अन्तत: ११ राष्ट्रिय सम्मेलनबाट भयो प्रगतिशील लेखक सङ्घमा विभाजन

जिवेन्द्रदेव गिरीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्माण गर्दै प्रगतिशील लेखक सङ्घ , नेपालको हिजोदेखि ललितपुरको च्यासलमा रहेको तुल्शीलाल स्मृति भवनमा चलिरहेको
११औँ राष्ट्रिय सम्मेलन सकिएको बताइएको छ । यो सम्मेलनमा यस सङ्घमा पदाधिकारी सहितका केन्द्रीय समितिमा प्रतिनिधित्व गराई रहेका नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सांस्कृतिक संगठनहरुले सो सम्मेलन बहिस्कार गरे भने त्यस सम्मेलनमा सहभागी भए पनि यो सम्मेलनले प्रगतिशील लेखक सङ्घको एकता कायम गर्न नसकेको भन्दै त्यस संङ्घका नि:वर्तमान कोषाध्यक्ष एवम् ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट प्रगतिशील सांस्कृतिक समाजका संयोजक कृष्णहरि भट्टले सो सम्मेलनको नेतृत्व चयन प्रक्रियामा प्रगतिशील सांस्कृतिक समाज सहभागी नहुने घोषणा गरेसँगै प्रगतिशील सांस्कृतिक समाजका प्रतिनिधिहरु सम्मेलन स्थलबाट बाहिरिएको जानकारी प्राप्त भएको छ । प्रगतिशील सांस्कृतिक समाजका संयोजक भट्टले सो घोषणा गरे लगत्तै सम्मेलनको बन्द-सत्रको अध्यक्ष मण्डलका सदस्य तथा जनसांस्कृतिक महासङ्घका अध्यक्ष सरल सहयात्रीले ‘कृष्णहरि भट्टजीहरुसँग फेरि पनि कुनै दोभानमा भेट हुने छ ‘भन्ने भनाई व्यक्त गरेको बताइएको छ । यो घटनासँगै प्रगतिशील लेखक सङ्घ संसदवाद र संसदवाद विरोधी कित्तामा औपचारिक रुपमा विभाजन भएको जानकारहरु बताउछन् । योसँगै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट सांस्कृतिक संगठनहरु लगायतका प्रगतिशील तथा प्रगतिवादी लेखक तथा कलाकारहरुले छुट्टै नयाँ लेखक सङ्गठन बनाउने सम्भावना रहेको समाचार स्रोतले बताएको छ ।
हिजो सो सङ्घको उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रगतिशील लेखक सङ्घलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठनलाई झै बर्तमान सरकारको गतिविधिलाई अगाडि बढाउन निर्देश गरेसँगै यसभित्र असन्तुष्टि थप चुलिएको थियो ।
सो सङ्घको यो सम्मेलनले पारित गरेको विधानमा प्रगतिशील लेखक सङ्घको सम्मेलनमा सहभागी प्रतिनिधिले सम्मेलनमा भाग लिन र मतदान गर्न पाउने तर प्रगतिशील लेखक सङ्घका घटक संगठनहरुको स्वीकृति विना उम्मेद्वार बन्न नपाउने उल्लेख छ ।
सम्मेलनबाट प्रगतिशील लेखक सङ्घबाट प्रगतिशील सांस्कृतिक समाज अलग्गिएको घोषणा गर्नु भएका प्रगतिशील लेखक सङ्घका नि:वर्तमान कोषाध्यक्ष एवम प्रगतिशील सांस्कृतिक समाजका संयोजक कृष्णहरि भट्टले प्रेस विज्ञप्ति जारी गर्नु भएको छ । जो यस प्रकार छ ।
मिति – २०७५ चैत २३
प्रेस विज्ञप्ति
प्रगतिशील लेखक सङ्घको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा यो सङ्घमा क्रियाशील लेखकहरू बहिर्गमित हुने कुरा सार्वजनिक भएको घटनाप्रति प्रगतिशील सांस्कृतिक समाजको गम्भीर ध्यानाकर्षण भएको छ । सामन्तवाद, साम्राज्यवाद, दलाल तथा नोकरशाही पुँजीवादविरुद्ध सङ्घर्षरत सर्जकहरूको यो सङ्घको एकता अहिले पनि अपरिहार्य छ । यसको एकता कायम राख्न आसन्न ११औँ राष्ट्रिय सम्मेलन स्थगित गरी व्यापक छलफलको वातावरण तयार गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण गराएका थियौँ तर उक्त विषयमा प्रलेसमा रहेका संस्थापना पक्ष र तिनका माउ पार्टीको उपेक्षाका कारण हामी आजकै मितिदेखि प्रगतिशील लेखक सङ्घमा नरहेको जानकारी गराउँदछौँ ।
११औ राष्ट्रिय सम्मेलनको दौरानमा हामीले प्रलेसमा सबै घटकहरूको उचित एकतासहित सहभागिताका लागि अन्तिमसम्म पनि पहल गरिरह्यौँ तर त्यो पहलले सार्थकता पाउन सकेन । अन्ततः प्रलेसमा रहेर त्यो एकताको खोजी असम्भव नै बन्यो किनभने प्रलेसबाट बाहिरिएका शक्ति जति नयाँ जनवादी/वैज्ञानिक समाजवादी क्रान्तिका हिमायती थिए । प्रलेसभित्र बाँकी रहेकाहरू यो दिशाका अभियन्ता थिएनन् । उनीहरू संसदबाट नै सबै कुराको हल हुन्छ भन्ने ठान्दथे । हामीलाई भने प्रलेस भनेको जनता हो, सडक हो र शोषित–पीडित मुक्तिकामी जनताको आवाज हो भन्ने लाग्दथ्यो । यो राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको लेखकीय वाहक हो भन्ने पनि लाग्दथ्यो तर बन्द-सत्रसम्म आइपुग्दा पनि हामीले त्यस्तो लक्षण देखेनौँ । अन्ततः अग्रगामी दिशा वहन गर्न नसक्ने प्रलेस आन्दोलनमा अग्रगमनको पक्षपोषण गर्ने पक्ष नरहँदा हामी मात्र रहनुको खास अर्थ नहुने ठहर गर्दै हामी प्रलेसबाट बाहिरिने निष्कर्षमा पुग्यौँ ।
क्रान्तिकारी अभिवादनसहित !
कृष्णहरि भट्ट
संयोजक
प्रगतिशील सांस्कृतिक समाज, नेपाल