सहकारीकर्मीहरुको मर्म र भावना अनुरुप सहकारी ऐन , २०७४ शंसोधन गरियोस् !
सहकारीकर्मीहरुले विभिन्न कार्यक्रमहरु गरी ६२औँ राष्ट्रिय सहकारी दिवस मनाए । यो दिवसका अवसरमा सहकारीकर्मीहरु बीच सहकारी क्षेत्रको अवस्था र अवको दिशाको विषयमा अतर्क्रिया , गोष्टि , छलफल र बहस भए र अहिले पनि बहस चलिरहेको छ ।
अर्मपर्म , भकारी लगायतको सहकार्यको संस्कृति विकास हुदै जाँदा वि.सं. २०१२ साल चैत २० गते चितवनमा बखानपुर बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना भएसँगै शुरु भएको नेपालको आधुनिक सहकारी अभियानको यात्रा ६२ वर्ष पूरा भएको छ । यसबेलासम्म आइपुग्दा नेपालमा ३४,५१२ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् । करिव ६३ लाख व्यक्तिहरु यसमा आवद्ध छन् । रु. साँढे छ खर्व जतिको कारोवार रहेको यस क्षेत्रले ६० हजार जति मानिसहरुलाई रोजगारी प्रदान गरिरहेको छ । राज्यको कूल ग्राहस्थ उत्पादनमा सहकारीको ५ प्रतिशतको हाराहारीमा र वित्तीय कारोवारमा २० प्रतिशत योगदान रहेको देखिन्छ ।
यतिबेला सहकारी अभियानवीच सहकारी ऐन , २०७४ को कार्यान्यनबारे छलफल चलिरहेको छ । नेपाल सरकारले यो ऐनमा व्यवस्था गरिएको कर लगायतको विषयलाई कार्यान्वयन नगरेपछि सहकारीकर्मीहरुमा असन्तुष्टि र आक्रोस देखिएको छ । त्यही कारण यो ऐन विवादरहित बन्न सकेको छैन । सहकारीकर्मीहरुको केही विषयमा असहमतीका बाबजुद जारी भएर कार्यान्वयनमा आएको यो ऐन शंसोधन हुनुपर्ने आवाज उठिरहेको छ । यसमा सहकारीको विकासभन्दा बढी सहकारीको नियन्त्रणमुखी भयो भन्ने सहकारीकर्मीहरुको असन्तुष्टि कायमै देखिन्छ ।सहकारी अभियानको भावना सम्बोधन गरी सहकारी क्षेत्रको विकास हुने ढंगबाट यो ऐन शंसोधन गर्नु जरुरी छ । देशको समृद्धीको आधार बनेको सहकारी क्षेत्रको विकासमा कोशेढुँगा बन्ने गरी सहकारीकर्मीहरुको मर्म र भावना अनुरुप यो ऐन शंसोधन गरियोस् !