प्रधान सम्पादकको कलमबाट…
शहीदहरुको सम्मान गर्ने पो हो कि !
विशेषत: वि. सं. १९९७ सालमा राणा शासन विरुद्ध संघर्ष गरेका कारण राणा सरकारले मृत्यु दण्डको सजाय दिएका ४ शहीदहरु : शुक्रराज शास्त्री , धर्मभक्त माथेमा , दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा विगतका वर्षहरुमा झैं यस वर्ष पनि शहीद दिवस मनाइदै छ । यो हप्ता साताव्यापी रुपमा शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यस वर्षको शहीद सप्ताहको अन्तिम दिनसम्म आइपुग्दा विगतका वर्षहरुमा भन्दा खासै फरक देखिएन । देखियो त केवल लोकलाई देखाउन लागि सन्ततिले चोला सकिएका आफ्ना पितृ या मातृको सम्झनामा वर्षको एक पटक तीथि श्राद्ध गरे जस्तो ।
विभिन्न काल खण्डमा मुलुकको सार्वभौमिकता तथा स्वाधिनताका लागि संघर्ष गर्ने क्रममा वीरगति प्राप्त गर्ने शहीदहरुको संख्या धेरै पुगेको छ । घाइतेहरु पनि उति नै छन् । शहीद तथा घाइतेहरुको संघर्षका कारण मुलुकको शासन सत्तामा पुगेका व्यक्तिहरु शहीद तथा घाइतेहरुको सपनालाई विर्सेर विगतका शासकहरुको परम्परा धान्न पुगेका छन् । जसका कारण देश स्वाधीन र समृद्ध बन्न सकेको छैन ।
शहीद दिवस मनाइरहदा एउटा अस्पतालको चिकित्सक विरामी जाच्न छोडेर मुलुकको बेथीति विरुद्ध ज्यानको बाजी लगाएर पटक -पटक आमरण अनशन बस्नु परिरहेको छ । समाजका विभिन्न वर्ग , समुदाय लगायतको असन्तुष्टि बढिरहेका छ । सरकार गोयवल्स शैलीमा जनतामा भ्रम छर्दै अगाडि बभिरहेको छ । ऊ समस्याको समाधान गर्नेतिरभन्दा समस्यालाई जटिल बनाउनतिर काम गरिरहेको महशुस नागरिकले गरिरहनु परेको अलस्था छ । यो केवल आजको मात्रै समस्या हैन । हिजोदेखि कै समस्या हो । देशमा शासकहरु बदलिए तर शासकको प्रबृत्ति बदलिएन । जनताको बलिदानीपूर्ण संघर्षबाट देशमा राज्यको उपरी संरचनाभ परिवर्तन त भयो तर समाजको आधारभूत तहमा परिवर्तन हुन सकेको छैन । समाजका कथा र व्यथा उस्तै नै छन् । यस्तो अवस्थामा शहीद दिवस मनाउने कार्य केवल लोकलाई देखाउन गरिने औपचारिकता मात्रै हुन्छ । यसले शहीदहरुको सम्मान हुदैन ।
यदी शहीदहरुको सम्मान गर्ने हो भने देशका साझा सवालमा सबै राजनीतिक शक्तिहरु एक ठाउँ उभिएर व्यक्ति , समूह तथा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नु जरुरी छ । आर्थिक अनुशासन कायम गरी मुलुकमा व्याप्त वेथीति , भ्रष्टाचार तथा दण्डहिनताको अन्त र देशको स्वाधीन अर्थतन्त्र निर्माणको दिशा अगाडि बढ्नु जरुरी छ । मुलुकको रुपान्तरण गर्ने कार्य गर्नाले मात्रै शहीदहरुप्रति सम्मान हुनेछ । शहीदहरुको सम्मान गर्ने पो हो कि !
सबै ज्ञात/अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि ।