देशभर शाखा विस्तार गर्दै सहकारी बैंक

राष्ट्रिय सहकारी बैंक लिमिटेडले देशका ७७ वटै जिल्लाहरुबाट आफ्नो सेवा प्रदान गर्ने गरी शाखा विस्तार गर्ने भएको छ । बैंकको सेवा सबै जिल्लाहरुमा पु-याउने उद्देश्यसहित सहकारी संस्थाहरुको संख्या र बैंकको सदस्य संख्याका आधारमा देशभरका थप ८५ ठाउँमा शाखा विस्तार गर्ने सो बैंकले योजना बनाएको जनाएको छ । सञ्चालक समितिले शाखा सञ्चालनका लागि गठन गरेको कार्यदल र व्यवस्थापनको अध्ययन तथा शाखा सञ्चालन गर्न सकिने आधारहरुलाई मध्यनजर गरेर देशभरका विभिन्न ८५ स्थानमा शाखा सञ्चालन गर्न उपयुक्त देखिएकोले शाखा सञ्चालन प्रक्रिया अगाडि बढाउन व्यवस्थापनलाई निर्देशन गरिएको सो बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो । जिल्ला नछुट्ने गरी केही जिल्लामा थप शाखा समेत आवश्यक परेकोले शाखा सञ्चालन प्रक्रिया अगाडि बढाइएको अध्यक्ष उप्रेतीको भनाई छ ।
दिगो सहकारी भन्ने लक्ष्यका साथ अगाडि बढेको यो बैंकले हाल ३५ जिल्लामा ४४ वटा शाखा स्थापना गरी सदस्य सहकारी संघ /संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल ११ हजार सहकारी संघ संस्था शेयर सदस्य, १ अर्ब ४५ करोड शेयर रकम, २० अर्ब निक्षेप, १७ अर्ब कर्जा लगानी र २५ अर्बको कुल कारोबार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
यसैबीच बैंकको सञ्चालक समितिले शेयर थप गरी १ करोड पु-याएकोमा सदस्य संस्था महिला बचत तथा ऋण सहारी संस्था लिमिटेड सुनसरीका अध्यक्ष तथा बैंकका सञ्चालक अमृता सुब्बालाई सम्मान गरेको छ ।
यस्तै वैठकबाट नेपाल सरकारको निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित भएका सो बैँकका सञ्चालक अमृता सुब्बा प्रवल जनसेवा श्री (चतुर्थी श्रेणी) पदक, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा बैँकका नि:वर्तमान सल्लाहकार केशव प्रसाद बडाल सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) पदक, राष्ट्रिय सहकारी महासंघ लि.का उपाध्यक्ष ओमदेवी मल्ल सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) पदक, राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व सञ्चालक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाका अध्यक्ष रामचन्द्र उप्रेती सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) पदक, नेपाल कृषि केन्द्रिय सहकारी संघका उपाध्यक्ष तथा महारानी झोडा कृषि सहकारी संस्था, झापाका अध्यक्ष मिना ढकाल सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) पदक तथा नेपाल कृषि केन्द्रिय सहकारी संघका कर्मचारी ज्ञानु कोइराला सु–प्रवल जनसेवा श्री (तृतीय श्रेणी) बाट सम्मानित हुनुभएकोमा उहाँहरुलाई उक्त बैंकले वधाई ज्ञापन गरेको जनाएको छ ।
यसैगरी ६२ औँ सहकारी दिवसको अवसरमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सहकारी क्षेत्रमा पु-याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित हुनुभएका राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा बैँकका नि:वर्तमान सल्लाहकार केशव प्रसाद बडाल, राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा बैँकका निवर्तमान सल्लाहकार दिपक प्रकाश बासकोटा, नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम बहादुर पाठक लगायत सम्मानित पुरस्कृत सबै सहकारी संघ/संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।