकारी संस्था लि. , ताल्छिखेल , ललितपुर

 

ललितपुर महानगरपालिका -१४ , ताल्छिखेलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक गणेशप्रसाद नेपाल अध्ययनशील , मेहनती र जुझारु युवा सहकारीकर्मी हुनुहुन्छ । उहाँले आफ्नो कर्मले सहकारी क्षेत्रमा कुसल व्यवस्थापकको रुपमा समेत परिचय बनाउनु भएको छ । उहाँसँग आयाम बचत तथा ऋण सहकारी लि. को गतिविधि लगायतका विषयमा सहकारी सञ्जालले कुराकानी गरेको छ  । जो यस प्रकार  छ ।

 

१. यस आयाम बचत तथा ऋण सहकारी संस्था लि. को गतिविधि के छ ?

~ समग्रमा भन्ने हो भने – हामी वार्षिक कार्यक्रम अन्तर्गतका कार्यक्रम कार्यान्वयनमा लागेका छौँ । यस संस्थाको भर्खरै  बसेको बैठकबाट हामीले पञ्च वर्षीय रणनीतिक योजना  तर्जुमा गरेका छौँ ।  नमुना सहकारी अवलोकन भ्रमण अन्तर्गत काभ्रेको खोपासीमा रहेको विन्दवासिना बचत तथा ऋण सहकारी संस्था लि.को अवलोकन भ्रमण सम्पन्न गरेका छौँ । वार्षिक कार्यक्रम अन्तर्गत आज ‘महिला शसक्तीकरण र सहकारीमा महिला सदस्ययहरुको भूमिका’ विषयक १ दिवसीय गोष्ठि गर्दैछौँ ।

२. यस संस्थाको सदस्य संख्या , शेयर पूँजी ,  निक्षेप संकलन , ऋण लगानी र कूल कारोवार कति छ ?

~ हाम्रो यस संस्थामा शेयर सदस्य २,२०० , शेयर पूँजी रु. ३,६६,३०,८०० , बचत संकलन रु. १८,१६,७१,२७१ , कोष रु.५९,१९,९५२ , कर्जा लगानी रु.२०,४१,७५,४२२ , कूल कारोवार रु. २७,०७,९२,६७९ रहेको छ । संस्थाले सदस्यहरुलाई १३ प्रतिशत लाभांश वितरण गरेको छ ।

३. यस संस्थाको बचत र ऋण कारोवारको अतिरिक्त अरु केलाई फोकस गर्नु भएको छ ?

~ यस संस्थाले बचत र ऋण कारोवार बाहेक सदस्यहरुको स्तर  उन्नतिको लागि कृषि , पशुपालन , लघु उद्योगमा कार्य गर्दै आइरहेको छ । अझ उत्पादनमुखी साना तथा घरेलु उद्योगलाई प्रोत्साहन हुने गरी कार्यक्रमहरु ल्याउदै छौँ ।

४. हालै  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले तपाईहरुको यस संस्थालाई नमूना सहकारी पुरस्कार प्रदान गरेको छ । यस संस्था  पुरस्कृत हुँदा कस्तो अनुभूति गर्नु भएको छ ?

~ हाम्रो यस संस्थालाई ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले नमुना सहकारी पुरस्कार प्रदान गर्दा धेरै गौरवका साथै  संस्थाले सदस्यहरुलाई अझै धेरै सेवा सुविधा प्रदान गरी सामाजिक , आर्थिक र सांस्कृतिक क्रियाकलाप गर्न थप प्रोत्साहन मिलेको छ । संस्थालाई यो सम्मान पाउने सक्ने अवस्थामा पु-याउन आ-आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने यस संस्थाका पदाधिकारी , सञ्चालक समिति , उप-समितिहरु , कर्मचारीहरु , शेयर सदस्यहरु र शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

५. डिभिजन सहकारी कार्यालयबाट स्थानीय तहमा जाँदा कस्तो अनुभूति गर्नु भएको छ ।

~  हाम्रो संस्थाको नियमन ललितपुर महानगरपालिकाले गर्ने हो तर उसले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न सकिरहेको छैन । उसको सहकारी शाखामा भौतिक स्रोत , साधन र कर्मचारी अभाव देखिदै आएको छ । आशा गरौँ – उसबाट छिट्टै अनुभूति हुने गरी कार्य होला ।

६. सहकारी कर्जा सूचना केन्द्रको बारेमा के भन्नु हुन्छ ?

~ सही प्रश्न गर्नुभयो । सहकारी ऐन , २०७४ म उल्लेख गरिएको सहकारी कर्जा जोखिम कम गर्नलाई चाडो भन्दा चाडो सहकारी कर्जा सूचना केन्द्रको व्यवस्था हुनुप-यो भन्ने सहकारीकर्मीहरु जोडदार माग रहेको छ ।

७. कोपोमिसको बारेमा तपाईको भनाई के छ ?

~ भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी विभागबाट कोपोमिस कार्यान्वयन गर्ने कुराहरु छन् । त्यसका केही जटिलताहरु पनि रहेका छन् । काम गर्दै जाँदा आउने जटिलताहरुलाई समय सन्दर्भ अनुसार परिमार्जन भएमा राम्रो हुनेछ । यस संस्थाले कोपोमिसलाई छिट्टै कार्यान्लयनमा ल्याउन पहल गर्ने छ ।

कोपोमिसको कार्यान्वयनमा सदस्यहरुको गोपनियताको ग्यारेण्टी राज्य पक्षबाट भएमा मात्र कोपोमिसको राम्रोसँग कार्यान्वयन हुन सक्छ ।

८. राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा यस संस्थाको कार्यक्रम के छ ? साथै सहकारी दिवसको सन्दर्भमा तपाईको  भनाई के छ ?

~ आउदै गरेको ६२ औँ राष्ट्रिय सहकारी दिवस  मूल समारोह समिति , ललितपुरले चैत १३ गतेदेखि २३ गतेसम्मका कार्यक्रमहरु ल्याएको छ । जस अन्तर्गत ललितपुर  लिङ्ग रोड सरसफाई तथा सुन्दरता अभियान आज विहान ७ बजेबाट सहकारीकर्मीहरुको उल्लेख्य सहभागितामा हुदैछ । सहकारी गोष्ठि , रक्तदान लगायतका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न  भइरहेछन् । चैत्र २० गते सहकारीकर्मीको  उल्लेख्य उपस्थितिमा प्रभातफेरी कार्यक्रम सम्पन्न हुदैछ ।

यस ६२औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा हामीले सहकारीलाई सही चेतनामूलक कार्य गर्ने र सहकारीकर्मीहरुको पर्वको रुपमा भव्य र सभ्य रुपमा मनाउदा अझै राम्रो हुने कुरा यहाँ समक्ष अवगत गराउछु ।

९. अन्तमा केही भन्नु छ कि ?

६२औँ राष्ट्रिय सहकारी दिवसको शुभ अवसरमा समस्त सहकारीकर्मीहरु , कर्मचारीहरु र सदस्य महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ।

Leave a Reply