‘फक्ताङ्लुङको फेदीमा’ उपन्यासमा कुम्भकर्ण मुनिको परिवेस छ

0 Shares

– निर्मला तामाङ , लेखक , ‘फक्ताङ्लुङको फेदीमा’  उपन्यास

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका – ७ , फलाटेमा जन्मनु भएकी निर्मला तामाङ पेशाले शिक्षक हुनुहुन्छ । ताप्लेजुङ जिल्लाको साविकको इखाबु गा.वि.स.- १ का स्थानीय राजेश तामाङसँग विवाह भएपछि ताप्लेजुङलाई कर्मथलो बनाइरहनु भएकी उहाँ अध्ययन र अध्यापनसँगै साहित्यको कथा , कविता , उपन्यास जस्ता विधामा कलम चलाई रहनु भएको छ । ताप्लेजुङ जिल्लाको श्री सिंवा मा.वि. लिंखिमकी शिक्षक निर्मला तामाङको केही समय अगाडि ”फक्ताङ्लुङको फेदीमा’ उपन्यास बजारमा आएको छ । सोही उपन्यास लगायतका विषयमा सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले उहाँसँग छोटो कुराकानी गर्नु भएको थियो । जो यस प्रकार छ ।

 

१. आजकाल के गर्दै हुनुहुन्छ ?

~ लेखपढ र अध्यापन मै मेरो समय बितिरहेको छ । मेरो भर्खरै  ‘फक्ताङ्लुङ फेदीमा’ उपन्यास बजारमा आएको छ ।

२. यो उपन्यासमा कुन विषयलाई विशेष फोकस  गरिएको छ ।

~ मैले यस उपन्यासमा समाजमा बिद्यमान जातीय, धार्मिक , सामाजिक , लैंगिक  तथा बर्गीय   बिभेदको अन्त्य गरी समतामूलक समाज निर्माण हुनुपर्छ भन्ने कुरालाई फोकस गर्न खोजेकी छु ।

३. के कुराले तपाईलाई यो उपन्यास लेख्न प्रेरित ग-यो ?

~समाजमा दिनहुुँ देखिएका , भोगिएका , सुनेका र मनन् गरिएका बिषय तथा साथीभाइ र आफन्तको सुझावले मलाई यो उपन्यास लेख्न प्रेरणा मिल्यो ।

४.  एउटा शिक्षक भएको नाताले तपाईलाई सरकारले शिक्षा क्षेत्रको सुधारको लागि चाहिँ के गर्नु पर्ला जस्तो लाग्छ ?

~  राज्यले काठमाडौं उपत्यकालाई मात्रै आधार मानेर नभई समग्र देशलाई हेरेर  शिक्षा नीति बनाई सबै नागरिकका लागि सर्वसुलभ ढंगबाट गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्दछ । जसले व्यक्तिलाई  समाज र देशप्रति जिम्मेवार नागरिक हुन , सामाजिक बिचलन र बिकृतिको अन्त्य गर्न तथा मान्छे हुनुको बोध गर्दै मानवीय भाबनाको बिकास गर्दै समाज र राष्ट्रको बिकासको मार्गमा लाग्न प्रेरणा प्राप्त गर्न सकोस् ।

५.   पाठकले कसरी यो पुस्तक प्राप्त गर्न सक्ने व्यवस्था गर्नु भएको छ ।

~तत्काललाई  कालिन्चोक printing press, बबरमहल , काठमाडौंको फोन नं. :  014230930 बाट र मो. नं. :9841377497 मा सम्पर्क गरेर यो पुस्तक प्राप्त गर्न सकिन्छ ।

६. तपाईले  घरव्यवहार , अध्यापन र लेखनलाई कसरी सन्तुलन मिलाई रहनु भा’छ ?

~. घरब्यबहार, पेशा र लेखन कार्य एकैसाथ गर्न सहज त छैन  तर पारिवारिक सहयोग पाएको छु र  समय मिलाएर  लेख्ने गर्छु ।

७. यस उपन्यासको नाम ‘फक्ताङ्लुङ्को फेदीमा’ राख्नुको कुनै खास कारण छ कि ?

~ताप्लेजुङ जिल्लामा अवस्थित कुम्भकर्ण हिमाललाई स्थानीयहरुद्वारा फक्ताङ्लुङ भनिने र  त्यसमुनि रहेको त्यस क्षेत्रको सिङ्गो सामाजिक परिवेशलाई यस उपन्यासको पृष्ठभुमिको रुपमा लिइएको हुँदा यसको नाम ‘फक्ताङ्लुङको फेदीमा’  राखिएको हो । हाल त्यस क्षेत्रलाई समेटेर  बनाएको गाउँपालिकाको नाम नै फक्ताङ्लुङ रहेको छ ,जुन भौगोलिक हिसावले नेपालका सबैभन्दा ठुला गाउँपालिकाहरु मध्येको एक हो ।

८. अन्तमा केही भन्नु छ कि ?

~   ‘फक्ताङ्लुङको फेदीमा’ उपन्यास मेरो पहिलो प्रयास हो । नाम चलेका लेखकहरुका कृतिहरु मात्रै राम्रा हुन्छन नभनी मेरो यो पुस्तक पनि पढी दिनु हुन आदरणीय पाठकहरुमा अनुरोध गर्दछु र यस बारेमा पाठकहरुको प्रतिक्रियाको अपेक्षा गरिरहने छु । यसमा कुनै गल्ती कमजोरी भेटिएमा क्षमा याचना सहित त्यसलाई सच्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

Leave a Reply